भर्खरै :

कस्तो निरीह स्थिति ?

तात्नुपर्ने ताप्के तर तात्यो बीँड । कुनै काँचो वस्तु पाक्न बीँड तातेरमात्र पाक्दैन ताप्के नै तात्नुपर्छ । बीँडले त ताप्के चुल्होमा बसाल्न र झिक्न सहयोग गर्नेमात्र हो । तर, ताप्केमा बीँड नभएको बेलामा चुल्होबाट झिक्न सकिँदैन । फलतः पकाएको वस्तु डढ्छ । भोकै परिन्छ । यहाँ यो प्रसङ्ग बाग्मती साप्ताहिक सफाइ आन्दोलनको सन्दर्भमा उठाएको हुँ । लीलामणी पौडेल नाम भएका एक जना सज्जन नेपाली नेपाल सरकारका मुख्य सचिव थिए । उनी अत्यन्त संवेदनशील स्वभावका थिए । काठमाडौँ खाल्डोका बाग्मतीलगायत नदी–खोलाहरू सा¥है–सा¥है फोहरले प्रदूषित भइरहेको देखेर र विशेष अधिकार सम्पन्न बाग्मती सभ्यता जोगाउने नामको एउटा सशक्त निकायले समेत चित्तबुझ्दो र भरपर्दो काम गर्न नसकेकोदेखि नागरिकहरूका तर्फबाटै बाग्मती सफा गर्न सकिन्छ कि भनी एउटा अभियान प्रारम्भ गरे । हरेक शनिबार बिहानै बाग्मती नदीमा गई नदीमा भएका फोहोर बटुलेर सुरक्षित बिसर्जन गर्न थालियो । नेपाल सरकारका मुख्य सचिवले ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने सरकारको यावत तौरतरिका बुझेन । पौडेलले यो गैरसरकारी प्रयासबाट सरकारलाई बाग्मतीलगायत नदीहरू नदीजस्तै बनाउन सकिन्छ कि भनी यो बाग्मती सफाइ आन्दोलन प्रारम्भ गरे । तर, सरकारले यो अभियानलाई पनि रमिते भएर हे¥योमात्र अभियानमा मिसिन सकेन । सात वर्ष नाघ्यो क्यार फोहोर बाग्मतीबाट ओर्लिएको । सरकारले यस्ता सोझै जनसरोकारका आन्दोलनलाई रमिते भएर हे¥यो, आफू गाँसिन भने सकेन । बाग्मती नुहाउनेहरूले ढुक्कसँग नुहाउने अवस्था आएन ।
जोगाउन सकेन बाग्मती सभ्यता
विशेष अधिकार सम्पन्न त्यो सरकारी सङ्गठन सत्तासीन राजनीतिक पार्टीको एउटा आफ्नो मान्छेलाई सुविधासम्पन्न जागिर खाने भाँडोमात्र भएर आएको छ । बाग्मतीको स्वरूप लोभलाग्दो र अहिले नै नुहाऊँ नुहाऊँ लाग्ने गरी रूपान्तरण गर्न सकिएन । बाग्मती बाग्मती बन्न सकेन । त्यो महाअभियान प्रारम्भ भएको सय हो कि दुई सय हो दिन पुगेको दिन पशुपति क्षेत्र गुह्येश्वरी उत्तरको बाग्मतीमा सामूहिक स्नान पनि गरियो । स्वयं लीलामणिले पनि नुहाउनु भो ! मैले पनि नुहाउने भनेको थिएँ तर छालाको एलर्जी भएकोले नुहाउन सकिन । तर, धेरैले नुहाए । कमलमणि दीक्षित, कृष्णनाथ घिमिरेहरूले पनि नुहाउनुभयो । त्यो अभियानलाई सरकारले पर्याप्त ध्यान नदिएकोले भनेअनुसार अघि बढ्न सकेन । बाग्मतीलगायत बालुवा हुने नदी र खोलाहरू देशभरि नै खतरामा छन् । निर्माण, विकासका काममा सिमेन्ट प्रयोग हुनथाल्यो । सिमेन्टका लागि बालुवा नभइ नहुने भयो । बालुवाका कारण पानी प्रशोधन हुन्थ्यो । अब नदी–खोला बालुवाविहीन हुनलागे । नदी–खोला प्रदूषित हुन लागे । पानी अक्सिजनविहीन हुन लाग्यो । अक्सिजन नभएपछि पानीमा जलचरहरू – माछा, भ्यागुता, गँगटा, गड्यौँलालगायत कुनै जलचर पनि बाँच्न नसक्ने भए । जलचर र बालुवा नभएपछि पानी प्रशोधित हुनै छोड्यो । विशेष अधिकार सम्पन्न संस्था केही दर्जन मान्छेलाई जागीर खाने ठाउँमात्र हुन लाग्यो । सरकार यो काममा पनि विफल भएको छ ।
वायु प्रदूषणमा कोरोना झन् बढ्ने
काठमाडौँ उपत्यकामा धूलो, धुवाँ र ध्वनिका कारण वायु प्रदूषण विछट्टै बढेको छ । त्यसका लागि भक्तपुर सहरमै औद्योगिक क्षेत्र सञ्चालनमा रहेकोले पनि ध्वनि, धुवाँ र धूलो प्रदूषण औधि बढेको छ । सरकारको आ.व. २०७३÷७४ को प्रतिबद्धताअनुसार भक्तपुरको औद्योगिक क्षेत्र काठमाडौँ उपत्यकाबाहिर स्थानान्तरण भइसक्नुपर्नेमा सरकार कानमा तेल हालेर बसेको छ । सडक फराकिलो पार्ने नाममा सडकका दुवैतिरका रूख काटिएकाले एकातिर बस्ती उजाड देखिएको छ भने कार्बन शोषण पनि न्यून भएर स्थानीयको स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ र वायु प्रदूषणबीच नजिकको सम्बन्ध रहेको बताउँछन् विशेषज्ञहरू । उनीहरूका अनुसार वायु प्रदूषण बढी भएको ठाउँमा बस्नेहरूमा कोभिड–१९ को सङ्क्रमण पनि बढी हुने गरेको र कोरोनाको कारण मर्नेहरूको सङ्ख्या पनि बढी हुने गरेको टिप्पणी छ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न स्थानीय सरकारहरूको भूमिका महत्वपूर्ण हुने तथ्य छर्लङ्ग छ । तसर्थ स्थानीय सरकार जनतालाई यस्ता काममा कसरी संलग्न गराउने ? यस दिशातर्फ सम्बद्ध सबै निकायको सहकार्य महत्वपूर्ण हुने गर्छ । स्वास्थ्य मन्त्रालयलाई यो कुरा थाहा नभएको होइन । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम आफै भन्छन्, वायु प्रदूषणका कारण विश्वभर करिब ६० लाख मान्छे बर्सेनि मर्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा मात्र वायु प्रदूषणका कारण करिब सात हजार मान्छेको मृत्यु भएको थियो ।
कसलाई भन्ने कहाँ भन्ने ?
राज्यको सम्पूर्ण ध्यान आम जनताको स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सुरक्षा, उपयुक्त आवास, खानेपानी र भरपर्दो सुरक्षाजस्ता मूल मुद्दाहरू घनीभूतरूपमा केन्द्रित हुनुपर्नेमा त्यसो भइरहेको छैन । कसरी हुन्छ आफूसँग राय बझाउनेहरूको पूरै उन्मूलन गर्ने र एक्लै आफ्नै हैकम स्थापित गर्ने चिन्तनले आजको नेतृत्व ग्रस्त छ । एउटाले पाए अर्कोलाई निमोठेरै छोड्ने मनोविज्ञानले निर्देशित छन् केन्द्रीय नेताहरू । तसर्थ अरू सबै छोडी नेतृत्व एकलौटी पार्ने अधिनायकवादी सोचले खङग्रङ्गै पारेको छ ठूला नेता र नेतृत्वलाई । यस्तो वस्तुनिष्ठ यथार्थमा प्रदूषणयुक्त भक्तपुरेलाई वायु प्रदूषणबाट मुक्त गराउने कामको कसरी विश्वास गर्ने ? तर चुपो लागेर बस्यो भने झनै खराब हुनसक्छ । यसकारण पनि निरन्तर यस्ता मुद्दा उठाइरहनुपर्छ । वातावरण यस्तो बनेको छ, ‘जो हरामी छ उसैको स्वर ठूलो छ’ । उपमाका लागि किसानलाई बेलामा मल बीउ निर्वाध उपलब्ध गराउने दायित्व भएका कृषिमन्त्री नै निरीह छन् । उनी को वा कोकोबाट निर्देशित छन् भन्न सकिने छैन । सरकार जनताको हुनुपर्ने तर सरकार जनताको हुनसकेन । सरकार कसको हो ? कस्तो भो ? तैपनि, किसानले मल पाएनन् भन्न यिनीहरूकहाँ नै जानुपर्नेरहेछ । गणतन्त्र आएपछि के के न हुन्छ भनी ज्यान दिने, जीउ दिनेहरूको उत्तराधिकारीहरू किंकर्तव्यविमूढ छन् । कसलाई भन्ने कहाँ भन्ने कराउने ठाउँ नै छैन । कस्तो स्थिति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *