भर्खरै :

कार्यान्वयन हुँदैन भने समर्थन मूल्य तोक्नुको औचित्य के ?

सरकारले उखुको समर्थन मूल्य तोक्छ तर चिनी उद्योगहरूले त्यस मूल्यमा किसानसित उखु किन्दैनन् । सरकारले धानको समर्थन मूल्य तोक्छ तर बजारमा व्यापारीले समर्थन मूल्य तिर्नु त परको कुरा सुन्नसमेत चाहँदैनन् । सरकारले न त बजारमा समर्थन मूल्य कार्यान्वयनका लागि अनुगमन गरेको छ न त्यस्ता हठी व्यापारीहरूमाथि कुनै कारबाही गर्ने गरेको छ ।
गत वर्ष नै धान आधा खरिद गरेपछि मात्र सरकारले धानको समर्थन मूल्य तोक्यो । तर, व्यापारीले सरकारले तोकेको मूल्यभन्दा ७ सय रुपैयाँ कममा धान उठाए । कारण धानको समर्थन मूल्य तोक्न ढिलाइ भएको निकालियो । किसानले उचित मूल्य नपाउनुको यही मुख्य कारण औँल्याउँदै यस वर्ष भने असारमै धानको समर्थन मूल्य तोकियो । धान रोप्नुपूर्व नै समर्थन मूल्य तोकिएकोमा किसानहरू उत्साहित त भए तर अन्ततः समस्या जहाँको तहीँ रहेको छ । समर्थन मूल्यमा धान किन्ने सरकारी निकाय र जिम्मा दिइएका सहकारीहरू धान किन्न कति पनि तातेका छैनन् ।
सरकारले उठाउने धानले मात्रै बजार हस्तक्षेप नपुग्ने भन्दै सहकारीहरूलाई अनुदान रकमसहित धान खरिदको योजना सरकारले अघि सा¥यो । तर, सहकारी र सरकार दुवैले धान खरिद नगरेको अवस्थामा किसान व्यापारीले भनेको मूल्यमा धान बेच्न बाध्य भएका छन् ।
बढी मात्रामा धान उत्पादन हुने झापा, मोरङ, बारा, पर्सा, बाँके, बर्दिया र कैलालीका किसानले सरकारले तोकेको मूल्यभन्दा ६–७ सय रुपैयाँ कम मूल्यमा धान बिक्री गरिरहेका छन् । असारमा सरकारले ढुवानी भाडासमेत जोडेर मोटो धानको समर्थन मूल्य २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो । सरकारले तोकेको समर्थन मूल्यभन्दा पनि किसानबाट व्यापारीले प्रतिक्विन्टल २२ सय रुपैयाँमा मध्यम धान उठाएका छन् ।
सरकारको तर्फबाट धान खरिदको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६ हजार क्विन्टलमात्रै धान खरिद गरेको छ । ६० हजार धान खरिदको योजना बनाएको कम्पनीले संस्थागत प्रक्रिया ढिला गरी सुरू गरेर धान खरिद गर्दै आएको छ । किसान आफ्नो बाध्यताले र व्यापारीका झूटा प्रचारले कम मूल्यमा बेच्न बाध्य भए पनि सरकारले नियमन गर्नसक्ने आधार देखिन्छ । तर, सरकारले नियमन पनि नगर्ने र खरिद पनि गर्न नसक्ने भएपछि व्यापारीले जे भन्छन् त्यही गर्न बाध्य भएका छन् किसान । यसरी कार्यान्वयन नै हुँदैन भने समर्थन मूल्य तोक्नुको औचित्य के ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *