नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
न्हू दँया भिन्तुना अथवा नयाँ वर्षको शुभकामना छ । नयाँ वर्षको उपलक्ष्यमा सबै नेपाली जनताको सुस्वास्थ्यको कामना छ । हामी सबैजना नयाँ वर्षमा यही शुभकामना दिने गर्दछौँ । तर, त्यसरी शुभकामना दिँदैमा नेपाली जनताको शुभ हुने होइन, हित हुने होइन । त्यसको लागि नेपाली जनताले निःशुल्क र अनिवार्य शिक्षा पाउने बन्दोबस्त हुनुपर्छ । निःशुल्क स्वास्थ्य उपचार र व्यक्तित्व विकासमा समान अवसर पाउनुपर्दछ । सबै नेपालीले रोजगारी पाएको हुनुपर्दछ । त्यो साम्यवादी बन्दोबस्तमा मात्र सम्भव छ । यसरी साम्यवादी बन्दोबस्तमा हुने कुरा हामी अहिले परमेश्वरसँग माग गर्दै छौँ । त्यो असम्भव कुरा हो । दसँै–तिहारमा यसरी नै शुभकामना दिँदैमा सुख नपाउने वास्तविकता हामीले बुझ्नु आवश्यक छ ।
दसैँ तिहारको सैद्धान्तिक आधार काल्पनिक कथा हो । भगवतीको महिषासुर वध वा रामको रावणमाथि विजय होस् वा तिहारमा बलि राजा र यमदूतको कथा होस् ती सबै देउताको महिमा गान नै हो । देउताको महिमा गान गर्ने मुख्य विषयवस्तुमा आधारित कथा नै दसैँको सैद्धान्तिक आधार हो । यो एक अन्धविश्वास हो ।
शासकहरूले जनतालाई कलात्मक ढङ्गबाट फकाउन धर्म एउटा माध्यम हुनसक्ने मेकियावलीले बताएका थिए । कार्लमाक्र्सले भनेका थिए, “धर्म एक अफिम हो ।” धर्मलाई हतियारको रूपमा प्रयोग गरेर शासकहरूले लामो समयसम्म शासन गरे । राजाहरूले भन्ने गर्थे, “म ईश्वरको प्रतिनिधि हुँ, ईश्वरले मलाई शासन गर्न पठाएको हो ।” यसलाई जनताले विश्वास गर्दा धेरै राजामहाराजा वा बादशाहले लामो अवधिसम्म शासन गरे । ती शासक राजाहरूले धर्मगुरु वा पण्डितहरूमार्फत ईश्वरले नै संसारको सृजना गरेको हो भनी ईश्वर र भूत–प्रेतप्रति विश्वास जगाए ।
हुन त प्राचीन युुुगका मानिस मेघगर्जन, चट्याङ, अन्धकार, आँधीबेहरी, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपबाट विस्मित् र सन्त्रस्त थिए । सूर्यबाट तिनीहरूले प्रकाश र न्यानोपन पाउँथे, चन्द्रमाबाट उज्यालो र शीतलको अनुभव गर्थे, आगोबाट पशु सुरक्षित हुन्थे र माछा–मासु खान सजिलो अनुभव गर्दै गए, पानीले प्यास मेट्नुको साथै मुढामा बसेर जल–यात्रालाई सजिलो बनाउँथ्यो र खानलाई जलचर पाउँथे । यसकारण पाषाण युगका मानिसहरू सूर्य, चन्द्र, आगो र पानीलाई सकारात्मक शक्ति सम्झेर आफ्नो खानेकुरासमेत अर्पण गर्थे । अर्को अर्थमा तिनीहरूले ती प्राकृतिक शक्तिलाई देवत्व प्रदान गर्न थाले । त्यसबेला तिनीहरूको चिन्तन वा मस्तिष्क आजका हाम्रा पुतली खेल्ने बाल–बालिकाहरूको जस्तै सरल थियो । मानव समाजको विकासको क्रममा सूर्य, चन्द्र, आगो र पानीलाई ईश्वरको रूपमा पूजा गर्न सुरु भयो ।
मेघगर्जन, चट्याङ, बिजुली चम्काइ, अन्धकार, आँधी–बेहरी, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपहरूलाई पनि पाषाणयुगीन मानिसहरूले सन्त्रास र नकारात्मक शक्तिको रूपमा स्वीकारे । आजको भूतप्रेत र प्रकृति रिसाएको वा कोपको रूपमा स्वीकारे तथा बेला–बेलामा तिनीहरूलाई पनि शान्त पार्न खानेकुरा अर्पण वा चढाउन थाले । त्यसको क्रम आज पनि भूत पन्छाउने चलन विद्यमान छ । यसरी मानव समाजको सुरुमा अज्ञानताको कारण देवता र भूतप्रतिको सृष्टि भयो ।
चार्वाक, महावीर वर्धमान र बुद्ध आदि भौतिकवादी दर्शनका अग्रदूत थिए । आँखाले देखेको र अनुभव गरेको कुरालाई मात्र विश्वास गर्नु र हरेक विषयमा शङ्काको दृष्टिले हेर्नु भन्नु अर्थात् आजको भाषामा आलोचनात्मक दृष्टिले हेर्नु भनेको हो ।
राजा–महाराजाहरूले आफ्नो सत्ता वा राज्यलाई टिकाउन र विद्रोहहरूलाई दबाउन आफ्ना ऋषिमुनि, पण्डित र विज्ञानमार्फत स्वर्ग, नर्क र पुनर्जन्मका कथाहरुलाई रचना गर्न दिए । रामायण र महाभारतजस्ता साहित्यहरुलाई पनि रचना गर्न दिए । चाणक्य र कुटिल राजनीति पनि त्यसकै सिलसिला हो । आफ्ना मालिक, जमिनदार र पण्डितहरूको आज्ञापालन र पूजापाठ गरेमा स्वर्गमा जान पाउनेजस्ता कथा–पुराण टोल–टोल र गाउँ–गाउँमा वाचन गर्ने प्रचलन चलाइयो । त्यसबेला आजको पत्र–पत्रिका, रेडियो, टीभी, इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल र सोसियल नेटवर्कजस्ता प्रविधिहरू थिएनन् । देश–विदेशमा आज विभिन्न टीभी च्यानल, रेडियो आदिबाट हरेक रात र बिहान भजनकीर्तन र प्रवचनहरू निरन्तर चलाइँदै छन् ।
प्राज्ञिक छलफल र शास्त्रार्थमा भौतिकवादीहरूले स्वर्ग देख्ने को हो भनी प्रश्न गरे । नर्क त दासदासी र कामदार वर्ग बस्ने बस्ती तथा स्वर्ग भनेको राजा–महाराजा, सामन्त, सन्त–महन्तहरूकै निवास र आवास हो भनी उनीहरू तर्क गर्थे ।
कथा र पुराणबाट स्वर्गलाई सावित गर्न नसकेपछि अध्यात्मवादीहरूले पुनर्जन्मको कथा र पुराणको कल्पना गरे तथा रचना गरे । तिनीहरूले भने, राजा–महाराजाहरूले पूर्वजन्ममा धर्म–कर्म वा परम्परालाई मानेकै कारण आज सुखमा जीवन बिताउँछन् र ती पदहरूमा विराजमान भएका हुन् ।
शङ्काले र आलोचनात्मक ढङ्गले कोट्याउँदा आजका राजा–महाराजा ठूला–बडा पहिलो जन्ममा कीराफट्याङ्ग्रा हुन् या मुसा वा बिरालो के थिए, कसलाई थाहा छ, के त्यस्ता प्रमाणहरू भेटाउन सकिएला भन्ने प्रश्नहरूले अध्यात्मवादीहरूको वैचारिक धरातल वैज्ञानिक देखिनु भन्दा अन्धविश्वास अनुभव गरियो । युग बढ्दै गएपछि नयाँ–नयाँ विज्ञान र प्रविधिका साधनहरू प्रयोग गरी उनीहरू झन्झन् अन्धविश्वास फैलाउँदै छन् । एकातिर विज्ञान र प्रविधिको विकास अर्कोतिर अन्धविश्वासको व्यापक प्रचार हँदै छ । तर, जसरी बाइबलको पृथ्वी चेप्टो छ भन्ने विश्वासलाई कपर्निकसको पृथ्वी गोलो छ र पृथ्वीलाई सूर्यले होइन बरु पृथ्वीले सूर्यलाई अण्डाकाररूपमा परिक्रमा पनि गर्दै छ भन्ने वैज्ञानिकरूपले प्रमाणित गर्दा पनि बाइबलको प्रचार चालू छ । किन ? पुराना विचारका मानिसको विश्वासमा परिवर्तन सजिलै हुँदैन, यसलाई अन्धविश्वास फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्नेहरू संसारमा कम छैनन् ।
आज कुनै बाबुले आफ्ना चार जना छोराहरूलाई बोलाएर ‘मेरो शेषपछि सबै सम्पत्ति एउटै छोराको नाममा दिने निर्णय गरे भने के अरू छोराहरू चुप लाग्लान् ? असम्भव ¤ राजा दशरथले भरतलाई गद्दीको उत्तराधिकारी घोषणा गर्दा राम, लक्ष्मण र सीता देश छोडी वनवास गएका होलान् ? असम्भव ! तर्कको कसौटीमा घोटेर हेर्दा दशरथको घोषणाको विरोधमा विद्रोह गर्न खोज्दा पक्राउ परी राम, लक्ष्मण र सीतालाई देश निकालाको सजाय हुनु स्वाभाविक हो । वनवास आजको भाषामा विदेशमा निर्वासन हो । कथा र पुराणमा यस्ता अनेक तर्क वितर्क गर्ने ठाउँ छन् ।
अन्तर्राष्ट्रिय टीभी च्यानलहरूमा धर्म प्रचार, प्रवचन, खेलकुद र सिनेमाका झिलिमिली प्रचारको अगाडि जनताको दुःख– सुख र विज्ञान तथा प्रविधिको कुरा न्यून छ । भनिन्छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । प्रचारको यस संसारमा मुख्य मुख्य समाचारपत्रहरू, रेडियो र टीभीहरूले शासक दलहरूको मात्र प्रचार गर्छन् । साधारण जनता त्यसैमा रमाउँछन् र त्यसैलाई सत्य मान्छन् ।
यदि जनतामा बुद्धको वचनमा ‘सबै विषयमा शङ्काले हेर्नु’ भन्ने शिक्षालाई मानेको भए र आलोचनात्मक दृष्टिकोणले हेरेको खण्डमा समाजबाट अन्धविश्वास हट्दै जाने थियो ।
सुशिक्षित नयाँ पुस्ताले मात्र समाजको आमूल परिवर्तनको कार्यमा आफूलाई समर्पित गर्नेछन् । त्यस कार्यको निम्ति मानसिकरूपले नयाँ पुस्तालाई अन्धविश्वासको विरोध, देशभक्तिको भावना र जनताको निःस्वार्थरूपले सेवाप्रति प्रतिबद्ध बनाउन कार्यकर्ता र समाजसेवीहरूको महत्वपूर्ण भूमिका हुन्छ ।
लागूपदार्थ सेवन गर्ने मानिसले नयाँ पुस्तालाई अमल सेवन गर्नुहुन्न भन्ने सल्लाह दिँदा नयाँ पुस्तामा त्यसको प्रभाव कममात्र पर्छ । त्यस्तै अग्रजहरू नै धर्मको नाममा शोषण गर्ने, जनतालाई ठग्ने, गाउँ र टोलका जनतालाई झूटो कुरा गरी झगडा लगाउने र युवायुवतीलाई विदेशमा पठाई गल्लावालाको काम गर्नु निश्चय पनि अधर्म नै हो । यस्तो कुकर्मबाट हामी सचेत जनता जोगौँ र नयाँ पुस्तालाई पनि जोगाआँै ।
देश र जनताको माया गर्नु नै धर्म हो । सबै मिलेर सरसल्लाह गरी विकास र निर्माणको काम गर्नु पनि धर्म हो, तर राम्रा कुरा गरी भित्र भित्र व्यक्तिगत फाइदा लिने काम धर्म होइन । यही कुरा बुझेर हामी धर्मको बाटोमा लागौँ वा सेवाको बाटोमा लागौँ । शुभकामनासहित शुभकार्यमा लागौँ ।
Leave a Reply