भर्खरै :

बाइडेन सरकारमा रक्षामन्त्री महिला बन्ने सम्भावना बढ्दो

वासिङटन, ३० कार्तिक (एपी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलोपटक महिलालाई अवसर दिनुहुने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् ।
रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसक्नुभएकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लाग्नुभएको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन् ।
राजनीतिकरूपमा मध्यमार्गी धारकी भनेर चिनिनु हुने मिसेल बाइडेनको पहिलो रोजाइमा रहने बताइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् । पछिल्लोपटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गर्नुभएको छ, र अहिले उक्त पद रिक्त छ ।

मिसेल फ्लोरनोए


रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा राष्ट्रपति ट्रम्पसँग विमति राख्दै आउनुभएको थियो ।
डेमोक्र्याटिक पार्टीले विगतदेखि नै मुलुकका रक्षा मन्त्रालय समेतका महत्वपूर्ण पदहरुमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै वकालत गरिरहेको छ । यसअघि सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिमा विजयी भएको भए मिसेललाई नै रक्षा मन्त्रालयको कार्यभार दिइने चर्चा थियो । अहिले फेरि मिसेलको नाम अग्रस्थानमा छ ।
उनान्साठी वर्षीया मिसेलले विदेशमा अमेरिकी सैनिक सहयोगलाई अझ सुदृढ गर्नुपर्ने दृष्टिकोण राख्दै आउनुभएको छ । उहाँले सन् २००९ देखि २०१२ सम्म अमेरिकी रक्षा नीतिसम्बन्धी उपमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
अमेरिकी सिनेटमा रिपब्लिकन र डेमोक्रेट दुवैले मिसेलको नामलाई सहजै अनुमोदन गर्ने सम्भावना रहेको छ ।
तर, कतिपयले गृह विभागका पूर्व प्रमुख जे जोन्सन पनि रक्षामन्त्रीका लागि सम्भावित उम्मेदवार रहेको बताइरहेका छन् । तर, बाइडेनले यसअघि चुनावी प्रचारका क्रममा महिलालाई विशेष अवसर र प्राथमिकता दिने बताइरहनुभएकाले पनि मिसेल नै रक्षामन्त्री हुने सम्भावना बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *