भर्खरै :

मजदुर वर्गमाथि शोषण कायम गर्न अनेकन संशोधनवादी जाल

नेपालको राजनीतिमा ‘नेपालीपनको समाजवाद’ सम्बन्धी चर्चाका समाचार र लेख प्रकाशित भइरहेका छन् । “मानवतावाद नेपालीको आफ्नोपना हो जुन साम्यवादभन्दा निकै बलियो हुन्छ । अतः नेपालका लागि समतावाद र समाजवादी मानवतावादको सिद्धान्तमात्रै बढी प्रयोग सान्दर्भिक हुने देखिन्छ” आदि तर्क राख्नेहरू पनि छन् ।
एमालेका नेता मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ को नारा दिएपछि नै नेमकिपाले एमाले कम्युनिस्ट पार्टी नभई भाइकाङ्गे्रस भएको स्पष्ट पारेको थियो । जनवादको अर्थ प्रजातन्त्र वा डेमोक्रेसी नै भएकोले नेपाली काङ्गे्रसको ‘प्रजातान्त्रिक समाजवाद’ र एमालेको ‘जनताको बहुदलीय जनवाद’ बीच भिन्नता देखिएन ।
तर्क राख्नेहरू नेपालमा बुद्धको सिद्धान्तविपरीत रक्तपातपूर्ण क्रान्ति अफापसिद्ध हुने र त्यो दिगो नहुने दाबी गर्छन् । माओवादीको रक्तपातपूर्ण आन्दोलन अराजकतावादी विचारबाट प्रेरित भएको नेमकिपाले समयमै स्पष्ट गरेको थियो । माओवादी आन्दोलन कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न भारतीय विस्तारवादको सहयोगमा सञ्चालन भएको हो । त्यसकारण, माओवादी भारतीय विस्तारवादको ‘ट्रोजन हर्स’ हो भनी नेमकिपाले समयमै स्पष्ट पारेको हो ।
हरेक कम्युनिस्ट पार्टीको लक्ष्य क्रान्तिले समाजवाद स्थापित गर्ने हो । तर नेकपाले शान्तिपूर्ण बाटो वा चुनावको माध्यमबाट सरकारमा पुग्ने र समाजवाद स्थापना गर्ने बर्नस्टीन र ख्रुश्चेभको संशोधनवादी नीति लियो । माओवादीले हतियारको भरमा सत्ता कब्जा गर्ने ट्रोत्सकीको अराजकतावादी बाटो लियो । दुवैको सैद्धान्तिक बाटो खोटो भएकोले नेमकिपाले समयमै आलोचना गरेको हो । नेमकिपाको आलोचनालाई एमाले र माओवादीले नमान्दा आज कम्युनिस्टहरू बदनाम गर्नेहरूलाई सजिलो भएको छ ।
एमाले र माओवादीले कम्युनिस्टकै नाममा जनतालाई झुक्याइरहेका छन् । यदि एमाले र माओवादी सच्चा कम्युनिस्ट भएका भए तत्कालीन संविधानसभामा झन्डै दुईतिहाइ मत कम्युनिस्टहरूको भएको हुँदा साँचो अर्थमा समाजवादी विशेषतासहितको संविधान बनाउन सकिन्थ्यो । पहिलो संविधानसभा त माओवादीकै कारण विघटन हुन पुग्यो । नेमकिपाको जोडबलमा संविधानमा लेखिएका शिक्षा, आधारभूत स्वास्थ्य निःशुल्कलगायत केही मौलिक अधिकारसमेत नेकपाको सरकारले कार्यान्वयन गरेन । सिद्धान्तच्युत एमाले र माओवादी अर्थात् नेकपाको हालत नेपालीजनले दैनिक नजिकबाट हेरिरहेका छन् । भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको प्रधानमन्त्री ओलीसँग बालुवाटारमा एक्लाएक्लै भेटघाट, दाहाल र ओलीको पत्रयुद्ध आदिबाट प्रस्ट हुन्छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को भनाइ छ, “कम्युनिस्टहरू सिद्धान्तच्युत हुनु हिमालयमा चिप्लेटी खेल्नुसरह हुन्छ ।”
वर्गीय असमानताको जड उखेल्ने काम वर्गसङ्घर्षले मात्र सक्छ । गर्भवती महिलाको स्वाभाविक प्रसूति नभएमा चिकित्सकले कैंची प्रयोग गर्छन् । वर्गसङ्घर्षमा पुँजीपतिवर्गले बल प्रयोग गरेपछि मजदुर वर्गले त्यसको त्यहीअनुरूप प्रतिकार गर्छ । यसकारण पुँजीपतिवर्गको मजदुरवर्गमाथि शोषण भइरहने सद्भाव आवश्यक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *