भर्खरै :

नर्सिङका नवआगन्तुक विद्यार्थीलाई मार्गनिर्देशन कार्यक्रम

भक्तपुर, १० मङ्सिर । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका नवआगन्तुक विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई आफ्नो पेशा र विषयमा दृढ विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दै व्यक्तिगत स्वार्थबाट टाढा रही समाज परिवर्तनको निम्ति काम गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनको तयारीमा जुटिरहेको बताउँदै उहाँले कोरोना महामारीबीच निजी अस्पतालहरूले महँगोमा जनतालाई उपचार गरिरहेको बताउनुभयो ।
विद्यार्थी अरूबाट हौसला र प्रेरणा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सीपयुक्त विद्यार्थीहरू कहिल्यै भोको बस्नुपर्ने स्थिति नआउने बताउनुभयो ।
नर्सिङका विद्यार्थीहरू समर्पित भावना लिई बिरामीको सेवा गर्ने ढङ्गले आफ्नो पेशामा आबद्ध हुनुपर्नेमा जोड दिँदै नगर प्रमुख प्रजापतिले पढाइ सँगसँगै व्यवहारिक ज्ञानको पनि सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
ख्वप बुहप्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका सदस्य एवम् भनपा ९ नं. का वडाध्यक्ष रवीन्द्र ज्याख्वले संस्थान स्थापनाको उद्देश्य र परिचयबारे अवगत गराउनुभयो । भक्तपुरलगायत विभिन्न जिल्लाका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय नर्सिङ शिक्षा प्रदान गर्न संस्थानले सफलता हासिल गरिरहेको बताउँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले दक्ष र इमानदार जनशक्ति उत्पादनका साथै संस्कारयुक्त विद्यार्थी उत्पादन गरिरहेको बताउनुभयो ।
नयाँ पुस्ताका विद्यार्थीमा आफ्नो देशप्रतिको सकारात्मक दृष्टिकोण हट्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै वडाध्यक्ष ज्याख्वले आफूले सिकेको ज्ञान र सीपलाई समाजमा व्यवहारिक ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्रमुख रत्नसुन्दर लासिवाले गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले देश र जनतामा समर्पित हुने दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेको बताउनुभयो ।
आफ्नो पेशामा इमानदारीपूर्वक र असल व्यवहारबाट सबैमा सकारात्मक प्रभाव पार्ने ढङ्गले कार्य गर्न उहाँले मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रममा विभागीय प्रमुख सुमित्रा बुढाथोकी र नर्सिङ प्रथम वर्षका इन्चार्ज शोभालक्ष्मी प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *