भर्खरै :

बौद्धिकस्तर वृद्धि गर्न ‘श्रमिक’को अध्ययन आवश्यक

काठमाडौँ, ६ मङ्सिर । “जसरी मानव जीवनको लागि श्वासप्रश्वासको आवश्यकता पर्दछ त्यसरी नै बौद्धिकस्तर वृद्धि गर्न ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको नियमित अध्ययन आवश्यक छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शुक्रबार नेमकिपा काठमाडौँद्वारा आयोजित ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रियामा व्यक्त गर्नुभएको हो ।
जनताको चेतनास्तर उठाउने र समाजवादको विचार प्रवाह गर्ने कार्य ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाले निरन्तर गरिरहेको चर्चा गर्दै उहाँले पार्टीका हरेक प्रकाशनको नियमित अन्तरक्रिया गर्न जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा पुगेका पार्टीहरूको गलत नीतिको कारण जनतामा राजनीतिप्रति वितृष्णा जागेको छ । अनैतिक, अराजनैतिक, सिद्धान्तहीन राजनीतिविरूद्ध जनतालाई सचेत बनाउनको लागि हामीले कलम चलाउनु आवश्यक छ ।”
प्रतिक्रियावादीहरूले आफ्नो स्वार्थपूर्ति गर्न देश नै बेच्न सक्ने खतरा रहेको भन्दै सचिव सुवालले नेपाली जनता समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले ‘श्रमिक’ र ‘मजदुर’ले राजनैतिक सचेतनाको साथै सामाजिक चेतना अभिवृद्धि गरेको बताउँदै पत्रिकाको सम्पादकीय पृष्ठ अझ महŒव रहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले ‘श्रमिक’ का अन्तर्राष्ट्रिय लेखहरूले पार्टीको अन्तर्राष्ट्रिय दृष्टिकोण बुझ्न सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा शैलेष डंगोल, बन्दना महर्जन, श्रीकुमार महर्जन, सुरेन्द्र महर्जन, महेन्द्र बज्राचार्य, राजवीर डंगोललगायतले पत्रिकाको आलेखहरूबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नेक्राशिसङ्घद्वारा अन्तरक्रिया
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरूको अकर्मण्यताका कारण देश पटक–पटक जटिलतामा फसिरहेको औंल्याउनुभएको छ ।
शुक्रबार नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिद्वारा आयोजित ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका विभिन्न लेख–रचना बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद गोसाईले शासक दलका कार्यकर्ताहरूले पद, पैसा र अवसरबाहेक अरू केही देखेका छैनन् भन्नुभयो ।
नेपालको वामपन्थी आन्दोलनको प्रकाशस्तम्भको रूपमा नेमकिपा रहेको उल्लेख गर्दै उहाँले पार्टीको प्रकाशनहरू जनतामाझ पु¥याउन ‘श्रमिक’ र ‘मजदुर’ले उल्लेख्य भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
उहाँले यो महामारीको समयमा कोरोना र कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपायबारे सर्वसाधारण जनतालाई सचेत पार्न शिक्षकहरू अगाडि आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले देशको राजनीतिलाई सही दिशा देखाउन सबै युगमा शिक्षकहरूको भूमिका महŒवपूर्ण रहँदै आएको बताउँदै नेक्राशिसङ्घ शिक्षामा आमूल परिवर्तनको निम्ति सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
देशमा राष्ट्रिय पुँजी कमजोर हुँदै गएको र दलाल पुँजीवाद बलियो हुँदै गएको बताउँदै उहाँले देशको हितमा निर्णय लिन नसक्ने शासक दलहरू कुनै देशभक्त वा राष्ट्रवादी नभएको स्पष्ट पार्नुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष जगनाथ सुजखुले भारतबाट पालित–पोषित पार्टीहरू देशको सत्तामा पुगेर निरीहता देखाइरहेका छन् भन्नुभयो ।
उहाँले भारतले नयाँ नयाँ जाल रचेर नेपालका शासकहरूलाई जुधाइरहेको र नेपालको सार्वभौमसत्तामाथि प्रहार गरिरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षकहरू अम्बिका न्याइच्याई, विष्णुप्रसाद दुमरू, कृष्णगोपाल आचार्य, लक्ष्मीसुन्दर सुवाल, विश्वराम प्रजापति, हरिराम मुस्याख्वलगायतले आ–आफ्ना विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *