भर्खरै :

भक्तपुर क्यान्सर अस्पताललाई शुभकामना !

सरकारले भक्तपुरको क्यान्सर अस्पताललाई विकास समितिमार्फत सञ्चालनमा ल्याउने निर्णयले आगामी दिनमा अस्पताल चुस्त र व्यवस्थितरूपमा सञ्चालन हुने आशा जगाएको छ । नेपाल अर्बुद रोग निवारण संस्था नामको गैरसरकारी संस्थाअन्तर्गत सञ्चालनमा रहेको अस्पतालमा सो संस्थाका केही जिम्मेवार पदाधिकारीहरूबाटै भ्रष्टाचार र मनपरी हुनथालेपछि अस्पतालको सञ्चालनमा समस्या आएको थियो । अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूले अस्पताललाई कमाइ खाने र लुट्ने भाँडो बनाउँदै आएका थिए । आफूखुसी कर्मचारी भर्ती गर्ने र तिनै कर्मचारीबाट पनि रोजगार दिएबापत कमिसन खानेजस्ता अनैतिक कार्य पदाधिकारीहरूबाटै भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी असन्तुष्ट थिए । भक्तपुर नपाको प्रतिनिधिसमेत सञ्चालक समितिमा रहने अस्पतालको नियम उल्लङ्घन गर्दै भ्रष्टाचारमा संलग्न पदाधिकारीहरूले बैठकमा नपा प्रतिनिधिसमेत बोलाउन छोडेको थियो । अति भएपछि खति हुन्छ भनेजस्तै भ्रष्टाचारले सिमाना नाघेपछि अन्ततः स्थानीय जनताले आफ्नो आँगनको अस्पतालभित्रका विकृति समाधानको निम्ति पहल थाले । स्थापनाकालमा भक्तपुर नपाबाट भोगाधिकारमा जमिन लिएर सञ्चालनमा आएको अस्पतालमा भक्तपुर नपाले पनि चासो राख्नु स्वाभाविक थियो । अस्पतालमा भ्रष्टाचारका घटना घामजत्तिकै छर्लङ्ग भएपछि नपाले अस्पताल र जनस्वास्थ्यप्रति जिम्मेवारीबोध गर्दै अलग सञ्चालक समिति गठन गरी अस्पताल सञ्चालन अघि बढाइयो । तर, सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट हाललाई पुरानो र नयाँ दुवै सञ्चालक समितिलाई केही पनि काम नगर्न अन्तरिम आदेश दिएपछि अस्पताल सञ्चालनमा अन्योल र अलमल थपिएको थियो ।
विकास समितिमार्फत अस्पताल सञ्चालन गर्ने सरकारी निर्णयले गतिरोध अन्त्य भएको छ । अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सञ्चालनमा आउने यो अस्पतालले हिजोका समस्यालाई क्रमशः समाधान गर्दै जाने आशा गर्न सकिन्छ । मानिसको दिनचर्यामा आएको परिवर्तनसँगै हिजोआज सरूवा रोगभन्दा नसर्ने रोगको समस्या जटिल बन्दै गएको छ । क्यान्सरका रोगीहरू पनि दिनानुदिन बढ्दै गएको परिस्थितिमा भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थित सञ्चालनले जनतालाई सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गर्न सकिन्छ । क्यान्सरको उपचार आर्थिकरूपमा महँगो हुने भएकोले सरकारकै संरक्षकत्वमा सञ्चालन हुने अस्पताल थपिनु उपलब्धि हो ।
भक्तपुर क्यान्सर अस्पतालले सामना गरेका अनेकन प्रतिकूल परिस्थितिबीच आफ्नो जिम्मेवारीबाट कति पनि विचलित नभई स्वास्थ्य सेवामा लागेका कर्मचारीलाई यथोचित बन्दोबस्त गर्नु सरकारको दायित्व भएको छ । अस्पतालका कर्मचारीलाई कुनै पनि प्रकारको भेदभाव गर्नु उपयुक्त हुनेछैन । अस्पताललाई भ्रष्टाचारको दलदलबाट निकाल्न स्वास्थ्यकर्मी र कर्मचारीहरूबीचको एकताले महत्वपूर्ण भूमिका खेलेको वास्तविकतालाई अस्वीकार गर्नसक्दैन ।
अस्पतालको जीवनमा एउटा लामो प्रतिकूलताको पहाड पार गरेर अब नयाँ बिन्दुमा आइसकेको छ । अब अस्पताललाई भ्रष्टाचार र अनियमितताको जालोबाट निकालेर चुस्त सेवाको बाटोमा डो¥याउन आवश्यक छ । सरकारी र सार्वजनिक अस्पतालको सेवा निष्प्रभावी हुँदा आज निजी अस्पतालहरू मौलाइरहेका छन् । भक्तपुर क्यान्सर अस्पतालले आगामी दिनमा बिरामीको प्रभावकारी सेवा गरेर उदाहरणीय काम गर्ने जनताको अपेक्षा छ । अस्पतालले जनताको आशाअनुसार आगामी दिन व्यवस्थित र विस्तारित स्वास्थ्य सेवा दिन सकोस्, शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *