भर्खरै :

चाडबाडमा विज्ञानको खोजी

चाड पर्व मानव समाजको अभिन्न अङ्ग बन्दै आएको छ । संसारभरका मानिसमा आ–आफ्नै सभ्यता र संस्कृतिअनुसारका चाडबाड र पर्व छन् । त्यस्ता हरेक चाडपर्वले स्थानीय विशेषता र इतिहासको समेत प्रतिनिधित्व र प्रतिबिम्बित गरिरहेको हुन्छ । संसारमा मानिएका कति चाडबाड शासकको विजयसँग जोडिएका छन् भने कतिपय चाडबाड तत्कालीन समाजले भोग्नुपरेका विभिन्न चुनौती सामनाको क्रममा अज्ञानतावस कुनै अलौकिक शक्तिलाई रिझाउन मनाइएको पाइन्छ । कतिपय चाडबाड भने सामाजिक सद्भावको निम्ति मनाइएका हुन्छन् । यस्ता चाडबाडका आ–आफ्नै वैज्ञानिक, सामाजिक, आर्थिक र राजनीतिक आधार भए पनि सर्वसाधारणलाई त्यसबारे बुझाउन विभिन्न कथा र किंवदन्तीको प्रयोग गरिएको पाउँछौँ । सदियौँसम्म त्यस्ता कथा र किंवदन्तीको हस्तान्तरण चल्दै जाँदा चाडपर्वको मूल मर्म र आधार भने क्रमशः विस्मृतिमा पर्दै गएको देखिन्छ । फलतः चाडबाड मनाउने क्रममा मानिसहरूले तिनका मूल उपादेयतालाई भन्दा बढी कथा र किंवदन्तीलाई बढी भर पर्दा संस्कृतिका कतिपय पक्ष ओझेलमा पर्दै गएका उदाहरण जति पनि छन् । अझ पुस्तान्तर हुँदै गर्दा एउटा पुस्ताको बुझाइ र अर्को बुझाइमा आनका तान फरक पर्दै गयो । चालचलनको मूल मर्म नबुझ्दा कतिपय अभ्यास बिरालो बाँधी श्राद्धजस्तै बन्दै गयो । त्यसकारण अन्धविश्वासमा उभिएका चाडबाड त अन्धविश्वासी भए नै, विज्ञानमा आधारित चाडबाडसमेत अन्धविश्वासको दलदलमा फस्दै गए ।
नेपाली जनताले मनाउने गरेका धेरै चाडबाड पनि यो प्रक्रियाबाट अछुटो छैन । तिहारको समय छ । मानिसहरू धुमधामसँग तिहार मनाउन लागेका छन् । सञ्चारमाध्यमहरूले पनि यी चाडबाडसँग जोडिएका किंवदन्तीको चर्चालाई नै बढी जोड दिइरहेका छन् । तर, हामीले मनाइरहेका यी चाडबाडभित्र वैज्ञानिक आधारको खोजी अझै हुन सकेको छैन । चाडबाडमा हामीले प्रयोग गर्ने गरेका हरेक वस्तुले हाम्रो पुर्खाले बाँचेको समाज झल्काइरहेको छ । हाम्रा हरेक चालचलनले तत्कालीन समाजका बुझाइ प्रतिबिम्बित गरिरहेको हुन्छ । विडम्बना ¤ आज हामी त्यस्ता आधार र वैज्ञानिक कारणलाई छोडेर चाडबाडलाई परम्पराको रूपमा मात्र निरन्तरता दिइरहेका छौँ । यसले न त चाडबाडको सही निरन्तरता सम्भव छ न त चाडबाडको मूल जरामा पुग्न सम्भव देखिन्छ । हाम्रा चाडबाड र चलनचल्तीलाई विज्ञानको जगमा उभ्याउन सक्दामात्र त्यसलाई दिगो बनाउन सक्छौँ । विज्ञानमा आधारित नयाँ समाजमा ती चाडबाडका उपादेयता पुष्टि गर्नसक्छौँ । धार्मिक विश्वास र किंवदन्तीको आधारमा मात्र हामीले हाम्रा चाडबाड अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नसक्दैनौँ । चाडबाडलाई पहिलेदेखि चल्दै आएको चलनको रूपमा मात्र नभई त्यसलाई विज्ञानसम्मत व्याख्या र अभ्यासलाई पनि जोड दिन आवश्यक छ ।
तिहारमा हामीले पूजा गर्ने सबै कुराले हामी बसेको समाज र पर्यावरणमा के कस्तो प्रभाव पार्छ र हिजोका पुर्खाले कुन परिवेशमा ती कुराको पूजा गर्ने परम्परा बसाले भन्ने विषयमा चिन्तन गर्न आवश्यक छ । ज्ञानका धेरै सङ्कायलाई जोडेर अब हामीले परम्पराभित्र निहीत ज्ञानको खोजी गर्नुपर्छ । किंवदन्तीमा मात्र कुनै पनि चाडबाडको व्याख्यामा सीमित राख्न सकिन्न । यद्यपि, किंवदन्ती र कथाहरू पनि मानव सभ्यताकै अमूर्त निधि हुन् ।
चाडपर्वबारे वैज्ञानिक व्याख्या र कृतिको अभाव नै छ । तत्कालीन विज्ञान, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिक व्यवस्थाभित्र पस्ने आधारको रूपमा चाडपर्वको व्याख्या हुनसकेको छैन । अब राज्यका सांस्कृतिक प्रतिष्ठान र विश्वविद्यालयहरूबाट यो जिम्मेवारी पूरा हुन आवश्यक छ । नभए हामी हिँड्दै पनि गर्नेछौँ, अनि सँगै पाइलाका डोब पनि मेटिँदै जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *