भर्खरै :

फास्ट ट्राय्कलगायत जनविरोधी योजना खारेजीको माग

ललितपुर, २९ कार्तिक । खोकना बुङ्गमती जनसरोकार समितिको आह्वानमा शनिबार खोकनाको खुडोलमा किसानहरूले सरकारले सम्पदा म्हास्ने गरी बनाउन लागेको फास्ट ट्रयाक, बाग्मती कोरिडोर, हाइटेन्सन लाइन आदिलगायतको अर्बौँको योजना खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।
सोही क्रममा खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले सरकारले पीडित किसानको मागलाई बेवास्ता गर्दै पेलेरै भए पनि फास्टट्रयाक निर्माण गर्न खोजिए उपत्यकाका सम्पूर्ण न्यायप्रेमी जनता एक भई लड्ने विचार व्यक्त गर्दै सङ्घर्ष आगामी दिन पनि जारी रहने बताउनुभयो ।
उपाध्यक्ष कृष्णभक्त डंगोलले जनताको अधिकार कसैले खोस्न नसक्ने भन्दै सयौँ वर्षदेखि पुख्र्याैली खेतीमा निर्भर खोकनावासीलाई विस्थापित हुन नदिन सरोकारवाला सबै पक्षले ऐक्यबद्धता जाहेर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सम्पदा संरक्षणका अभियन्ता अशोक महर्जन, नेपाल राष्ट्रिय परिषद्का असोजकुमार महर्जन, बबिन महर्जन, राजवीर डंगोल, श्यामकृष्ण प्रजापतिलगायतले सरकारको अकर्मण्यताको कारण हजारौँ किसान विस्थापित हुने सम्भावना बढेको हुनाले नेपाली सेनालाई जिम्मा दिइएको उक्त योजना तत्काल बन्द गर्न माग गर्नुभयो ।
उक्त प्रदर्शनपूर्व खोकनाका पीडित किसानहरूलाई साथ दिन सयौँ न्यायप्रेमी जनताले दसौँ रोपनीको धान काटेका थिए । साथै, सोही जग्गा ट्रयाक्टरले जोतेर जनताले तोरीको बीउ छरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *