करको भारी बोकाएर जनता चुस्ने काम !
- श्रावण ४, २०८३
अहिलेको सरकार दलाल पुँजीपतिको सरकार हो । यो सरकारले दलाल पुँजीपतिको लागि सह्य हुने काममात्र गर्छ । यो भनाइ नेकपाका बुद्धिजीवी भन्ने लेखक प्रदीप नेपालको हो । नेकपा सच्चा कम्युनिस्ट पार्टी होइन भन्ने कुरा अन्य कम्युनिस्ट दलले सुरूदेखि भन्दै आएका हुन् । अरूको भनाइलाई नेकपाकै एक जिम्मेवार नेता प्रदीप नेपालले मङ्सिर ११ गते गोरखापत्रमा प्रकाशित ‘नेपाली समाजवादको सपना’ शीर्षकको लेखमा उल्लेख गरे । उनले नेकपालाई काङ्ग्रेससँग दाँजे र भने, “नेपालमा अब काङ्ग्रेस र कम्युनिस्ट बीचमा कुनै भेद छैन ।” यहाँ कम्युनिस्ट भनेर सत्तारुढ दल नेकपालाई भनिएको हो । यदि यो भनाइ अरू कम्युनिस्ट दलप्रति पनि इङ्गित गरिएको हो भने उनको ठम्याइ या धारणा गलत छ भन्ने कुरा बुझ्नुपर्छ । अरू कम्युनिस्ट पार्टीलाई सत्तारुढ दल नेकपासित दाँजेर मिल्दैन । नेकपा र अन्य कम्युनिस्ट पार्टीको कार्यशैली, गतिविधि र नेताहरूको भनाइमा निकै फरक पाइन्छ ।
नेमकिपाले पूर्वएमालेलाई उहिले नै भाइ–काङ्ग्रेस भनेको थियो । एमालेले गरिरहेको राजनीति, गतिविधि र कार्यशैलीको आधारमा नेमकिपाले उक्त दाबी गरेको हो । नेमकिपाको उहिलेको त्यो दाबीलाई आज नेकपाकै नेताहरूले पुष्टि गर्दै छन् । पुँजीपति वर्गको सरकारले गर्ने काम पुँजीपति वर्गको हितकै लागि हुन्छ । पुँजीपति वर्गलाई नोक्सान हुने, अप्ठेरो पर्ने काम नेकपाको सरकारले गर्नेछैन । त्यो नेकपाको वर्गीय चरित्र नै हो । नेकपाको सरकारले देशका शोषितपीडित तथा श्रमजीवी वर्गको हितमा काम नगर्नुको कारण नेकपा सच्चा कम्युनिस्ट पार्टी नभएकोले हो । नेकपाकै केही नेताहरू अहिलेको समय पुँजीवादी युगमा भर्खर प्रवेश गरेको या पुँजीवादी समाजमा परिणत नभएको हुँदा समाजवाद स्थापनाको कुरा गर्न नहुने तर्क राख्छन् । पुँजीवादी युग भर्खर सुरू भएको हुँदा कम्युनिस्ट गतिविधि गर्न नहुने या पुँजीवादको विकास गरेर पुँजीपति वर्गलाई पृष्ठपोषण गर्न पुँजीपति वर्गकै हित गर्नुपर्छ भन्ने उनीहरूको चिन्तन पनि पुँजीपति वर्गकै पक्षमा रहेको स्पष्ट हुन्छ ।
नेपाल पुँजीवादी समाजमा रुपान्तरण नभएसम्म कम्युनिस्ट गतिविधि गर्न नहुने कुरा सही होइन । कम्युनिस्ट पार्टीले पुँजीपति वर्गलाई बलियो बनाउने, पुँजीपति वर्गको हितमा काम गर्ने कुरा होइन । अहिलेको समाज सामन्ती संस्कारमै घुमिरहे पनि पुँजीवादी युगमा भर्खर प्रवेश गरे पनि कम्युनिस्ट आन्दोलन भइरहनुपर्छ, कम्युनिस्ट पार्टीको गतिविधि भइरहनुपर्छ । श्रमजीवी जनतामा कम्युनिस्टप्रति सहानुभूति जगाउन कम्युनिस्टको सिद्धान्त र विचारबाट भिजाएर एकत्रिट र सङ्गठित बनाउने काम गरिरहनुपर्छ । समाजवाद र पुँजीवाद या कम्युनिस्ट र पुँजीपति वर्गको भेदबारे स्पष्ट पार्नुपर्छ । पुँजीवादी समाजको विकास भएपछि मात्र समाजवादको कुरा गरेर समाजवादी गणतन्त्र स्थापनाको कुरा गर्दा कम्युनिस्टहरू धेरै पछि पर्नेछन्, त्यतिञ्जेल समाजवादी क्रान्ति गर्न ढिलाइ हुनेछ । हरेक कम्युनिस्ट पार्टीले अहिलेदेखि नै समाजवादी क्रान्ति गर्नुपर्ने खाँचोबारे जनतालाई बताउनुपर्छ । यो प्रत्येक कम्युनिस्ट पार्टीको कर्तव्य हो, जिम्मेवारी हो । नेकपा पनि सच्चिएर या सच्चा कम्युनिस्ट भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।
Leave a Reply