भर्खरै :

प्रम ओली लिपुलेक र कालापानी पनि पुग्ने कि !

अहिलेको स्थिति हेर्दा, बुझ्दा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा ओली नेतृत्वको सरकारको पालामा कायम हुने स्थिति देखिएको छैन । भारतीय पक्षले मिचेको, कब्जामा राखेको नेपाली भूमि फिर्ता लिनेसम्बन्धी कुनै प्रक्रिया अहिले अघि बढिरहेको छैन । कुनै न कुनै सहयोग गरेको देखाएर भारत सरकार मिचिएको नेपाली भूमि पचाउने धुनमा छ । आफ्नै दलका अध्यक्ष पुष्पकमल दाहाल पक्षका नेताहरूले त्यसबेला प्रम ओलीको राजीनामा माग्दा उनीमात्रै देश जोगाउने, बचाउने नेताको रूपमा चर्चा भएको थियो । उनले राजीनामा दिए नेपाली भूमि कुनै हालतमा कायम गर्न नसकिने विचार पोखिएको थियो । प्रम ओलीको त्यसबेलाको अभिव्यक्ति सुन्दा मिचिएको नेपाली भूमि तत्काल फिर्ता होला जस्तो देखिन्थ्यो । तर, त्यो गफजस्तै सावित भयो ।
यतिबेला प्रम ओली जिल्ला भ्रमणमा व्यस्त हुन थालेका छन् । जिल्ला भ्रमण भन्दै कोरोना सङ्क्रमणको ख्यालै नगरी स्थानीय जनता भेला गर्दै छन् । प्रम निवासमा बसेर देश सञ्चालन गरिरहेका ओलीले जिल्ला भ्रमणकै क्रममा भारतले जहाँजहाँ नेपाली भूमि मिचेको छ, त्यहाँ त्यहाँ अनुगमन गरेको भए नेपाली भूमि मिचेको कुरा अवगत हुनेछ । यसले कमसेकम देशभक्तिको भावना जगाउनेछ । यही मौकामा प्रम ओली कालापानी, लिम्पियाधुरा र लिपुलेकमा पुगेका भए मिचिएको नेपाली भूमि फिर्ता सम्बन्धमा थप ऊर्जा मिल्ने विश्वास गर्न सकिन्छ ।
आज संसारका बढी बदनाम भएका देशहरूमा विस्तारवादी भारत र साम्राज्यवादी संयुक्त राज्य अमेरिका नै हुन् । ती दुई देशको पछि लागिरहेका अरू पिछलग्गू देशहरू पनि छन् । स्वतन्त्र, सार्वभौम र साना देशहरूलाई दुःख दिने देश भारत र अमेरिका नै हुन्, अरू पिछलग्गू देशहरू समर्थन र सहयोग गर्छन् । अरू देशमाथि थिचोमिचो, अतिक्रमण र आक्रमण गर्नु नै ती देशहरूको कार्य देखिन्छ । भारत र अमेरिकी शासकहरूमा शक्तिको अभिमानी छ । शक्तिको मातमा चढेरै ती दुई देशले अरू देशमाथि लुटपाट गरिरहेका हुन् । अहिले पनि सशस्त्रसहितको अमेरिकी सेना दर्जनौँ मुलुकमा तैनाथ छन् । भारत छिमेकी देशको जग्गा मिच्दै देशमा आक्रमण गरेर आफ्नो देश विस्तार गरिरहेको छ भने अमेरिका एक देश र अर्काे देशबीच लडाएर हतियार बेच्दै धनी बन्दै छ । अरू देशमा लुटपाट मच्चाउने, आक्रमण गर्ने, नाकाबन्दी गर्ने, शासकहरूको हत्या गर्ने, देश निकाला गर्ने, साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी शासकहरू संसारका देशभक्त जनताका शत्रु हुन् ।
अहिले अमेरिका पनि नेपालमा हात हाल्दै छ, हात हालेर देशलाई अझ पराधीन बनाउने र आफ्नो उठबसमा राख्ने जाल बुन्दै छ । यसबारे सरकार सचेत हुनुपर्छ । भारत त नेपाली भूमि मिचेर नपुगी नेपाल नै खाने दाउमा छ । नेपाल–भारत सीमाको अधिकांश ठाउँमा भारतले नेपाली भूमि मिचेको छ । नेपाली भूमि मिचे पनि सरकार मौन छ । सरकारको यही कमजोरीको कारण भारतले नेपाली भूमि फिर्ता दिएको छैन, फिर्ता दिन चाहेको छैन । नेपाली भूमि नेपालको कायम गर्न सरकार अघि नबढे, प्रक्रिया अघि नबढाए मिचिएको नेपाली भूमि भारतीय पक्षले पचाउनेछ र नेपाल सरकारले फिर्ता लिन झन् गाह्रो हुनेछ । कूटनीतिक उपाय अपनाएर नेपाली भूमि फिर्ता कहिले हुने ? भारतसँग लडेर लिनसक्ने क्षमता नेपालसँग छैन । युद्ध गरेर र कूटनीति अपनाएर लिनसक्ने स्थिति नदेखिएपछि अर्काे उपाय भनेको अन्तर्राष्ट्रिय अदालतमा मुद्दा राख्नु नै हो । त्यो उपाय नेपाल सरकारले अवलम्बन गर्न जरुरी छ । नत्र मिचिएको नेपाली भूमि फिर्ता लिने सम्भावना देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *