भर्खरै :

रोन क्लाइन बाइडेनका प्रमुख प्रबन्धकमा मनोनीत

वासिङटन, २७ कार्तिक (एपी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रूपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारीमा बाइडेनले लामो समयदेखि सल्लाहकारका रूपमा कार्यरत रोन क्लाइनलाई छनौट गरेका हुन् । रोन क्लाइनलाई ह्वाइट हाउसको कार्यव्यवस्थाबारे लामो अनुभव छ ।
क्लाइनले सन् २०१४ मा इबोला सम्बोधनसम्बन्धी ह्वाइट हाउसमा संयोजकको भूमिका पनि निर्वाह गरेका थिए । तर, यसपटक कोरोना भाइरसको महामारी विश्वव्यापीरूपमा फैलिएको र यसबाट अमेरिका सर्वाधिक प्रभावित रहेको अवस्थामा क्लाइनले ह्वाइट हाउसमा महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।
विभक्त अमेरिकी राजनीति र सिनेटमा डेमोक्रेट अल्पमतमा परेको अवस्थामा सबै पक्षबीच सन्तुलन कायम गरी जल्दाबल्दा समस्या सुल्झाउनुपर्ने चुनौती छ ।
बाइडेनले अहिले अमेरिकी समाजमा उत्पन्न सङ्कटको घडीमा क्लाइनजस्ता अनुभवी र क्षमतावान व्यक्तिले सबै पक्षबीच सन्तुलन कायम गरी कार्य गर्न सफलता प्राप्त गर्ने विश्वास गरेका छन् ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालको समयमा क्लाइनले बाइडेनको प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) को रूपमा सेवा गरेका थिए । सन् १९९० को मध्यतिर तत्कालीन उपराष्ट्रपति अल गोरको पनि उनी प्रमुख प्रबन्धक थिए । पछिल्लो समय बाइडेनको चुनावी अभियानका उनी प्रमुख सल्लाहकारमध्ये एक थिए ।
सन् १९८७ को डेमोक्रेट पार्टीका तर्फबाट राष्ट्रपतीय अभियानको समयदेखि नै बाइडेनसँग निकट रहेर क्लाइनले काम गरेका छन् ।
क्लाइनको नियुक्तिले बाइडेन प्रशासनले काम थालेलगत्तै कोरोना भाइरस सङ्क्रमण रोक्नेतर्फ प्रमुखरूपमा ध्यान केन्द्रित गर्ने सम्भावना देखाएको छ । क्लाइनलाई जनस्वास्थ्यका साथै ह्वाइट हाउसका लागि इबोला नियन्त्रण टोलीको संयोजक भएर काम गरेको अनुभव छ ।
उनले सन् २००९ मा ओबामा प्रशासनको आर्थिक पुनरुत्थान योजना निर्माण र कार्यान्वयनमा पनि केन्द्रीय भूमिका निर्वाह गरेका थिए ।
आफ्नो नियुक्तिको समाचार सार्वजनिक भएलगत्तै क्लाइनले ट्वीट गर्दै राष्ट्रपति–निर्वाचित बाइडेनले आफूमाथि देखाउनुभएको भरोसाका लागि कृतज्ञता व्यक्त गरे ।
उक्त पदका लागि स्टिभ रिचेट्टी वा ब्रुस रीडको नाम पनि चर्चामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *