भर्खरै :

महिला हिंसा उन्मूलन दिवस

आज अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस । सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणराज्यका तत्कालीन शासक राफेल त्रिजुल्लोले त्यहाँका तीन जना राजनीतिक कार्यकर्ताहरू मिराबल बहिनीहरूको हत्याको इतिहासमा आधारित भएर हरेक वर्षको नोभेम्बर २५ मा महिला हिंसा उन्मूलन दिवस मनाउन थालिएको हो । सन् १९८१ बाट ल्याटिन अमेरिकी र क्यारिबियाली महिला अभियन्ताहरूले नोभेम्बर २५ मा महिला हिंसाको प्रतिरोध र जनचेतना फैलाउने दिनको रूपमा विभिन्न गतिविधि गर्न थालेका थिए । सन् १९९९ को डिसेम्बर १७ मा संयुक्त राष्ट्र सङ्घले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस घोषणा गरेपछि संसारभर यो दिवस मनाउन थालिएको हो ।
तथ्य–तथ्याङ्क हेर्दा संसारभर महिला हिंसाका घटना दिनानुदिन बढ्दै गएको देखिएको छ । विश्व स्वास्थ्य सङ्ग ठनको तथ्याङ्कअनुसार संसारमा हरेक तीन जनामध्ये एकजना महिला (३५ प्रतिशत) ले शारीरिक वा यौनिक हिंसाको सामना गरिरहेका छन् । संसारभर एकतिहाइ महिलाले आफ्नो जीवनको सबभन्दा नजिकको पुरुषबाट जीवनको कुनै न कुनै समयमा शारीरिक र यौनिक हिंसा सामना गरेको अनुभव गरेका छन् । बलात्कार, घरेलु हिंसा, कार्यालय र कार्यस्थलमा हुने शारीरिक, मानसिक र यौनिक हिंसा, तेजाब आक्रमण, हत्या आदि बहुआयाममा फैलिएको महिला हिंसाको बढ्दो सङ्ख्या आधुनिक मानव सभ्यताको लागि चुनौती बनेको छ । महिला र पुरुषबीच समानताको सचेतना विस्तारसँगै महिलामाथिको हिंसा विस्तार हुनु विडम्बनाको कुरा हो ।
दक्षिण एसिया महिलामाथि सबभन्दा बढी हिंसा हुने क्षेत्रको रूपमा कुख्यात छ । भारतले महिलाविरुद्ध बलात्कार र हिंसाको कारण कुख्याति कमाएको छ । महिलामाथिको हिंसाको सन्दर्भमा नेपालको अवस्था पनि ज्यादै खराब बन्दै गएको छ । हरेक दिनजसो अखबारमा महिलामाथि हिंसाका समाचार प्रकाशित भएको पाउँछौँ । कति महिलामाथि भएका त्यस्ता हिंसा त सार्वजनिकसमेत हुने गर्दैन । कति भने ‘मिलापत्र’मा गएर टुङ्गि ने गरेको छ । महिला हिंसाका लागि दोषीमाथि निकै कम सङ्ख्यामा मात्र कारबाही हुने गरेको छ । अझ कति महिलामाथिको हिंसालाई समाजले हिंसाको रूपमा समेत स्वीकार्न तयार भएको देखिंदैन । राज्य स्वयम्ले महिलामाथि हुने हिंसाका दोषीलाई संरक्षण गर्ने गरेको उदाहरण निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई अझसम्म कानुनको दायरामा ल्याउन नसक्नुबाट प्रस्ट छ ।
सरकारले हालसालै तेजाब हमला र बलात्कारसम्बन्धी केही कडा कानुन अघि सारेको छ । तर, कानुनमा भएका त्यस्ता बन्दोबस्तको पूर्ण पालना हुनेमा आशङ्का गर्ने ठाउँ भने अझै प्रशस्त छ । कानुनको अभावमा भन्दा पनि राज्यको निष्क्रियता, कमजोरमाथि दमन गर्ने पुरातन सोच, महिलालाई दोस्रो दर्जाको मानिस मान्ने सामन्ती सोचाइ र व्यापार विस्तारको निम्ति उपयोग हुने वस्तुको रूपमा महिलालाई लिने पुँजीवादी चिन्तनको सघनताले महिलाविरुद्धको हिंसा बढेको देखिन्छ ।
महिलाविरुद्धको हिंसा उन्मूलन महिलालाई व्यक्तित्व विकासमा समान अवसर, सबै क्षेत्रमा महिलाको समान सहभागिता, पुरुष र महिलाको समान पारिवारिक, सामाजिक र आर्थिक दायित्व बहनसँग जोडिएको विषय हो । महिलालाई कमजोर ठान्ने पुरातन सोचाइमा परिवर्तन गर्नसके महिलामाथिको हिंसा न्यून गर्न सकिन्छ । मुख्यतः कडा कानुन र कानुन पालनामा राज्यको भूमिकाले पनि महिलाविरुद्धको हिंसा न्यूनीकरणमा अहम् भूमिका खेल्न सक्छ ।
महिलाविरुद्धको हिंसा असभ्य समाजको अवशेष हो । सभ्य मानिस बस्ने संसार महिलाविरुद्धको हिंसाबाट मुक्त हुन्छ । कोभिड–१९ महामारीको अवधिमा संसारभर महिलामाथिको हिंसा अझ बढेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ । तसर्थ महिला हिंसा उन्मूलन दिवसको सन्दर्भमा यो असभ्यताको खड्को निर्मूलन गर्नतिर अघि बढौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *