भर्खरै :

कोभिड–१९ का कारण महिलाविरुद्धको लैङ्गिक हिंसा बढ्यो: राष्ट्र सङ्घ

न्यूयोक, १६ मङ्सिर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले सोमबार बताएका छन् ।
कोभिड–१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसङ्घीय लागुऔषध तथा अपराधबारे अनुसन्धान गर्ने राष्ट्रसङ्घीय कार्यालयको अध्ययनले देखाएको छ, संस्थाका कार्यकारी निर्देशक घाडा वालाईले बताउनुभयो ।
संस्थाको प्रत्यक्ष भिडियो सम्मेलनमार्फत महिला र बालबालिकाविरुद्धको प्रतिबद्धता नामक एक कार्यक्रममा उहाँले भन्नुभयो, “महामारीका कारण आपराधिक मुद्दाविरुद्धका गतिविधि अवरुद्ध बनेको र पीडितलाई हुने सहयोगमा कमी भएको कारण महिला तथा बालबालिकाविरुद्धको लैङ्गिक हिंसाका घटना बढेको पाइएको छ ।”
महामारी पहिले पनि महिला तथा बालिकाविरुद्ध विभिन्न खालका हिंसा हुनुपरेको स्मरण गर्दै उहाँले महामारीपछि यसमा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको निर्देशन बालाईले भन्नुभयो ।
कोभिड–१९ महामारीका समय लकडाउन र अन्य उपायहरूका कारण लैङ्गिक हिंसामा प्रचुर मात्रामा प्रभाव परेको यूएनओडीसीले जनाएको छ ।
राष्ट्रसङ्घीय महिला कार्यकारी निर्देशक फुम्जिले एमलाम्बोएनगुकाले सङ्क्रमणमा परी जीवन जोगाउन सफल अधिकांश (करिब ८० प्रतिशत) महिलाले यौनहिंसाको शिकार बन्नुपरेको बताउनुभयो ।
सामाजिक तथा आर्थिक अवस्थाका कारण पनि उनीहरूले ती अपराधको सामना गर्नुपरेको तर महामारीको समयमा उनीहरूमा सामाजिक तथा आर्थिक असर अझ जटिल बनेको एमलाम्बोएनगुकाले बताउनुभयो ।
कोभिड–१९ का कारण थप ७० लाख महिला तथा किशोरीहरूमा जटिल खालको गरिबीतर्फ धकेलेको र महिला तथा बालबालिका बेचबिखन मौलाएको उहाँको दावी थियो ।
अप्रिलमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेर्रेसले विश्वव्यापी घरेलु हिंसा ‘रोक्न’ महिलाको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्नुपरेको थियो ।
अहिलेसम्म झन्डै १५० राष्ट्रले महासचिव गुटेर्रेसको आग्रहलाई सम्मान गर्दै सङ्क्रमित महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेको बताइएको छ । यसलाई यूएनओडीसी, राष्ट्रसङ्घीय महिला एकाइ र अन्य सहयोगीले पनि पालना गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *