भर्खरै :

नेपाल संवत् र नेपालभाषा: मानव सभ्यता र संस्कृतिको महत्वपूर्ण श्रृङ्खला

नेपाल संवत् ११४१ नयाँ वर्षको अवसरमा देश र विदेशमा बसेका सबै नेपाली दिदी बहिनी र दाजु भाइहरूलाई शुभकामना व्यक्त गर्दछु । ११४१ वर्ष पुगेको नेपाल संवत्मा मानव सभ्यता र संस्कृतिको महत्वपूर्ण श्रृङ्खला छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफू शासन सत्तामा पुगेको दोस्रो कार्यकाल अर्थात् विक्रम संवत् १९६० यतामात्र नेपालमा विक्रम संवत् सुरु गरेका हुन् । सरकारले विसं १९५८ देखि गोरखापत्र पत्रिका प्रकाशन गरेको हो । त्यसबेला गोरखापत्रमा नेपाल संवत् १९५८ भनी उल्लेख गरियो । यसरी उल्लेख गर्ने काम १९५९ र १९६० सम्म भयो । विक्रम संवत् सुरु भएपछि पनि सरकारी कागजपत्रमा विक्रम संवत्कै मितिमा ईति संवत् भनी उल्लेख गरिएको थियो । विक्रम संवत् भारतीय राजाको नामबाट बनाइएको र प्रचलनमा ल्याइएको हंँुदा नेपालमा यो संवत् अप्ठेरो मानी ईति संवत्कै नाममा सुरु गरिएको हुनुपर्छ । यसबारे प्राध्यापक माणिकलाल श्रेष्ठले २०६४ साल कार्तिक २३ गतेको गोरखापत्रमा लेख प्रकाशित गर्नुभएको छ ।
नेपालले सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गर्न नेपाली लिपीको रूपमा नेपालभाषाको ‘रञ्जना लिपि’ पेश गरेको हो । ऐतिहासिक र कूटनीतिक महत्व भएको यो लिपिबारे सरकारले सबै विद्यालयमा अध्यापन गर्न गराउन पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्नु आवश्यक छ ।
प्राध्यापक श्रेष्ठले ‘नेवार को हुन् ?’ लेखमा नेवारको पुरानो भाषा तामाङ भएको र पछि नेवारहरूले तामाङ भाषा छाडेर नेपालभाषाको विकास गरेको पनि उल्लेख गर्नुभएको छ । यसकारण, नेपाल संवत् र नेपालभाषाको विकासबारे हाम्रो नयाँ पुस्ताले अध्ययन एवम् अनुसन्धान गर्नु आवश्यक छ । स्थानीय सरकार काठमाडौँ उपत्यकाका नगरपालिकाहरूले यसबारे अगुवाइ गर्नु उपयुक्त हुनेछ ।
देशको असन्तुलित विकाससँगै सांस्कृतिक सम्पदाको विनाश
काठमाडौँ उपत्यकामा सांस्कृतिक सम्पदाको विनाश बढ्दो छ । यसको मुख्य कारण देशको सन्तुलित विकास नगरिएको र उपत्यकामै देशको जनसङ्ख्या केन्द्रिकृत गरिनु हो । जनसङ्ख्या केन्द्रित गरिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी, फोहरमैला व्यवस्थापन, ध्वनि, धुवाँ एवम् रसायन प्रदूषणको समस्या र अपराधको सङ्ख्या पनि बढ्दो छ । यसकारण सरकारले देशका सन्तुलित विकास गर्नु आवश्यक छ ।
भारतको राजधानी दिल्लीमा ध्वनि, धुवाँ प्रदूषणबाट त्यहाँका मानिसलाई श्वास फेर्न गा¥हो भएको समाचार पुरानो हो । काठमाडौँ उपत्यकामा यही गतिमा प्रदूषण बढे यहाँका मानिसहरूलाई पनि श्वास फेर्न गा¥हो हुनेछ र फोक्सोको रोगी बढ्नेछ ।
नेपाल सरकारको हालका प्रम केपी ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको आव २०७३÷७४ को बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रलाई काठमाडौँ उपत्यकाबाहिर स्थानान्तरण गर्ने प्रतिबद्धता गरिएको छ । कर्पोरेटहरूको दबाब आएपछि सरकारले यो प्रतिबद्धता पूरा गरेको छैन । सरकारले केही कर्पोरेटहरूको स्वार्थ पूरा गर्न आम जनताको स्वास्थ्यमा हानि पु¥याउँदै छ । यो ठीक होइन ।
नेपाल सरकारले विसं २०३६ सालमा मित्र देश जर्मनीको सहयोगमा भक्तपुरको परम्परागत सीपमा आधारित घरेलु उद्योग प्रवद्र्धन गर्न भक्तपुर साना औद्योगिक क्षेत्र स्थापना गरेको हो । हाल यो क्षेत्रमा ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने टेक्सटायल, डाइङ, रङ्गरोगन, प्लास्टिकजन्य उद्योग सञ्चालन गराइएको छ । यहाँको प्रदूषणबाट भक्तपुरवासीकै स्वास्थ्यमा हानि पुगिरहेको छ भने विश्व सम्पदास्थल भक्तपुरको लाय्कु दरबार र पर्यटन उद्योगलाई हानि पुगिरहेको छ । स्थानीय सरकार भक्तपुर नगरपालिकाले सरकारी प्रतिबद्धताअनुसार मानव बस्तीको बीचमा परेको यो औद्योगिक क्षेत्र स्थानान्तरण गर्न र प्रदूषण फाल्ने उद्योग अविलम्ब बन्द गराउन सङ्घीय सरकारसँग आग्रह गरेको छ । पीडित जनता पनि लामो समयदेखि प्रदूषण फाल्ने यी उद्योग हटाउन आवाज उठाउँदै छन् । केही सरकारी अधिकारीहरू प्रदूषण फाल्ने उद्योगलाई संरक्षण दिई व्यापक जनताको विरोधमा लागिरहेकै पनि बेठीक हो ।
कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित हुनेबारे
मद्यपान, धूमपान गरेकाहरूलाई कोभिड–१९ सङ्क्रमण बढेको, दसैँ मनाउने क्रममा स्वास्थ्य सुरक्षाको उपायमा लापरबाही भएको, तिहार मनाउने नाममा पनि यस्तै लापरबाही भइरहेको हुँदा तिहारपछि सङ्क्रमित बिरामी बढ्ने विज्ञहरूको मत रहेको छ । हामीले सङ्क्रमित बिरामीको परीक्षण र उपचार निःशुल्क हुनुपर्ने आवाज उठाउँदै आएका छौँ । सङ्क्रमणबाट सुरक्षित हुन २ मिटरको भौतिक दूरीमा बस्ने, मास्क लगाउने, बरोबर साबुन पानीले हात धुने र हुलमुल नगर्नेलगायत स्वास्थ्य सुरक्षाका उपायलाई पालना गर्नु आवश्यक छ ।
नेपाल संवत् ११४१ को शुभकामना आदानप्रदान गर्ने यो अनलाइन कार्यक्रममा सहभागी हुने अवसरको निम्ति नेपाल भाषा साहित्य तःमुंज्याका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *