भर्खरै :

चाडपर्व साध्य होइनन्

भारतमा गाई किन खान्नन् ?
अमेरिकी मानवशास्त्री मार्विन ह्यारिसलाई भारतीयहरू किन गाईको मासु खाँदैनन् भन्ने जिज्ञासा जागेछ । गरिब र अभावग्रस्त भारतमा पश्चिमेली देशहरूले झैँ लाखौँको सङ्ख्यामा रहेका गाई काटेर खानुपर्ने ! भारतमा गाईले खेतीबाली नष्ट गर्दथे । गाईकै कारण धार्मिक द्वन्द्वसमेत हुन्थे भारतमा । स्थानीय जातका गाईले पश्चिमा नश्लका गाईले जत्तिको दूध पनि दिन्नथे । बाह्य आँखा (एटिक पसर््पेक्टिभ) ले हेर्दा भारतका गाईको खासै प्रयोजन थिएन ।

भारतीय समाजको गहिरो अध्ययनपछि मानवशास्त्री ह्यारिसले गजबको विश्लेषण प्रस्तुत गरे । भारत पनि कृषिप्रधान मुलुक हो, त्यहाँ खेत जोत्न गोरुको प्रयोग गरिन्छ । गोरुको संरक्षण गर्न गाई चाहिन्छ । गाईले गहुँत तथा गोबर पनि दिन्छ । गोबर मलको रूपमा प्रयोग गर्न सकिन्छ । गोबरको गुइँठाले चुलो बल्छ । गोरु जोत्न, गाडा तान्न प्रयोग गर्न सकिन्छ । गाईगोरु मरेपछि तिनको छालाबाट जुत्ता र हाडखोरबाट टाँकलगायतका विभिन्न वस्तु बनाउन सकिन्छ । यस्तो बहुउपयोगी गाईको संरक्षण गर्नुपर्ने चेतनाको विकास भयो । तसर्थ, गाईलाई माताको रूपमा धार्मिक विश्वासका साथ संरक्षण गर्ने परिपाटीको विकास भयो । धर्मसँग जोडिदिएपछि गाईसम्बन्धी नियम झन् कडा भयो । यसरी भौगोलिक पर्यावरणले नै गाईको पूजा गर्ने संस्कृतिको जन्म भयो । मानवशास्त्री ह्यारिस भौतिक तथा प्राविधिक पक्षले सामाजिक सांस्कृतिक पक्षलाई निर्धारण गर्दछ भन्ने कार्ल माक्र्सको विश्लेषणको समर्थन गर्न पुगे ।
संस्कृतिमा पर्यावरण तथा प्रविधिको प्रभाव पर्छ भन्ने मार्विन ह्यारिसको निष्कर्ष थियो । उनले सांस्कृतिक भौतिकवाद (कल्चरल मटरिअलिजम) को अवधारणा अगाडि सारे । कुनै समाजको संस्कृति त्यस समाजकै आँखाबाट हेर्नुपर्र्छ भने । ह्यारिस प्रविधि, अर्थतन्त्र तथा वातावरणबीचको अन्तरक्रियाको परिणामस्वरूप संस्कृतिको विकास हुन्छ भन्ने तर्क गर्छन् । खास खालको वातावरणीय परिस्थितिमा खास खालका प्रविधि तथा अर्थतन्त्रको विकास पनि हुन्छ । कुनै संस्कृति पर्यावरणको परिणाम हो । भौतिक संरचना वा भौगोलिक परिस्थितिअनुरूप मानिसले आफ्नो जीवनशैलीको विकास गर्दछन् ।
आवश्यकताको पूजा
खेती तथा सिकार गर्ने अफ्रिकी देश जाम्बियाको डेम्बु समुदायले विभिन्न पाँच प्रकारका रुखको पूजा किन गर्दारहेछन् भन्ने जान्न बेलायती मानवशास्त्री भिक्टर टर्नरलाई खुब चासो लागेछ । जस्तो, जाम्बियातिर पाइने मुसोली नामको एक प्रकारको रुखले राम्रो फल दिँदोरहेछ र सामान्य हावाले त्यसको फल झर्दोरहेछ । झरेका फल खान आउने हरिणको सिकार गर्न सजिलो हुँदोरहेछ । यसरी मुसोली रुख डेम्बुहरूको जीविकाको निम्ति अत्यन्तै उपयोगीसिद्ध भयो । यो रहस्य पत्ता लगाए मानवशास्त्री टर्नरले ।

भालेजुधाइ


संस्कृति र पर्यावरणबीचको सम्बन्धबारे अर्का अमेरिकी मानवशास्त्री आरए रिपापोर्टको अनुसन्धान पनि रोचक छ । उनले अष्ट्रेलियानजिकको टापु न्युगिनीको सेम्वागा जातिको सुँगुरको सामूहिक बलिप्रथाको अध्ययन गरे । उनको प्रश्न थियो, एकैपटक धेरै सुँगुरको बलि किन दिइन्छ ? सामान्यतः उनीहरू खानाको अभावमा पिरोलिएका देखिन्थे । त्यहाँको समुदाय कृषिमा निर्भर थियो । खासगरी सखरखण्ड, पिँडालु तथा तरुलजस्ता बालीमा उनीहरू निर्भर थिए । सुँगुर प्रोटिनको राम्रो श्रोत पनि हुन्थ्यो । सुँगुरको सङ्ख्या बढेपछि बाली बिगार्थे र विभिन्न समूहबीच लडाइँ भइरहन्थ्यो । लडाइँको निम्ति सुँगुरको पूजा गरी काटिन्थ्यो । लडाइँले गर्दा सुँगुर र मानिसको सङ्ख्या नियन्त्रित हुन्थ्यो । सुँगुरको सङ्ख्या बढेपछि सेम्वागा जाति सुँगुर पर्व (पिग फेस्टिभल) मनाउँथे । यसप्रकार प्रकृति र श्रोतसाधनको सन्तुलन कायम हुन्थ्यो ।
संस्कृतिको अर्थ
अर्का अमेरिकी मानवशास्त्री क्लिफोर्ड गीर्ट्जले बीसौँ शताब्दीको मध्यतिर इन्डोनेसिया र मरकोका आदिवासीहरूको अध्ययन गरे । गीर्ट्जले इन्डोनेसियाको बाली टापुका एक आदिवासी समुदायको ‘भालेजुधाइ’ (कक फाइट) को सामाजिक तथा सांस्कृतिक महत्वमाथि अध्ययन गरे । उनले भालेजुधाइ मनोरञ्जनको विषयमात्र नभएर सांस्कृतिक परिचयको रूपमा रहेको विश्लेषण गरे । भालेजुधाइमा समुदायका उच्च तथा सम्पन्न व्यक्तिहरूले मात्र भाग लिन पाउँथे । प्रतिस्पर्धामा गरिब, महिला तथा केटाकेटीले भाग लिन पाउँदैनथे । भालेजुधाइको विजेताले समाजमा उच्च स्थान पाउँथे । जितलाई उनीहरू ‘पुरुषत्व’ को प्रतीक मान्छन् । यसले त्यहाँको सामाजिक विभेदसमेत दर्शाउँछ ।
बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक नेपालको अध्ययन गर्ने हो भने कति धेरै ठूलो ज्ञानको भण्डार बन्ला ! भर्खर दसैँ सकिएर तिहारको रौनकले धेरै नेपालीलाई रोमाञ्चक बनाएको छ, लगत्तै तराईमा धुमधामसाथ छठ पर्व मनाइँदै छ । यी चाडपर्वको आध्यात्मिक तथा धार्मिक पाटो छुट्टै होला तर तिनलाई भौतिकवादी दृष्टिकोणअनुसार कसरी बुझ्ने भन्ने प्रश्न बेलाबेलामा उठ्ने गर्दछ ।
संसारका विभिन्न आदिवासीहरूको संस्कृतिको अध्ययन गर्दा ती संस्कृतिहरू प्रकृतिपूजक हुन् भन्ने नै निचोड निस्किन्छ । मानव समाजको विकासको क्रममा सम्पत्तिको विकास भएपछि वर्गसङ्घर्षको इतिहास पनि सुरु भयो । आदिम सभ्यताका मानिस रुखबिरुवा, सूर्य, चन्द्र, आगो, हावा तथा पानीको महत्व बुझ्दथे । धर्मको आधारमा शासन गर्ने परिपाटी बस्न थालेदेखि नै ईश्वर, स्वर्ग र नर्कको कुरा आयो । ईश्वरको नाममा शासन गर्ने पद्धतिको थालनी भयो । अनेक कथासँग जोडेर धर्मको जामा पहि¥याउँदा संस्कृतिमा विकृति आउन थाल्यो ।
तिहार र पर्यावरण
तिहारकै कुरा गरौँ । खासमा यो पर्व प्रकृतिपूजाको उत्कृष्ट नमुना मान्न सकिन्छ । भूगोल एवम् हावापानीसँग तादाम्य मिलेको पर्व हो तिहार । जैविक विविधताको संरक्षणको हिसाबले पनि महत्वपूर्ण छ यो पर्व । शरद ऋतु, न गर्मी, न जाडो । भर्खर धान बाली भित्र्याउने समय । ढकमक्क फुलेका रङ्गीबिरङ्गी फूल । विभिन्न फलफूलको मौसम । प्रकृतिसापेक्ष कथा रचिए, नओइलाउने मखमली फूलको, नसुक्ने तेलको । तेल मानिसको एउटा गजबको आविष्कार पनि हो । तोरीमा तेल, तेलमा शक्ति पत्ता पाए मानिसले । बिमिरो मानिसले सुरुसुरुमा चिनेको फल हुनुपर्छ । अक्षता, लाभा, कालो भटमास, मास, चामलको पिठो, पानी र रङ्गीबिरङ्गी फूल हो तिहार । तिहारमा चाहिने भनिएका बिमिरो, कटुस, अमला, हलुवावेद, बयर आदि मौसमअनुसारका फलफूल स्थानीय फल हुन् ।

पिग फेस्टिभल


जङ्गलमा डुल्ने कुकुरलाई आफ्नो रक्षाको निम्ति घरेलु बनाए मानिसले । पहिलो पाल्तु जनावर कुकुर नै हुनुपर्छ । काग प्राकृतिक कुचिकार हो । गाईको गोरस अत्यन्तै पोषक चिज हो मानिसको । गोरु पनि त कृषि उत्पादनसँगै जोडिएको छ । मानिस स्वयम् पूजनीय छ, त्यसैले नेवार समुदायले म्हपूजा गर्छन् । म्हपूजा संसारकै निम्ति अति विशिष्ट परम्परा हो । दाजुभाइ र दिदीबहिनीबीचको सुमधुर सम्बन्धको अर्थबोध गराउँछ तिहारले । किनभने प्रकृतिको सर्वश्रेष्ठ प्राणी मानिस नै त हो ।
म्हपूजाको दार्शनिक पाटो
तिहारमा नेपालमण्डलका नेवारहरू म्हपूजा अथात् शरीरको पूजा गर्छन् । यसका अर्थसंस्कृतिको पाटो छुट्टै होला । तर, यसको दार्शनिक तथा सामाजिक पाटो विशेष छ । प्रथमतः म्हपूजामा नकीँ (मूल महिला) ले नै पूजाविधि गर्दछिन् । नेवार समाजमा अधिकांश पूजाविधि भने नकीँले नै गर्दछिन् । यसले मातृसत्ताको झल्को दिन्छ । उमेरमा ठूला र सानाको बराबर अस्तित्व स्वीकार गरिएको पर्व पनि हो म्हपूजा । यद्यपि ठूलाप्रति सानाले गर्नुपर्ने आदरभाव र सानाको भावनाको सम्मानसूचक पनि हो म्हपूजा । म्हपूजा गर्न उमेरअनुसार जेठोदेखि क्रमशः लहरै बस्ने पद्धति एउटा थितिमात्र हो । बसाइमा पुरुषको लहरपछि महिला किन भन्ने प्रश्न त उठ्ला तर त्यसलाई मात्र सूचक मान्न सकिन्न ।
म्हपूजा मूलतः भौतिक शरीरको पूजा हो, यसै दिन पानी भरिएको गाग्री, नाङलो, करुवा, सिलौटो र कुचोको समेत पूजा गरिएको हुन्छ । यी पनि सबै भौतिक पदार्थको सम्मानबोधक व्यवहार मान्न सकिन्छ । चामलको पिठो मुछेर बफाएर बनाएको दुईचुच्चे विशेष रोटी मुटुमरी तिहारको विशेष रोटी हो । दही, अण्डा, माछा, रक्सी पनि प्राकृतिक खाद्य पदार्थ हुन् । मानिसको निम्ति आवश्यक शक्तिप्रदायक (कार्वोहाइड्रेट), शरीरको वृद्धि तथा निर्माण गराउने प्रोटिन, शरीरका विभिन्न प्रणालीहरू सञ्चालन गराउने भिटामिन तथा खनिज सबै पदार्थको सन्तुलन मिलेको खानेकुराको सुस्वादु भोजनले आत्मिक सुुख हुँदै दैहिक सुखको बाटो खोल्छ ।
शरीर विज्ञानबारे आधुनिक विज्ञानले धेरै कुरा पत्ता लगाइसकेको छ । शरीर स्वस्थ राख्ने अनेक उपाय अपनाउने हो भने म्हपूजा गर्नैपर्छ भन्ने पनि छैन । आफ्नो शरीर स्वस्थ राख्न ध्यान नदिने तर म्हपूजा चाहिँ गरिराख्नुको पनि त अर्थ हुन्न । उचित आहारविहारको बानी बसाल्ने, धूमपान तथा मद्यपान नगर्नेे, सफा रहने, समयमा खाने र सुत्ने, मेहनतपूर्वक काम गर्ने, नयाँ काम कुरा सिकिरहने चक्र नै वास्तविक म्हपूजा हो ।

म्हपूजा त स्वस्थकर जीवनशैली अपनाउने एउटा शिक्षामात्र हो । संस्कृति नै शिक्षाको अभिन्न पाटो हो । विद्यालय वा उच्च विद्यालय त्यति व्यापक नभएको बेलामा रीतिथिति तथा चाडपर्वको माध्यमबाट शिक्षित पार्ने प्रयास गरियो । तर, अब आएर उही शैली ठ्याक्कै काम लाग्छ भन्न सकिन्न ।
परिवर्तनशील संस्कृति
अध्यात्मवादीहरूले मानिसका व्यावहारिक आवश्यकतासँग जोडिएका विषयलाई समेत देवीदेवतासँग जोड्ने गर्छन् । भौतिक वस्तुको उपयोगिताको हिसाबले तीप्रतिको आदरको शैली संसारमा फरकफरक हुन्छन् । कुनै देवीदेवताको पूजा गर्नेबित्तिकै कसैको आयु बढ्छ, कोही स्वस्थ हुन्छ भन्नु त अन्धविश्वास नै हो । अध्यात्मवादीहरू कुनै पनि विषयको व्याख्या शास्त्रको अनुकूल गर्छन् । वास्तवमा शास्त्र मानिसको भलाइको निम्ति हो, मानिस शास्त्रको निरीह सिकार बन्न चाहँदैन, बन्नु हुन्न पनि । शास्त्र पनि समायानुकूल बदलिनुपर्छ, मानिस बदलिएन के हुन्छ ?
मध्ययुगमा युरोपका पोपहरू ‘स्वर्ग’ को बाटो खुला गर्न ‘पापमोचनपत्र’ बिक्री गर्ने हल्ला गर्थे, मानिस तिनलाई विश्वास गरेर पछि लाग्थे । १६ औँ शताब्दीको सुरुआततिर मार्टिन लुथरले ‘पापमोचनपत्र’ को विरोधमा आन्दोलन छेडे । पुनर्जागरणकालको भेलले त्यस्तो अन्धविश्वास हटाइदियो ।
संस्कृति उत्पादनका साधन र सम्बन्धहरूसँगै बदलिँदै जान्छ । कृषिप्रधान समाजका संस्कृतिहरू हराउँदै जान्छन् । सामन्तवादी समाजपछिको पुँजीवादी समाजले पुँजीवादअनुकूल संस्कृतिको निर्माण ग¥यो । कार्ल माक्र्सले संस्कृतिलाई आर्थिक व्यवस्थाले प्रभाव पार्ने धारणा राखेका छन् । संस्कृति विज्ञान र प्रविधिसँग अलग हुनसक्दैन । समाजको मूल्यमान्यता, परम्परा, प्रथा आदि नयाँ ज्ञानले नै डो¥याउने हो । संस्कृति पर्यावरणसापेक्ष मानवीय आवश्यकता पूर्ति गर्न विकास हुँदै आएको छ । नयाँ संस्कृतिको विकास हुन्छ, परिमार्जन र परिष्कृत हुँदै अगाडि बढ्छ । यसैले चाडपर्व पनि साधन हुन् साध्य होइनन् । बिरालो बाँधेर श्राद्ध गर्नु त अन्धविश्वास नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *