भर्खरै :

हनुमन्ते खोलामा रसायनयुक्त तरल पदार्थ मिसाउँदा स्थानीयको विरोध

भक्तपुर, ९ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं ८ लिबाली र थुसाचा हुँदै बग्ने हनुमन्ते खोलामा सोही स्थानमा रहेको ओम सञ्जीवनी डेरी प्रालिले मानव स्वास्थ्यको लागि हानिकारक रसायन मिसिएको सेतो तरल पदार्थ निष्कासन गरेकोमा स्थानीय जनताले विरोध गरेका छन् । मङ्ग लबार बिहान पूरा खोला नै सेताम्य हुने गरी सेतो रङको विषाक्त पानी खोलामा मिसाएपछि स्थानीय जनताले विरोध गरेका हुन् ।
“यसअघि पनि यसरी सेतो तरल पदार्थ खोलामा मिसाउने गरिएको थियो । मङ्ग लबार भने ठूलो परिमाणमा त्यस्तो तरल पदार्थ खोलामा मिसाएको देखियो”, स्थानीय कृष्णगोविन्द लाखाले भन्नुभयो ।
मङ्ग लबार बिहान खोलामा मिसाइएको सेतो तरल पदार्थले थुसाचादेखि हनुमानघाटसम्मको खोला सेतै देखिएको थियो ।
यसअघि खोला सुधारको निम्ति भएका बैठकमा स्थानीयले खोलामा विषाक्त पानी नमिसाउन आग्रह गर्दा सो डेरीका प्रतिनिधिले उपरान्त त्यस्तो तरल पदार्थ खोलामा नमिसाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तथापि, कहिले धेरै त कहिले थोरै गरी सेतो तरल पदार्थ खोलामा मिसाउने काम हुँदै आएको स्थानीयको भनाइ छ ।
जनस्वास्थ्यमा हानि पु¥याउने कस्टिक सोडा प्रयोग भएको तरल पदार्थ खोलामा मिसाएको जनगुनासो आएपछि भक्तपुर नगरपालिकाले अनुसन्धान थालेको छ । मङ्ग लबार नै भक्तपुर नपाका कर्मचारीहरू उद्योगमा पुगी सो विषयमा सोधपुछ गरेको बताइएको छ । प्राप्त जानकारीअनुसार उद्योगको ‘फ्यान बिग्रँदा १९ सय लिटर दूध र दही बिग्रेपछि’ खोलामा मिसाइएको थियो । यसअघि पनि उद्योगका उपकरण सफा गर्न कस्टिक सोडा प्रयोग गरिएको तरल पदार्थ खोलामा मिसाउने गरिंदै आएको थियो ।
भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष महेन्द्र खायमलीले खोलामा सेतो तरल पदार्थ मिसाएको विषयमा जनगुनासो आएपछि आवश्यक अनुसन्धानको लागि नगरपालिकाका कर्मचारी खटाई प्रतिवेदन बुझाउने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
खोलामा मिसाइएको सेतो तरल पदार्थ खोलाको दायाँ–बाँया खेतीमा सिंचाइको लागि प्रयोग गर्दा बालीनालीमा खराबी गरेको स्थानीयको भनाइ छ । खोला छेउ खोलिएको उद्योगले यसरी जथाभावी रसायनयुक्त तरल पदार्थ खोलामा मिसाउनु पर्यावरण र जनस्वास्थ्यको लागि खराब भएकोले जिम्मेवार निकायले तत्काल कारबाही गर्नुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *