भर्खरै :

फिडेल: आवश्यक उपस्थिति

(नोभेम्बर २५, क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रो भौतिकरूपमा बिदा भएको चौथो वर्ष पूरा भएको दिन हो । उहाँको काम, उदाहरण र उहाँका शब्दहरू सदा जीवित छन् । – “हामीले देखाएका छौँ कि मानव जाति राम्रो बन्न सक्छ र बन्नैपर्छ । हामी मानवीय मूल्य र नैतिकताको प्रदर्शन गर्छौं । हामी जीवन प्रदान गर्छौं ।”)
गत वर्ष हामीले तपाईँलाई एउटा अजय योद्धाको रूपमा महामारीको विरुद्ध लडिरहेको देख्यौँ । यो तपाईँको दृष्टिकोणको प्रतिफल हो, तपाईँले देख्नुभएको सपनाको नतिजा हो । विज्ञानको विकाससँगै समय क्रममा देखिने विभिन्न रोगको महामारीविरुद्ध लड्न तपाईँले क्युवाली टापुलाई चिकित्सक र अनुसन्धान केन्द्रहरूले भरिदिनुभयो, यो त्यसैको नतिजा हो । त्यहीँ कारणले हो तपार्इँलाई एउटा अजय योद्धाको रूपमा महामारीको विरुद्ध लडिरहेको देख्यौँ ।
कुनै पनि महामारीले गरिब देशलाई सबैभन्दा बढी प्रभाव पार्ने तथ्य तपाईँलाई थाहा थियो । त्यसैले तपाईँले गरिब देशप्रति ऐक्यबद्धतालाई मुख्य नारा बनाउनुभयो, दुर्भाग्यवस थोरै अभ्यास भयो किनभने यहाँ नवउदारवादको नाममा लोभ व्याप्त छ ।
तपाईँ हाम्रोसामु भौतिकरूपमा हुनुहुन्न तर अहिलेको लडाइँको नेतृत्व तपाईँ गर्दै हुनुहुन्छ । “सियरा मायस्त्रा” नामको हिमालय श्रृङ्खलाबाट उत्खनन गरिएको चट्टानको गहिराइबाट तपाईँले यो महामारीविरुद्ध लडाईँको नेतृत्व गरिरहनुभएको छ । तपाईँ कति आवश्यक हुनुहुन्छ, हामीलाई राम्रो थाहा छ– तपाईँ अपरिहार्य हुनुहुन्छ ।
यो वर्ष २०२०, तपाईँ भौतिकरूपमा हामीसँग नभएको चार वर्षपछि शत्रुले चुनौती दिँदा, लडाइँहरू लड्दा, हरेक काममा तपाईँको उपस्थितिलाई बुझेका, हरेक प्रयास र सङ्घर्षमा तपाईँलाई देखेका÷महसुस गरेका, हरेक मोर्चामा, हरेक जीतमा र हरेक कठिनाइहरूको सामनामा जनता एकढिक्का भएका छन् ।
महामारीका कारण मानवता जोखिममा परेको बेला तपाईँले दक्ष बनाउनु भएका दसौँ हजारमध्येको एक जना डाक्टर वा नर्स आज माहामारीको रातो क्षेत्र र अस्पतालमा महामारीविरुद्ध लडिरहेको देख्दा तपाईँलाई कति गर्वको महसुस होला म कल्पना गर्न सक्छु । कोभिड–१९ महामारीसँग लड्दा लड्दै अन्य देशहरूमा ज्यान गुमाएका क्युवालीहरूले तपाईँले धेरै पटक दोहो¥याउनुभएको भनाइलाई यथार्थ बनाएका छन् – “हामी आफूले त्यागेका कुरा अरूलाई दिदैनौँ, आफूसँग भएका कुरा अरूसँग बाँड्छौँ ।”
तपाईँ “फिनले भ्याक्सिन इन्स्टिच्युट” मा कतिको आउनुहुन्छ ? त्यहाँ तपाईँको शिक्षा र मार्गदर्शनलाई पछ्याउँदै क्युवाको लागि मात्र नभइ सारा संसार र गरिब देशहरूको लागि कोभिड – १९ महामारीविरुद्धको भ्याक्सिन उपलब्ध गराउने उद्देश्यले ‘सोभरेन ०१’ र ‘सोभरेन ०२’ नामक ‘उम्मेदवार भ्याक्सिन’ हरूको विकास भइरहेको छ ।
तपाईँले ‘एक्जाम्प्लरी जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी केन्द्र’मा कति पटक भ्रमण गर्नुभयो र हाम्रो जन्मभूमिको विकासमा विज्ञानको भूमिकाबारे श्रमिक, डाक्टर र वैज्ञानिकहरूसँग छलफल गर्नुभयो ?
वैज्ञानिक ध्रुवमा अवस्थित प्रत्येक संस्थाभित्र तपाईँलाई स्मरण गरिन्छ । ती संस्थाहरूमा कार्य गर्दा धेरैले तपाईँसँग हात मिलाएका छन् । तपाईँका जिज्ञासा र प्रश्नहरूको समाधान गरेका छन् । तपाईँले राख्नुभएको चुनौतीलाई स्वीकार गरी समय र गुणस्तरभित्र आवश्यक काम गरिरहेका छन् ।
जब ‘हेनरी रिभ मेडिकल बिग्रेड’का हजारौँ सदस्यहरू महामारीसँग लड्न परिवारसँग बिदा लिन्छन् र विजयी भएर फर्कन्छन्, मलाई विदेशी भूमिमा ऐक्यबद्धता जनाउन जाने पहिलो स्वास्थ्य टोलीको सम्झना हुन्छ ।
आज सबैभन्दा बढी तपाईँका विचारहरू आवश्यकता देखिएका छन् र अगाडि आएका छन् । तपाईँले स्वास्थ्य टोलीको गठनको बेला व्यक्त गर्नु भएअनुसार– “हामीले देखाएका छौँ कि मानव जाति राम्रो बन्न सक्छ र राम्रो बन्नैपर्छ । हामी मानवीय मूल्य र नैतिकताको प्रदर्शन गर्छौँ । हामी जीवन प्रदान गछौँ ।”
मलाई सम्झना छ, २००१ को मे महिना म तपाईँको अल्जेरिया भ्रमणको बेला एउटा पत्रकारको रूपमा सहभागी भएको थिएँ । त्यहाँका नेतार विभिन्न पेशाकर्मीहरूसँगको भेटघाटमा उनीहरूले क्युवाली स्वास्थ्य टोलीप्रति कृतज्ञता र उच्च सम्मान व्यक्त गरेका थिए । त्यसको केही महिनापछि नै अल्जेरियाले स्वतन्त्रता प्राप्त गरेको थियो ।
१९६३ मे २४ मा ५८ जनाको एउटा स्वास्थ्य टोली अल्जेरिया पुगेको थियो । टोलीमा ३२ जना चिकित्सक, ४ जना दन्तरोग विशेषज्ञ, १४ जना नर्स र ८ जना प्राविधिकहरू थिए । टोलीले १८ महिना बढी अल्जेरियाको विभिन्न भागहरूमा सेवा गरे ।
न म बिर्सिन सक्छु त्यो ‘बार्बाडोस’ टापुलाई, २००५ को डिसेम्बर महिनामा तपाईँले क्युवा–क्यारिकोम शिखर सम्मेलनमा क्यारिबियन नेताहरूको अगाडि भाषण गर्नुभयो र साना देशहरूको विचार र दृष्टिकोणलाई जोगाउने ‘अपरेसन मिराकल’लाई अघि सार्नुभयो । सेन्ट भिन्सेन्टका प्रधानमन्त्री राल्फ गोन्सालभेस र ग्रेनाडिनेसजस्ता नेताहरूले तपाईँलाई उत्साहित बनाएका थिए । उनीहरूले गहभरि आँसु पारेर संसारमा सबैभन्दा खाँचो परेका देशहरूमा क्युवाको ऐक्यबद्धताको लागि धन्यवाद भनेका थिए ।
आज जब तपार्इँ भौतिकरूपमा हामीबीच उपस्थित हुनुहुन्न, असाधारण परिमाणका महान् मानव कार्यमा निरन्तर दैनिक सन्दर्भ र उदाहरणको स्रोत हुनुहुन्छ ।
अतः क्यारिवियन क्षेत्रभरि तपाईँलाई सम्झना र सम्मान गरिएको हो । अफ्रिकी देशहरू, भियतनाम, ल्याटिन अमेरिकी देशहरू जहाँ क्युवाको ऐक्यवद्धता, क्युवाली स्वास्थ्य टोलीले सेवा र विभिन्न शैक्षिक मिसनहरूलगायतका विभिन्न कार्यक्रममार्फत लाखौँ मानिसको जीवन बचायो , बिरामीहरूको सेवा ग¥यो र लाखौँ लाख मानिसहरूलाई लेखपढ गर्न सिकायो ।
यस वर्ष अर्को लडाइँ पनि भयो, तीमध्ये एक जसमा तपाईँले हरेक पटक नेतृत्व गर्नुभयो । त्यो हो “एटा” नामक आँधीविरुद्धको लडाइँ । यो उष्ण प्रदेशीय विनासकारी आँधीले कृषि, आवास, विद्यालय र अन्य संस्थाहरूमा ठूलो क्षति पु¥यायो । १९६३ अक्टोबर ३ मा “फ्लोरा” नामक आँधीले ल्याएको ठूलो बाढी नियन्त्रणको लागि हामीले गरेको कार्य स्मरणीय छ । त्यसको लागि मुख्यतः हामीले लस तुनास, होलगुइन, ग्रान्मा र क्यामग्युय प्रान्तका क्षेत्रहरूमा काम गरेका थियौँ ।
यदि हाम्रो टापुमा बाँधहरू, नहरहरू, विभिन्न आकारका जलाशयहरू नभएको भए के हुन्थ्यो होला जसले मानवीय प्रयोग र कृषिको लागि आवश्यक पानी सञ्चय गर्दछ, सबैभन्दा महत्वपूर्ण बाढी नियन्त्रण गर्दछ, नदीको बहाव नियन्त्रण गर्दछ र मानव जीवन रक्षाका साथै बालीनाली नष्ट हुनबाट जोगाउँछ ।
विगतका वर्षहरूमा जस्तै यो वर्षको लडाइँमा हामीले एउटा अनिवार्य सन्दर्भ स्रोत र अनुकरणीय उदाहरणको रूपमा तपाईँलाई पाएका छौँ, फिडेल । तपाईँलाई हामीले एउटा सिकाइको रूपमा पाइरहेका छौँ– क्युवाको कुनाकाप्चामा रहेका क्युवाली जनताको सुखद वर्तमान र सुनौलो भविष्य बनाउने पाठको सिकाइ ।
हामी तपाईँलाई विश्वास दिलाउन सक्छौँ कि तपाईँ हुनुहुन्छ, कमान्डर, तपाईँले सुुरु गर्नुभएको क्रान्तिलाई हामीले निरन्तर अगाडि बढाउनेछौँ ।
अनुवाद: आक्रोश
(स्रोत– ग्रान्मा डट सियू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *