भर्खरै :

जनताको सेवामा लाग्नेहरू पछुताउन नपर्ने

जनताको सेवामा लाग्नेहरू पछुताउन नपर्ने

भक्तपुर, १० असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको सेवामा समर्पित भएर लाग्नेहरूले कहिल्यै पछुताउन नपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिका वडा नं. ६ द्वारा आयोजित ‘मेयरसँग युवा–विद्यार्थीहरूको अन्तरसंवाद’ कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरलाई आजको अवस्थामा ल्याइपु¥याउन यहाँका अग्रजहरूको ठुलो योगदान रहेको बताउनुभयो ।
उहाँले भूकम्पपछिको पुनर्निर्माणमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजका प्राविधिकहरूको ठुलो सहयोग रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यसँगै मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा पनि भक्तपुर नगरपालिकाले जोड दिइरहेको बताउनुभयो ।
उहाँले दक्ष जनशक्ति उत्पादनका लागि नगरपालिकाद्वारा सञ्चालित कलेजका विद्यार्थीहरूलाई नगरपालिका, ख्वप अस्पताल तथा वडा कार्यालयहरूमा इन्टर्नसिप गराइरहेको जानकारी दिनुभयो ।
युवा–विद्यार्थीलाई भविष्यको दक्ष जनशक्ति बनाउन नगरपालिकाले छात्रवृत्ति, शैक्षिक ऋण तथा उद्यमशीलता ऋण उपलब्ध गराई सहयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “हाम्रा कलेजमा अध्ययनरत छात्राहरूको सङ्ख्या संविधानले परिकल्पना गरेको ३३ प्रतिशत महिला सहभागिताभन्दा उच्च हुने देखिन्छ । उच्च शिक्षामा छात्राहरूको सङ्ख्या बढ्नुले देशको भविष्य महिलाहरूको हातमा जाने सङ्केत हो ।”
वडा नंं ६ का वडाध्यक्ष एवं कार्यक्रमका सभापति हरिराम सुवालले देशको ऐना नै विद्यार्थी भएकाले विद्यार्थीले आफ्नो बौद्धिक क्षमताको सदुपयोग गर्दै समाजप्रति सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूमा अध्ययनसँगै व्यावहारिक ज्ञान, सीप र क्षमता हुनु आवश्यक छ ।”
समाजसेवी गोपीकृष्ण चाँगुभारीले नेपाल मजदुर किसान पार्टीको अथक सङ्घर्षका कारण भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा कलेजमा देशका विभिन्न जिल्लाका विद्यार्थीले सर्वसुलभ रूपमा अध्ययन गर्न पाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैँया सुवाल, शिक्षक जगन्नाथ सुजखु र वडा सदस्य सिद्धिराम अवालले पनि आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *