भर्खरै :

तिहार र उपभोक्ता

पहाडी जिल्लामा तिहार र तराईका जिल्लामा छठको तामझाम सुरू भएको छ । बजारमा किनमेलको हिसाबमा तिहार र छठ दसैँभन्दा कम हुने गर्दैन । खाद्य तथा तयारी सामानको यी पर्वमा अत्यधिक किनमेल हुने गर्छ । धेरै मानिसले केही दिनभित्र किनमेल गर्ने भएकाले कतिपय व्यापारीहरूले यही मौकामा गुणस्तरहीन, अखाद्य, कमसल वस्तु बेच्ने गरेका छन् । हुलमुलमा कति व्यापारीहरू म्याद नाघेका सामान बेच्न पछि पर्दैनन् । कतिपय व्यापारीले लामो समयदेखि गोदाममा त्यत्तिकै रहेका अस्वस्थकर खाद्य र तयारी वस्तु बजारमा खपत गर्न यस्तै चाडबाडको मौका ढुकिरहेका हुन्छन् ।
त्यस्तै तिहार र छठमा कतिपय व्यापारीले लकडाउन र कोरोनालाई बहाना बनाएर सामानको मूल्य महँगो बनाउन सक्छन् । बजारमा कृत्रिम अभाव देखाएर अथवा विदेशबाट सामान नआएको भन्दै बढी नाफा कमाउन अस्वाभाविक मूल्य लिएर उपभोक्ता ठग्ने व्यापारी पनि हुन्छन् । विशेषतः चीनबाट आयात व्यापारमा कोभिड–१९ महामारीको कारण सुचारू नभएको हुनाले तयारी पोशाक र विद्युतीय सामानमा व्यापारीले बढी मूल्यमा बेच्न सक्छन् ।
उपभोक्ता ठगिने यस्ता विकृति नियन्त्रण गर्न अधिकारसम्पन्न राज्यका निकाय र सरकारी कार्यालयले अग्रसरता देखाउन जरूरी छ । तिहारको समयमा मूल्य र गुणस्तरलाई लिएर बजारको अनुगमनलाई अघि बढाउन आवश्यक छ । उपभोक्ताको हितविपरीत काम गर्ने व्यापारीलाई समयमै नसिहत र कारबाही गर्न नसके जनस्वास्थ्य र बजारमा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।
तिहारको लागि आवश्यक विभिन्न वस्तु खरिद गर्दा सकेसम्म स्थानीय उत्पादन प्रयोगमा जोड दिन आवश्यक छ । स्थानीय जनताले उत्पादन गरेका वस्तुको प्रयोगले देशको अर्थतन्त्र र स्थानीय उद्योगको प्रवद्र्धनमा टेवा पुग्ने गर्छ । विदेशबाट झिकाइने अनावश्यक सामानको प्रयोगलाई निरूत्साहित गर्न जरूरी छ । कोरोना महामारीले देशको अर्थतन्त्रलाई अझ कमजोर बनाएको छ । नेपालजस्तो विकासशील देशको अर्थतन्त्र जोगाउन कठिन बन्दै छ । यस्तो अवस्थामा निर्यात व्यापार विस्तार गरी आयात व्यापार बढाउन सकेमात्र अर्थतन्त्रको गति सुचारू हुनसक्छ । आयात व्यापार उपभोक्ताको उपभोग व्यवहारमा निर्भर हुने विषय हो । त्यसकारण उपभोक्ताले स्वदेशी र स्थानीय वस्तुको उपभोगमा जोड दिन आवश्यक छ । त्यस्ता विदेशी सामानको प्रयोग नगरौँ, जुन सामान नेपालमै उपलब्ध छ । तिहारमा हामी धेरै विदेशबाट आयात हुने सामानको पनि अत्याधिक प्रयोग गर्छौँ । त्यस्ता आयातीत सामानको अत्याधिक प्रयोगले देशको अर्थतन्त्रलाई अझ कमजोर बनाउनेछ । विदेशी भूमिमा नेपाली युवाहरूले कमाएको पैसा त्यस्ता आयातीत सामानको खरिदले विदेशतिर, विशेषतः भारततिर नै बग्ने गरेको छ । भाँडोमा दूध नै नअडिए जति दूध दुहे पनि त्यसको कुनै अर्थ हुनेछैन । नेपाललाई समृद्ध बनाउने हो भने नेपाली सामानको उपभोगलाई नै जोड दिन आवश्यक छ । नेपाली किसानहरूले आफ्नै बारी, कान्ला र पाखोमा फलाएका वस्तुको उपभोग तिहारमा हुन सके ती ग्रामीण क्षेत्रका जनताको आर्थिक अवस्था उकास्न पनि टेवा पुग्नेछ । साथै परम्परागत कृषि प्रणालीलाई व्यवसायीकरण गर्न पनि मद्दत गर्छ ।
कोभिड–१९ महामारीको राप अझै सेलाएको छैन । जाडो महिना सुरू भएसँगै यो अझ उकालो लाग्न सक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा तिहार र छठलाई औपचारिकतामा सीमित गर्नुपर्ने देखिन्छ । बजारमा हुलमुल गर्ने, भीडभाडमा जाने जस्ता गल्ती नगरौँ । भविष्यलाई पनि ध्यानमा राखी चाड पर्वलाई मनाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *