नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
पुँजीवादी प्रजातान्त्रिक देशमा सबभन्दा तदारूकतापूर्वक शान्ति–सुरक्षामा ध्यान दिने गरिन्छ । सामन्ती समाजमा विभिन्न जात–जाति, भाषा–भाषीको मानिसको कुनै अपराधप्रति आफ्नै मानिसले समर्थन गरेको सबैले देख्दै आएका हुन् । कुनै सम्पन्न परिवार वा सरकारको माथिल्लो ओहदामा पुगेका खानदानका छोरा–नातिले अपराध गरे प्रहरी प्रशासन एवम् न्यायपालिकामा समेत तिनकै प्रभाव हुने भएकोले अपराधी पक्राउमा पर्दैनन् वा पक्राउमा परे पनि तुरून्तै कानुनी रीत पु¥याई धरौटीबाट छुट्छन् । अदालतबाट समेत छुट्कारा पाउन तिनीहरू ऐन–कानुनका अनेक छिद्रहरूको प्रयोग गर्छन् ।
राजतन्त्रको ठाउँमा गणतन्त्र आयो । तर, जमिनदार र सामन्तवर्गको ठाउँमा व्यापारी, उद्योगपति, ठेकेदार, घर–जग्गा व्यापारी, गिटी–बालुवा गैरकानुनीरूपमा उत्खनन् गर्ने वा त्यसको चोरी निकासी गर्ने, वन तस्कर र भ्रष्टाचारीहरू सबै एक भई निर्वाचनमा निश्चित शासक दलहरूलाई विजयी गराइँदै छ । ती अपराधीहरूलाई शासक दलका नेता, कार्यकर्ता, मन्त्री वा कर्मचारी (प्रशासक) हरूले नै उन्मुक्ति दिन भूमिका खेल्छन् ।
हिजो सामन्त र जमिनदारवर्गले ऐन–कानुन र संविधान बनाउँथे । आजको कानुन पूर्णरूपले पुँजीवादी तत्वहरू, तस्कर, भ्रष्टाचारी, करछलुवा, कालाबजारिया, कानुन हातमा लिनेहरूले नै बनाएका हुन्छन् । अपराधीहरूले अपराधीहरूकै हितको निम्ति काम गर्छन् । तिनीहरूले अपराध ‘नियन्त्रण’ होइन अपराध उन्मुक्तिका छिद्रहरू राखेर संविधान र ऐन–कानुन बनाउँछन् । महिनौँ लगाएर प्रहरीले खुब मेहनत गरी पक्राउ गरेका अपराधीहरू कार्यालय र अदालतमा पुगेलगत्तै छुट्कारा पाउँछन् । यसबाट जनतामा निराशा छाउनु र ‘कानुनी शासन’ प्रति नै अविश्वास जाग्नु स्वाभाविक हो ।
सामन्तवादको विरोधमा आन्दोलन भएका देशका विभिन्न प्रदेशमध्ये आजको २ नं. प्रदेश (तराई) हो । मधेस आन्दोलन सामन्तवादविरोधी प्रजातन्त्रको पक्षमा भएको मानिन्छ । सामन्तवादी व्यवस्थामा हुने बोक्सी प्रथा, बाल–विवाह, दहेज, नरबलि, घरेलु हिंसा आदि अत्याचारको विरोध र त्यसको निम्ति जनतामा नयाँ विचार प्रचार–प्रसार र सङ्गठन गर्नुपर्ने थियो । राजनैतिक आन्दोलन सकेलगत्तै पुँजीवादी राजनैतिक दलहरूले सरकारमा भाग लिए र जनतामाथि शासन गर्न थाले । यसकारण, नयाँ पुस्ता (युवक र युवती) हरूले आर्थिक र सामाजिक सङ्घर्ष चालु राख्नु आवश्यक हुन्छ ।
देशको अर्थतन्त्रमा खैलाबैला गर्न, गरिबलाई झन् गरिब बनाउन र तिनीहरूमाथि ठगी गर्न जाली नोट छापिन्छ । यो कानुनविरोधी कार्यमा शोषक वर्गकै हात हुने गर्दछ । मधेसवादी आन्दोलनको एक मुख्य ठाउँ जनकपुरको समाचार छ, ‘जाली नोट छाप्ने पक्राउ’ । सशस्त्र प्रहरीले सिरहाको गोल बजारबाट संलग्न तीन जनालाई पक्राउ गरेको छ । (अन्नपूर्ण, २९ कार्तिक २०७७)
लहानको अर्को समाचार शीर्षक छ, ‘पतिले आगो लगाएकी बसन्ती आर्थिक सङ्कटसँग जुझ्दै’ । (नयाँ पत्रिका, २९ कार्तिक २०७७)
रौतहटको समाचारको शीर्षक छ, ‘सुतिरहेको अवस्थामा गोली प्रहार गरी युवतीको हत्या ।’ यसरी अपराध निरन्तर बढिरहेको प्रस्ट छ, राजनीतिक दलहरू मौन हुनु राम्रो लक्षण होइन भन्ने हाम्रो ठहर छ । (राजधानी, २९ कार्तिक २०७७)
‘पटका पड्काउँदा सात घर खरानी’ शीर्षकको समाचारलाई सरकारी मुखपत्रहरूले आवश्यकताअनुसार प्रचार गरेका छैनन् भन्ने हाम्रो ठम्याइ छ । समाचार हो सप्तरी, राजविराज अर्थात् मधेसवादी आन्दोलनकै एक जिल्ला । (राजधानी, २८ कार्तिक २०७७)
म्याद नाघेको खाद्य सामग्रीमा नयाँ मिति राखी जनताको स्वास्थ्यसँग खेलबाड गर्ने ‘हर्लिक्स’, ‘बोर्न विटा’ जस्ता खाद्यवस्तु उत्पादन गर्ने विशाल ग्रुपको सङ्गठित अपराधमा ठूला कम्पनीलाई उन्मुक्ति दिने अभ्यासप्रति जनताको आपत्ति भन्ने राजधानीको समाचार छ । यस अपराधमा पुष्पा अग्रवाल र अन्य व्यक्तिहरू संलग्न छन् । (नेपाल समाचारपत्र, २८ कार्तिक २०७७) । विराटनगरबाट अन्य दुई अपराधी पनि पक्राउ परेका छन् – ‘दर्ताबिना उत्पादित स्यानिटाइजर गुणस्तरहीन र चाडबाडलक्षित अनुगमनमा दुई उद्योगलाई कारबाही ।’
Leave a Reply