भर्खरै :

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन, ९ मङ्सिर (पीटीआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
सरकारी उच्च अधिकारीहरूलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।
उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशङ्का गरिँदै आएकोमा उनले अहिले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ ।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै आफू पराजित नभई पराजित गराइएको दाबी गर्दै आएका छन् । उनले बाइडेनको जित र आफ्नो पराजय अस्वीकार गर्दै आएका थिए ।
निर्वाचनमा धाँधली भएको भन्दै उनले विभिन्न अदालतमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दाबीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशहरूले मुद्दा नै खारेज गरिदिएका थिए ।
अदालतबाट समेत आफ्नो दाबी पुष्टि नहुँदा पनि उनले आफू अन्यायमा परेको र आफूलाई नियोजितरूपमा पराजित गरिएको भन्दै उनले न्याय माग्ने क्रमलाई निरन्तरता दिने दाबी गरेका छन् ।
यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएका छन् ।
उनीहरूले आगामी सन् २०२१ जनवरी २० मा सपथग्रहण गर्दै जिम्मेवारी सम्हाल्ने छन् । त्यसका लागि उनीहरूले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् ।
बाइडेनले आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नामावली तयार पर्न थालिसकेका छन् ।
पूर्वविदेशमन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेषदूतको भूमिका निर्वाह गर्दै आएका छन् भने यसअघि सशक्तरूपमा अन्तराष्ट्रवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *