कमलपोखरीको सुनुवाइमा ढिलाइ
- चैत्र १६, २०८०
पार्टी सचिवालयको बैठक बस्न पनि एक अध्यक्षले अर्काे अध्यक्षलाई चिठी लेखेर ध्यानाकर्षण गर्नुपर्ने स्थिति नेकपाको दुर्दशा हो कि एकले अर्काेलाई गन्दै नगन्ने सामन्त प्रवृत्ति हो ? राजनीतिक विश्लेषकहरूबीच चर्चाको विषय बनेको छ । बैठक बोलाउन लेखिएको पत्र अध्यक्ष प्रचण्डको घुर्की हो कि धम्की ! अर्काे बहसको विषय छ । बैठक बोलाउन चासो नराखे प्रचण्ड आफैले बैठक बोलाउने चेतावनी र बैठकप्रति चासो नराख्ने अध्यक्ष ओलीको अडानले नेकपाका अध्यक्षद्वय ओली र दाहाल नेकपाभित्र मात्र होइन आम जनताको नजरमा गाईजात्राका पात्र बनेका छन् । यो एक अध्यक्षले अर्काे अध्यक्षलाई टेरपुरच्छरै नगरेको एक दृष्टान्त हो ।
बैठक बोलाउन समय नदिने र अनुमति नदिने ओलीको अडानले दाहाल छटपटिएका छन् । बैठक चाँडै बोलाएर दुई अध्यक्षबीचको विवादको चरमोत्कर्ष सेलाउने हतारो एकातिर छ भने अर्काेतिर एकले अर्काेलाई व्यङ्ग्य गर्दै, झतारो हान्दै अध्यक्षद्वय ओली र दाहाल नाटक गर्दै छन् । तिनै नेताहरू एकले अर्काेलाई जाली र महाजालीको उपाधि दिँदै छन् । एक अध्यक्ष ओली राजीनामा नमागे पनि राजीनामा दिनेवाला छैन भनी लोकमत आफूतिर तान्ने प्रयास गर्दै छन् भने अर्का अध्यक्ष दाहाल ओलीले षड्यन्त्रको जाल रचेर आफूखुसी कार्य गरिरहेकोमा चित्त दुखाउँदै छन् ।
नेकपाका कति नेताहरू एउटै पार्टीको दुई अध्यक्ष बनाएकोमा वाक्कदिक्क हुन थालेका छन् । पार्टीबीच नमिलेका सबै कुरा मिलाउने जिम्मा दुई अध्यक्षलाई जिम्मा दिएर पार्टीको बदनाम गराइरहेको हुँदा दुई अध्यक्ष सिस्टम हटाउने हो कि भन्ने विचार मन्थन पनि नेताहरूले गर्न थालेका छन् । पार्टीको अनुशासन समितिदेखि नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूको दबाब बढेपछि नेकपाका एक अध्यक्ष ओली बैठक बोलाउने विषयमा सहमति भए । यसअघि यसरी नै बोलाइएको सचिवालय र स्थायी समितिको बैठक पटक पटक स्थगित भएको थियो । कहिले पूर्वतयारी नपुगेको, कहिले विषय चयन नभएको त कहिले बेफूर्सदको कारण बैठक स्थगित हुँदै आएको हो ।
पार्टीको परामर्शविना प्रम ओलीले मनपरी निर्णय गर्न थालेपछि अध्यक्ष दाहाल क्रूर भएका थिए । पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको थियो । राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशमा प्रदेश प्रमुखविरुद्धको अविश्वास प्रस्ताव, भारतका गुप्तचर प्रमुखको भेट, कोरोना सङ्क्रमित बिरामीको स्वास्थ्य परीक्षण खर्च व्यक्तिले नै व्यहोर्ने सरकारी निर्णय आदिले गर्दा दुई अध्यक्ष या नेकपाबीच अन्तद्र्वन्द्व चर्केको हो । नेकपाभित्रका यी विवाद नेपालको कम्युनिस्ट आन्दोलन बलियो बनाउन, देशमा वर्गसङ्घर्ष गरी आमूल परिवर्तन गर्ने उद्देश्यले होइन, आ–आफ्नो गुट उपगुटलाई बलियो बनाई भागबन्डा खोज्न भएको घामझैँ छर्लङ्ग छ ।
Leave a Reply