भर्खरै :

हेनरी किसिङ्गरद्वारा चीनसँगको सम्बन्ध सुधार्न बाइडेनलाई आग्रह

भूतपूर्व संरा अमेरिकी राज्य सचिव हेनरी किसिङ्गरले ट्रम्प प्रशासनले बिगारेको चीनसँगको सम्बन्ध सुधारको लागि राष्ट्रपति निर्वाचित बाइडेनले चाँडोभन्दा चाँडो संवाद गर्नुपर्ने अन्यथा यही स्थितिमा रहे युद्धसम्मको स्थितिमा पुग्नसक्ने चेतावनी दिएका छन् ।
ब्लुमबर्गको नयाँआर्थिक फोरममा बोल्दै किसिङ्गरले तत्काल कुनै किसिमको सहकार्यको वातावरण बनाउन नसकिए विश्वमा पहिलो विश्वयुद्धजस्तै महाविपत्तिको स्थिति सृजना हुनसक्नेछ भन्नुभयो । आजको विकसित सैन्य प्रविधि अवस्थामा यस्तो स्थिति सृजना भए समाधान गर्न धेरै जटिल हुने विचार पनि उहाँले राख्नुभयो ।
सन् १९७२ मा राष्ट्रपति रिचार्ड निक्सनलाई चीन भ्रमण गराउन प्रमुख भूमिका खेलेका पूर्वकूटनीतिज्ञ किसिङ्गरले हालको कोभिड–१९ को महाव्याधीको साझा चुनौतीको कारण राजनैतिक संवादको लागि उचित वातावरण बन्ने कुरामा आशावादी रहेको तथा बाइडेनले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै संवादको लागि अगाडि सार्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
यदि कोभिड–१९ लाई चेतावनीको रूपमा मात्र हेर्ने हो भने हरेक देशले आफ्नै हिसाबले यसको समाधान खोज्नेछ तर यो विश्वव्यापी समस्या र यसको दीर्घकालीन समाधान विश्वव्यापी महत्वको विषय भएकोले यसलाई मिलेर काम गर्नुपर्ने एउटा पाठको रूपमा सिक्नुपर्नेछ भन्ने विचार उहाँले राख्नुभयो ।
संरा अमेरिका र चीनबीचको सम्बन्ध यो दशककै सबैभन्दा तल्लो बिन्दुमा पुगेको अवस्था छ । हुन त यो महाव्याधी उहानमा सार्वजनिक भएको केही समयअगाडि पहिलो चरणको व्यापार सम्झौता हुने वातावरण थियो तर यसले संसारमा १३ लाखभन्दा बढी ज्यान लिनुका साथै संसारकै अर्थ व्यवस्थाहरू तहसनहस गरिसकेका कारण दुई देशको अहिलेसम्म कुनै नयाँ विकास भएको छैन, उहाँले भन्नुभयो ।
राष्ट्रपति ट्रम्पले चीनको कारण भाइरस फैलिएको र संरा अमेरिकी जनता रोगका कारण मृत्यु भएको जिम्मेवारी लिनुपर्ने भनी चीनको आलोचना गरे भने दुबै देशले एकअर्कालाई शत्रुतापूर्ण व्यवहारहरू गरेका थिए । ट्रम्पको व्यवहार अन्त्यहीन विवादमा जाने खालको थियो । संसारमा अर्थतन्त्रको विकासक्रममा कहिले पनि सन्तुलित नभएको विषयलाई गम्भीरतापूर्वक विचार गरेर अमेरिकी जनतालाई बुझाउनुपर्ने महत्वपूर्ण जिम्मेवारीबाट ट्रम्प चुकेका छन्, उहाँले भन्नुभयो । ट्रम्पको ठाउँमा आफू भएको भए यो समस्याको समाधान गर्न अर्कै तरिकाबाट प्रस्तुत हुन्थेँ, उहाँले भन्नुभयो ।
संरा अमेरिका र चीनबीचको सम्बन्धमा तीव्र स्खलन
यो वर्ष संरा अमेरिका र चीनबीचको सम्बन्ध तीव्रगतिमा स्खलन भएर नयाँ समयको शीत युद्धको अवस्थामा पुगेको छ । तर, दुबै पक्षले जस्तोसुकै समस्याको समाधान भने सैन्य शक्तिको प्रयोग हुँदै होइन भन्ने कुरामा सहमत हुनुपर्दछ । यसको लागि संरा अमेरिका र चीनले मिलेर एउटा संयन्त्र विकास गर्नुपर्दछ जसमा संरा अमेरिकी राष्ट्रपतिले पत्याएको एकजना उच्चपदस्थ अधिकारी र त्यस्तैगरी चीनको तर्फबाट पनि त्यस्तै अधिकारीबीच निरन्तर संवादको वातावरण सृजना गरिनुपर्दछ, किसिङ्गरले थप्नुभयो ।
राष्ट्रपति निर्वाचित बाइडेनका परराष्ट्र मामिलाको केन्द्रबिन्दु चीनसँगको सम्बन्ध वरिपरी रहनेछ । बाइडेनसँग चीनसँगको सम्बन्धबारे दशकौँको अनुभव छ तर उहाँले राष्ट्रपतिको निर्वाचनको दौरानमा चीनविरुद्ध कडा आलोचना गर्नुभएको थियो ।
चीनले दुई देशबीचको सम्बन्ध सुधार गर्न के गर्नुपर्छ भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “निश्चय पनि मानव अधिकारको विषयमा दुई देशबीच मतभिन्नता रहेका छन् तर एकले अर्काको संवेदनशीलतालाई बुझेर समस्या समाधान नै गर्न नसकिए पनि एउटा यस्तो उचाइसम्म पु¥याउन जरुरी छ जहाँबाट यो स्थितिबाट केही प्रगति भने गर्न सकियोस् ।”
चिनियाँ राष्ट्रपति सीले गत हप्ता सबै देशहरूलाई सहकार्यलाई प्रगाढ बनाउन र द्वन्दको वातावरण सृजना नगर्न अनुरोध गर्नुभयो भने राष्ट्रपति तथा उप–राष्ट्रपति निर्वाचित बाइडेन र ह्यारिसलाई चीनले बधाई पनि दिएको छ ।
“संरा अमेरिका र चीन इतिहासमा कहिले पनि लगभग बराबरीका देशहरूसँग मुकाबिला गर्नुपर्ने स्थिति आएको थिएन । यो दुबै देशको पहिलो अनुभव हो तर द्वन्द्वको अवस्थामा नगइकन कुनै प्रकारको सहकार्यमा जानेछ भन्ने आशा छ”, किसिङ्गरले भन्नुभयो ।
बाइडेनले चीनविरुद्ध प्रजातान्त्रिक मुलुकहरूको गठबन्धनको प्रस्ताव अघि सारेको विषयमा भने सावधानी अपनाउनुपर्ने विचार राख्नुभयो ।
सङ्कटको इतिहास
“मेरो विचारमा प्रजातान्त्रिक मुलुकहरूले विचारका आधारमा गठबन्धन त गर्न सक्छन् तर कुनै एउटा देशको विरुद्ध गठबन्धन गर्नु बुद्धिमत्तापूर्ण भने होइन । साझा खतराका सङ्केतहरू देखिएको अवस्थामा भने गठबन्धन गर्नु राम्रो नै हो ।” उहाँले जोड दिनुभयो ।
किसिङ्गरले दुबै राष्ट्रपतिहरूले एउटै विषयलाई छुट्टै तरिकाले व्याख्या गर्दा छलफलहरूमा समेत त्यही रङ्ग प्रस्तुत हुँदा धेरै असर परेको बताउनुभयो । संरा अमेरिकाले लगभग कहिले पनि सफलतामा बाधा व्यवधान नभोगेको तर चीन सधँै उतारचढावबीच अघि बढेको र संरा अमेरिका कहिले पनि कुनै किसिमको खतरा नजिकबाट महसुस नगरेको तर चीन भने सधैजसो त्यहाँको एकता खलल पु¥याउन उद्यत देशहरूबाट घेरिएको उहाँले पार्नुभयो ।
यसैबीच युरोप भने चीन र संरा अमेरिकाको रस्साकसीमा झन्झन् फस्दै गएको महसुस गर्नेछ । युरोप संरा अमेरिकी विदेशनीतिको मुख्य किल्लाको रूपमा दोस्रो विश्वयुद्ध पछि प्रस्तुत भएको छ । तर, अहिले प्रश्न युरोपले हालको विकसित सम्बन्धहरूको वातावरणमा आफ्नो स्वतन्त्र भूमिका निभाउन सक्छ ? उहाँले प्रश्न गर्नुभयो ।
Tuesday, November 17, 2020, 11:31
Kissinger Warns Biden of US-China Catastrophe on Scale of WWI
By Bloomberg

Leave a Reply

Your email address will not be published. Required fields are marked *