भर्खरै :

लोप हुँदै टिस्टुङका ऐतिहासिक ढुङ्गेधारा

टिस्टुङ, ९ मङ्सिर । संस्कृति र सभ्यताको चिनोका रूपमा ररुहेरुका मकवानपुरको थाहा नगरपालिकाका ऐतिहासिक तथा कलात्मक ढुङ्गेधाराहरू लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न समयको बाढी–पहिरो, भूकम्पले बिगारेका धाराहरू आर्थिक श्रोतको अभाव र स्थानीयमा संरक्षण भावको अभावका कारण यस्तो हुन पुगेको हो । यसका साथै राजकुलो संरक्षणको अभाव, खानेपानीको नयाँ प्रविधिको विकास र उचित सरकारी योजनाको अभावमा थाहा नगरका ढुङ्गेधाराहरू लोप हुने स्थितिमा पुगेका हुन् ।
थाहा नगरमा रहेका कतिपय लिच्छविकालीन ढुङ्गेधाराहरू आफैँ तिर्खाएको अवस्थामा छन् भने कतिपयमा तिरतिर पानी झर्ने भए पनि प्रयोगमा आउन सकेका छैनन् । यसरी यहाँका ढुङ्गेधाराहरू अहिले अस्तित्वमा नै छैनन् भन्दा पनि हुन्छ ।
थाहा नगरमा प्राचीन नेवार बस्तीहरू रहेको ठाउँमा ढुङ्गेधाराहरू रहेको पाइएको छ । वडा नं १ को कुन्छाल, कुलगाउँ र ओखरबजारस्थित नेवार बस्तीमा ऐतिहासिक ढुङ्गेधाराहरू रहेका छन् । त्यसैगरी वडा नं २ को पालुङ सहर, वडा नं ३ को गोपाली बस्ती, वडा नं ६ को पापुङ, कोट डाँडा, नारायण थान, ढल्ट, भूतडाँडामा परम्परागत ढुङ्गेधाराहरू रहेका छन् । वडा नं ९ चित्लाङको टुपीखेल, कुचुबु, माझगाउँ, गोल भाः, कुश्लेचौर, नयाँ पौवा र सिरान पौवामा ऐतिहासिक ढुङ्गेधाराहरू रहेको स्थानीय जानकार शान्तलाल नेवाःले बताउनुभयो । त्यसैगरी वडा नंं १० को बिसिङ्खेल, न्हुल गाउँ, तल्लो बिसिङ्खेल, टौखेल, कलाँटो र सिसिण्डोलमा ढुङ्गेधाराहरू रहेका छन् । अस्तित्वको सङ्कटमा परेका समेत गरेर थाहा नगरपालिकाका ३५ स्थानमा ४६ भन्दाबढी परम्परागत ढुङ्गेधारा रहेका छन् ।
वडा नं १ कुन्छालस्थित ऐतिहासिक गोपालीबस्तीमा रहेको ढुङ्गेधारामा राखिएको शिलालेखअनुसार सो ढुङ्गेधारा नेपाल संवत् ८३३ मा निर्माण गरिएको थियो । फोसिँ मि परिवारले निर्माण गरेको हुँदा सो धारालाई स्थानीयहरूले फोसिँ हिटी भन्ने गर्दछन् । कुशे औँशीको अघिल्लो दिन जुवा चेँ अर्थात् नारायण देवता उत्पन्न भएको दिन मानेर स्थानीयहरूले हरेक वर्ष ढुङ्गेधारामा पूजा गर्ने गर्दछन् भने पूजापछि भोजसमेत गर्ने गरेको स्थानीय शिक्षक निराजन गोपालीले बताउनुभयो । सो दिन गाउँका सबैले त्यही धारामा नुहाउने गरेको प्रचलन समेत छ । विसं २०७२ को विनासकारी भूकम्पले मुहानमा पानी सुकेपछि ढुङ्गेधारामा पनि पानी बग्न छोड्यो । त्यस धारामा यस वर्षबाट पुनः तिरतिर पानी झर्न त थालेको छ तर पहिलेजस्तो भने आउँदैन  ।
कुन्छालकै अर्को टोलमा रहेको ऐतिहासिक ढुङ्गेधारा अहिले अस्तित्वमै छैन । ग्रामीण सडक निर्माणको क्रममा गतवर्ष उक्त धारा पुरिएपछि ढुङ्गा निकालेर राखिएको छ । गाउँमा भित्रिने प्रत्येक नवदुलहीले पहिलोपटक सो धारामा नुहाउनै पर्छ भन्ने मान्यता रही आएको छ । ढुङ्गेधारा मासिएपछि अहिले नवदुलही नुहाउने प्रचलन पनि हराएको निराजन गोपालीले बताउनुभयो ।
थाहा नगरिपालिका– १ को कुलगाउँमा ढुङ्गेधारा रहेकोले सो टोललाई अहिले पनि मानिसहरूले हिटी छेँ भन्दछन् । नेवारी भाषामा हिटी छेँ भन्नाले धाराटोल भन्ने बुझिन्छ । तर, अहिले टोलमा ढुङ्गेधारा देख्न सकिँदैन । थाहा– १ का वडाअध्यक्ष हेरमान गोपालीका अनुसार पानी खस्ने कलात्मक ढुङ्गा निकालेर राखिएको छ ।
वडा नं १ कै ओखरबजारमा पाँच ओटा ढुङ्गेधारा रहेकोमा तीन ओटामा पानी आउँदैन । ओखरबजारस्थित नारायणथानमा रहेको कलात्मक ढुङ्गेधारा सुकेको छ भने कलात्मक ढुङ्गाको छेउमा स्थानीयहरूले कहिलेकाहिँ हँसिया उध्याउने गरेका छन् । पहिले गाउँभरिका मानिसहरूलाई पानी पु¥याउने सो धारामा पानी सुकेको २५ वर्षभन्दा बढी भएको स्थानीय गणेशमान श्रेष्ठले बताउनुभयो । ओखरबजारकै अर्को टोलमा रहेको जोर ढुङ्गेधारामा खलल पानी आउने भए पनि स्थानीयहरूले सो पानी पिउन छोडेका छन् । विसं २०५० मा आएको बाढीले धारा नै बगाएपछि २०६२ सालमा अर्को धारो बनाएर पानी खसालिएको छ । ओखरबजारकै गणेश थाननमा रहेका दुई ओटा धारा पानीको अभावमा काकाकूल बनेका छन् ।
थाहा नगरपालिका वडा नंं २ स्थित पालुङ सहरमा रहेका २ वटा ढुङ्गेधारा जीर्ण अवस्थामा पुगेका छन् । स्थानीय तोयापानी प्रधानले ४२ मौजाका जिम्मावाल रहेको बेला २००२ सालमा सो ढुङ्गेधारा निर्माण गर्नुभएको थियो । दुवै धारा सुकेर जीर्ण भएपछि अहिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा संरक्षण योजना अघि सारिएको राजु नापितले बताउनुभयो ।
ऐतिहासिक गोपालीहरूको बस्ती सुरू भएकै बेलातिर निर्माण गरिएको मानिएको थाहा–३ को शेतीगणेश मन्दिरसँगै रहेको ऐतिहासिक ढुङ्गेधारालाई भने स्थानीयहरूले सदुपयोग गरिरहेका छन् । विसं १९९० मा गएको विनासकारी भूकम्पले मन्दिर भत्किएपछि १९९३ सालमा पुनर्निमाण गरिएको थियो । स्थानीयहरूले धाराको संरक्षण गरिरहे पनि सोही ठाउँमा रहेको मन्दिर, भजन पाटी र बस्तीलाई समेत समेटेर सम्पदा संरक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीय सकुन्तला गोपालीको भनाइ रहेको छ ।
थाहाको वडा नं ६ स्थित नारायण थानमा रहेको ढुङ्गेधाराको पानी अहिले पनि स्थानीय कुश्ले जातीका मानिसहरूले प्रयोग गर्ने गर्दछन् । ढल्ट र पापुङको माथिल्लो टोलमा रहेका धाराहरूमा पनि पानी छ तर उचित संरक्षणको अभाव छ  । कोटडाँडा र भूतडाँडामा धारा रहेपनि पानी आउँदैन । जरुङखोलामा रहेको कलात्मक ढुङ्गेधारा माथिबाट लेदो माटो बगेर पुरिएको अवस्थामा छ भने पापुङमा रहेको पुरानो धारा जीर्ण बनेको छ । कलात्मक धारा निकालेर राखिएको छ भने धारा रहेको स्थान झारले पुरिएको अवस्थामा छ । त्यससँगै रहेको अर्को ढुङ्गेधारा लोप नै भइसकेको स्थानीय ७७ वर्षीय ओमकृष्ण महर्जनले जानकारी दिनुभयो ।
महर्जनका अनुसार गाउँभरिका मानिसहरूले पानी पिउने ‘पुरानो धारा’ कहिले निर्माण भयो भन्ने कसैलाई थाहा नभए पनि उहाँको पूर्खाकै पालादेखि जनैपूर्णिमामा ढुङ्गेधाराको पुजा गर्ने गरिन्थ्यो । धारामाथि दुईवटा मूर्तीसमेत रहेको सो ढुङ्गेधारामा माटोकै पाइपबाट पानी ल्याएर खसालिएको थियो । पापुङको माथिल्लो टोलमा रहेको च्वे हिटी अर्थात् माथिको धारा पञ्चायतकालमा प्रधानपञ्चको घरबाट ढुङ्गेधारा ल्याएर निर्माण गरिएको ७२ वर्षीय मङ्गलदास बलामीले बताउनुभयो ।
थाहा नगरपालिकाको वडा नं ९ चित्लाङ सात धारा, गुर्जुधारा र पाँच धारा आदिले प्रख्यात छ । स्थानीय खोजकर्ता एवं जानकार शान्तलाल नेवाका अनुसार टुपीखेलमा रहेको २ वटा ढुङ्गेधारा लिच्छवी राजा अंशुबर्माका छोरा उदयदेवले निर्माण गर्नुभएको थियो । नेपाल संवत् ९१४ मा राजाराम भन्ने व्यक्तिले सो ढुङ्गेधाराको जीर्णोद्वार गर्नुभएको थियो । मूर्तिहरू र धर्मशालासमेत रहेको ढुङ्गेधारामा २०७२ सालको भूकम्पपछि पानी सुकेकामा अहिले फेरि पानी आउन थालेको छ । टुपीखेल नजिकै देउला टोलका मानिसहरूले प्रयोग गर्ने एउटै मुहान भएको पाँचधारा रहको छ । विसं २०७२ को भूकम्पका कारण पाँचओटा धाराको श्रोतको पानी जमिनमुनि दविएपछि स्थानीय पाँचधारा देउला समाज समितिले उत्खनन् गरी संरक्षण गरेको छ । अहिले पाँचवटै धारामा पानी आइरहेको छ ।
थाहा– ९ को कुचुवुमा रहेको नारायण हिटी नेपाल संवत् ६०० तिरै निर्माण गरिएको मानिन्छ । पन्ध्रौँ शताब्दीमा पाटनका राजा विष्णुसिंह महापात्रले नारायण हिटी निर्माण गरेको शान्तलाल नेवाःले बताउनुभयो । स्थानीयहरूले सो धाराको सदुपयोग गरिरहेका छन् । धारानजिकै नारायणको मन्दिर पनि छ । थाहाको चित्लाङस्थित माझगाउँ ढुङ्गेधारा र गोल भाः को सात धारा निकै ऐतिहासिक मानिन्छ । राजा अंशुबर्माका छोरा उदयदेवको शिलालेख चित्लाङमा भेटिएकाले यी धाराहरू पनि त्यसैबेला बनेको स्थानीयहरूको अनुमान छ । काठमाडौँको स्वशासित क्षेत्रको रूपमा रहेको चित्लाङ–टिस्टुङ–पालुङ क्षेत्रको राजकाज गर्ने गरी राजा उदयदेवले हाल सातधारा रहेको क्षेत्रमा दरवार बनाएको र सोही क्रममा सात धारा निर्माण गरेको शान्तलाल नेवाः ले बताउनुभयो । पौराणिक कथनअनुसार भने द्वापर युगमा शोणितपुर भनिने हालको थानकोट क्षेत्रलाई राजधानी बनाएर राजा वाणाशुरले शासन गर्दथे । वाणाशुर आफ्नो रानीसहित मेल चोँ अर्थात् मृगस्थली डाँडामा विहार गर्न आउने क्रममा उहाँकी पुत्री उषामायालाई स्नान गर्नका लागि सातधारा निर्माण गरिएको थियो ।
चित्लाङको नयाँ पौवा र सिरान पौवामा पनि ढुङ्गेधाराहरू रहेका छन् । शिवरात्रीमा यात्रीहरूलाई सर्वत दान गर्ने भएकोले यसलाई सरावत पौवा भनिन्छ । सिरान पौवाको ढुङ्गेधारा राजा पृथ्वीनारायण शाहका प्रमुख सेनापति अभिभानसिंह बस्न्यातको निधनपछि उहाँकी श्रीमतीले निर्माण गरेको मानिन्छ । सो ढुङ्गेधारा गुर्जुधाराको नामले प्रख्यात छ । परापूर्व कालदेखि ‘गुरुज्यू’ हरूले स्नान गर्ने भएकोले यो धारालाई गुर्जुधारा भनिएको स्थानीय बुद्धिजीवी बुधरत्न मानन्धरले बताउनुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहाँको चर्चित ‘यात्री’ कविता सोही ढुङ्गे धारामा बसेर लेखेको मानिन्छ । प्रदेश सरकारअन्तर्गत सिँचाइ डिभिजन कार्यालयले गुर्जुधारा, सातधारा र चित्लाङ राजकुलोको जीर्णोद्धार सुरू गरेको छ ।
थाहा– ९ को कुश्लेचौरमा पनि सरस्वती र गणेशको मूर्तिसहितको कलात्मक ढुङ्गेधारा रहेको छ ।
थाहा– १० को प्रशिद्ध चम्पाकेश्वर मन्दिरसँगैको ढुङ्गेधारा अहिले लोप भइसकेको छ । कलाँटोमा पानी खस्ने ढुङ्गा निकालेर राखिएको छ भने टौखेल र सिसिण्डोलमा रहेको ढुङ्गेधाराबाट पानी झरिरहेको छ । तल्लो बिसिङ्खेलमा रहेको ढुङ्गेधारामा पाँच वर्षपछि पानी आएको छ । विसं २०७२ को विनासकारी भूकम्कसँगै बिसिङ्खेलको ढुङ्गेधारामा पानी सुकेको थियो । रूपासेखोलास्थित मुहानमा पानी आएसँगै ढुङ्गेधारामा पनि पानी आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।ढुङ्गेधारा नजिकै नागको थान रहेको र नजिकै दुईवटा ढुङ्गेधारा रहनुले स्थानीयले यो धारालाई विशेष महत्वको रूपमा लिँदै आएका छन् । दुईमध्ये एउटा धारा बाढीले पुरेर लोप भइसकेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरको ऐतिहासिकता बोकेका परम्परागत ढुङ्गेधाराहरूको उचित संरक्षण गरिने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *