भर्खरै :

नेकपा सरकार सङ्कीर्ण र जातिवादी

भक्तपुर, ३० कार्तिक । नयाँ वर्ष नेपाल संवत् ११४१ को अवसरमा आइतबार नेपालभाषा साहित्य तःमुँज्याको आयोजनामा अनलाइन शुभकामना कार्यक्रम भयो । तःमुँज्याको आयोजनामा हरेक वर्ष सयौँ बाजागाजा टोली, सांस्कृतिक समूह र सर्वसाधारणको सहभागितामा नेपाल संवत्को पहिलो दिन शुभकामना सांस्कृतिक ¥यालीसहित भक्तपुरको खौमास्थित भाषासेवी तथा शिक्षासेवी जगतसुन्दर मल्लको अर्धकदको प्रतिमामा माल्यार्पण गरिंदै आएकोमा यो वर्ष कोभिड–१९ महामारीलाई ध्यानमा राखी अनलाइन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हरेक भाषा मानव सभ्यताको सम्पत्ति भएकोले सबै भाषाको विकास आवश्यक भएको बताउनुभयो । कुनै पनि भाषाको विकासको लागि हजारौँ वर्ष लाग्ने चर्चा गर्दै उहाँले भाषा बोल्ने जनता नभएपछि भाषा पनि बिलाउने बताउनुभयो ।
“हडप्पा, मोहेन्जोडारो र मिश्रको सभ्यताको लिपि भए पनि बोल्ने मानिस नहुँदा ती सभ्यताका भाषा हराउँदै गए । जनता रहेमात्र भाषा रहन्छ”, उहाँले भन्नुभयो ।
रोगबारे जनतामा जानकारी नहुनु र सरकारले पनि बेवास्ता गरेको कारण जनताले अनाहकमा ज्यान गुमाउनुपरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले काठमाडौँ उपत्यकामा धेरै जनसङ्ख्या भएकोले जनता महामारीबारे अझ बढी सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सबै फुल एकै टोकरीमा राख्दा कुनै पनि बेला नचिताएको दुर्घटना हुनसकेजस्तै धेरै जनसङ्ख्या एकै ठाउँमा राख्दा कुनै पनि बेला महामारी फैलिए धेरै मानिसले ज्यान गुमाउनुपर्ने खतरा आउन सक्ने भन्दै उहाँले ठूलठूला सहर बनाउँदा धनीमानीलाई मात्र फाइदा हुने र सर्वसाधारण जनताले दुःख पाउने विचार राख्नुभयो ।
सामान्य परिस्थितिमा जस्तै महामारी फैलिरहेको बेलामा पनि भोजभत्तेर गर्दा सङ्क्रमण व्यापक बनेको चर्चा गर्दै विगतमा विभिन्न रोग फैलिँदा पुर्खाले गरेको अभ्यासलाई पुनः जीवन दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामाजिक दूरी कायम राख्ने, साबुन–पानीले हात धुने र मास्क लगाउनेजस्ता अभ्यासलाई जोड दिंदै उहाँले भोज बोलाउने र जाने काम महामारीको समयमा बन्द गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुरका जनताको निम्ति हस्तकला उद्योग बनाउन भनी सस्तोमा लिएको जनताको जग्गामा बनाएको औद्योगिक क्षेत्रमा जनताको स्वास्थ्यमा नकारात्मक असर पार्ने कलकारखाना चलाउन दिन नहुने पनि बताउनुभयो ।
“शासक वर्ग प्रत्यक्ष वा अप्रत्यक्ष हत्यारा हुने गर्छ । दास युगमा पनि त्यस्तो थियो । अहिले पनि दास युग बाँकी नै छ । वर्तमान सरकारले पनि धेरै सङ्ख्यामा काठमाडौँ उपत्यकामा जनता थुपारेर गरिब जनतालाई विस्थापित गर्न खोजिरहेको छ । यो सरकार पनि जातिवादी सरकार हो”, बिजुक्छेँले भन्नुभयो ।
नेपालका शासक राजनीतिक दलहरू बडाराष्ट्र अहङ्कारवादी र सङ्कीर्ण भएको भन्दै उहाँले अरू जाति र भाषाभाषीमाथि दमन गर्ने शासक प्रवृत्तिले नयाँ नयाँ हिटलर र मुसोलिनीको जन्म हुने बताउनुभयो ।
देशको सन्तुलित विकासको निम्ति नेमकिपाले पच्चीस वर्षअघिदेखि भन्दै आएको कुरालाई शासक दलले बेवास्ता गरेको हुनाले आजको अवस्था आएको उहाँको भनाइ थियो ।
नेमकिपाका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालमा विक्रम संवत्भन्दा अघि नै नेपाल संवत् लेख्ने प्रचलन भएको बताउँदै नेपालका सबै विद्यालयमा नेपालभाषाको लिपि र संवत्बारे पढाउनु उपयुक्त हुने धारणा राख्नुभयो ।
देशभर जनतालाई आवश्यक पूर्वाधारको विकास नहुँदा सबै मानिस काठमाडौं ओइरिएको कारण उपत्यकाका सांस्कृतिक सम्पदामा विनाश भइरहेको बताउँदै उहाँले देशको सन्तुलित विकासको जिम्मेवारी राज्यको भएको चर्चा गर्नुभयो ।
काठमाडौँ उपत्यकाभित्रका उद्योगहरू उपत्यकाबाहिर स्थानान्तरण गर्ने प्रतिबद्धता व्यक्त भए पनि आजसम्मका सरकारले त्यसको कार्यान्वयन नगरेकोमा उहाँले खेद व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यकाभित्र डाइङ्ग कारखाना खोल्न नपाउने भए पनि भक्तपुर औद्योगिक क्षेत्रमा अझै पनि जनताको स्वास्थ्यमा खराबी गर्ने कलकारखाना चलिरहेको उहाँले उल्लेख गर्नुभयो ।
कोभिड–१९ सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिँदै आउजाउमा कडाइ गर्नुका साथै खुला सीमा बन्द गर्नुपर्ने आवश्यकता सांसद सुवालले औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक अतिक्रमणको कारण नेवार समुदायको जनसङ्ख्या कम नभए पनि नेपालभाषा बोल्नेको सङ्ख्या क्रमशः कम हुँदै गएको बताउनुभयो ।
उहाँले हरेक वर्ष नयाँ वर्षको दिन माल्यार्पण गरिंदै आएको मास्टर जगतसुन्दर मल्लको प्रतिमाको ऐतिहासिकताबारे चर्चा गर्दै भन्नुभयो, “नेपालभाषाका ४ खम्बामध्ये मास्टर जगतसुन्दर मल्ल पनि एक हुनुहुन्थ्यो । मातृ भाषाबाट पढ्ने अवसर पाए छिट्टै सिक्न सकिन्छ भनी मातृभाषालाई जोड दिने मल्लले विभिन्न साहित्यहरू नेपालभाषामा अनुवाद गर्नुभयो र नेपालभाषालाई समृद्ध बनाउन मद्दत गर्नुुभयो । नेमकिपाका जनप्रतिनिधिहरू भक्तपुर नगर पञ्चायतमा निर्वाचित भएपछि उहाँको जन्मस्थान खौमामा उहाँको सालिक राख्ने निर्णय भयो । तर तत्कालीन पञ्चायती व्यवस्थाको लागि त्यो मान्य भएन । सालिक अनावरणकै दिन सरकारले राति ‘चोरेर’ लग्यो । त्यसको विरोधमा त्यसबेला जनताले सशक्त विरोध गरे । २०४६ सालको आन्दोलनबाट पञ्चायती व्यवस्था समाप्त भएपछि मात्रै उहाँको सालिक फिर्ता भयो र सोही ठाउँमा स्थापना गरी हरेक वर्ष नेपाल संवत् नयाँ वर्षको अवसरमा माल्यार्पण गरी कार्यक्रम गर्दै आएको हो ।”
उहाँले नेपालभाषाको विकास र प्रवद्र्धनको लागि भक्तपुर नगरपालिकाले गर्दै आएको गतिविधिबारे जानकारी दिनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सनकमान महर्जनले सर्वोच्च अदालतले कोभिड सङ्क्रमितलाई निःशुल्क उपचार गर्न आदेश दिए पनि आदेश मान्न सरकार तयार नभएको बताउनुभयो ।
“नेकपा सरकार गरिब जनताको सरकार होइन, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पृष्ठपोषणमा बनेको सरकार हो”, उहाँले भन्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य तथा जनसाहित्य गोष्ठी, कीर्तिपुरका नारायण महर्जनले कोभिड–१९ नियन्त्रणमा सरकार असफल भए पनि जनस्तरमै महामारीको प्रतिरोधमा सजग हुनुपर्ने बताउनुभयो ।
सरकारले काठमाडौँ उपत्यकाका सम्पदा र संस्कृति मास्न विकासको नाममा विनाश गरिरहेको धारणा उहाँले राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशको अभ्यास थालेको तीन वर्ष भइसक्दा पनि प्रदेशको भूमिका अस्पष्ट भएको बताउनुभयो ।
उहाँले शासक दलहरूभित्रको गुटगत झगडाको कारण केन्द्रीय, प्रदेश र स्थानीय तहसम्मका सरकारले जनताको आवश्यकताअनुसारको काम गर्न नसकेको बताउनुभयो ।
शासक दलको अदूरदर्शिता र सङ्घीयताप्रति गलत बुझाइको कारण पनि प्रदेशको अभ्यास प्रभावकारी नभएको चर्चा गर्दै उहाँले शासक दलहरू जनताको आन्दोलनविपरीत गइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सृजना सैँजूले जनताका शत्रु र जनताको पक्षमा लगातार लडिरहेका मित्रलाई चिन्नुपर्ने विचार राख्नुपर्ने धारणा राख्नुभयो ।
“जनताको सङ्घर्षले मात्र शासकलाई ठीक ठाउँमा ल्याउन सक्नेछ । देशका शासकहरू असल नहुँदा देशमा नयाँ–नयाँ समस्या आउनुका साथै समयसँगै गरिनुपर्ने काम हुनसकेको छैन”, उहाँले भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको कार्यक्रममा काभ्रेका डा.हरिप्रसाद मानन्धर, ललितपुरका नरेन्द्र ब्रह्माचार्य, लेखक आशाकुमार चिंकबञ्जार र सविन ख्याजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *