भर्खरै :

फ्रेडरिक एङ्गेल्सका रचनाहरूबाट सिकौँ !

माक्र्सवाद कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको शिक्षा हो । उहाँहरू दुईजना मिलेर तयार गर्नुभएको कम्युनिस्ट लीगले दिएको ‘कम्युनिस्ट घोषणापत्र’ को सेरोफेरोका साहित्यले संसारलाई वर्गीय मुक्तिको बाटो देखायो । मानव समाजको विकास, वर्ग र वर्गीय राज्य व्यवस्था, समुच्च मानव समाजमा अर्थतन्त्रले खेल्ने भूमिकाबारे उहाँहरूले विश्लेषण गर्नुभयो । दास युग, सामन्तवादी र पुँजीवादी समाजको अन्तरविरोधबाट विजयी वर्गहरू अन्ततः सर्वहारावर्गको नेतृत्वमा समाजवाद हुँदै साम्यवादमा सङ्क्रमणले वर्गविहीन, शोषणविहीन र राज्यविहीन एउटा फरक संसारमा समाजको पदार्पण हुनेछ ।
त्यस सुदूर क्षितिजमा पुग्ने वैज्ञानिक चिन्तनलाई मनन गर्न एङ्गेल्सका केही महत्वपूर्ण रचनाहरूबाट पाठक साथीहरूलाई सहयोग पुग्ने विषय एङ्गेल्सको २०० औँ जन्म दिवस कार्यक्रमको एक छलफलमा वक्ता साथीहरूले औँल्याए । कार्यक्रममा ‘समाजवाद ः काल्पनिक वा वैज्ञानिक’, ‘कार्ल माक्र्सको समाधीमा फ्रेडरिक एङ्गेल्सको भाषण’, ‘फ्रान्स र जर्मनीका किसानहरूको प्रश्न’ आदि रचनाहरूको अध्ययनले माक्र्सवादबारे बुझ्न नयाँ साथीहरूलाई सहयोग पुग्ने सल्लाह दिइएको थियो ।
किसान समस्याको समाधानको क्रममा सन् १९१७ को रुसी अक्टोबर क्रान्तिपछिको सहकारी, सामूहिक खेती, कृषि उत्पादनको निम्ति राजकीय कृषि तथा चिनियाँ क्रान्तिकै सिलसिलामा लागु गरिएको क्रान्तिकारी भूमि सुधार, परस्पर सहयोग दल, प्राथमिक सहकारी संस्था, अगाडि बढेको सहकारी संस्था र जनकम्युनसम्म गएर किसान समस्या समाधानका अनेक चरण एवम् उपलब्धिहरू प्राप्त भए ।
तर, भारतजस्तो किसान बाहुल्य समाजमा आजसम्मका केन्द्रीय सरकारहरूले किसान समस्या समाधान गर्न नसक्नु आफै एक विडम्बना हो । यसबाट थाहा हुन्छ, प्रतिगामी सरकारहरूले कुनै पनि देशको किसान समस्या समाधान गर्न सकेका छैनन् र सक्दैनन् पनि ।
भारतमा पहिले पनि किसान आन्दोलनहरू भएका थिए र आज पनि किसान र मजदुर आन्दोलन हुँदै छ । तर, भारतका ‘राष्ट्रिय’ भनिने प्रचारमाध्यमहरूले त्यसको उचित प्रचार एवम् प्रस्तुति गरेका छैनन्, यसलाई पनि वर्गसङ्घर्षको एक दृश्यको रूपमा लिइन्छ । तर, हिजोआज भारतका मजदुर र किसानहरूको बारेमा समाचार नदिँदैमा वा आन्दोलनको पक्षमा ‘राष्ट्रिय’ समाचारमाध्यमहरूले सहयोग नगर्दैमा इतिहासको पाङ्ग्रा रोकिने छैन, बरु पुनः पुनः तेलङ्गना किसान आन्दोलन (सन् १९४७–५२) दोहरिइरहनेछ ।
समाजवादको उपलब्धि र पुँजीवाद
कोभिड–१९ को महामारीले संसारभरका जनतालाई दुःख दियो, करोडौँले सङ्क्रमणको पीडा भोगे र लाखौँ मानिसको मृत्यु भयो । आश्चर्य छ, संरा अमेरिका र युरोपजस्ता विकसित देशहरूमा समेत कोभिड–१९ ले हाहाकार मच्चायो । तर, चीन, प्रजग कोरिया, भियतनाम, क्युवाजस्ता देशहरू तथा मजदुर र किसान जनतामा समर्पित नगर, गाउँ र क्षेत्रहरूमा पुँजीवादी देशहरूमा भन्दा पीडित जनताको ‘निःस्वार्थरूपले’ स्वास्थ्य सेवाको प्रदर्शन भयो ।
यसको प्राथमिक कारण हो– पुँजीवाद निजी लाभलाई प्राथमिकता दिने समाज हो र निजी अस्पतालहरू जनतालाई स्वास्थ्य सेवा सस्तोमा दिन तयार भएनन् । अस्पतालहरू चहार्दाचहार्दै र पैसा खोज्दै गर्दा हजारौँहजार सङ्क्रमित रोगीहरू मरे ।
पुँजीवादी व्यवस्था रहेसम्म रोग, भोक, लुट, भ्रष्टाचार, हत्या र हिंसा भइरहन्छ । त्यसको ठीक उल्टो, समाजवादी देश चीनले कोभिड–१९ लाई नियन्त्रण गर्दै छ । संसारमा सबभन्दा बढी विद्युत् उत्पादन गर्दै विश्व जलवायु प्रदूषण हटाउन सहयोग गर्दै छ र चीन कृषि प्रविधिको प्याटेन्टमा सबभन्दा अगाडि बढ्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *