भर्खरै :

अर्को हप्ताबाट बेलायतमा कोरोनाको खोप, जापानमा निःशुल्क

लन्डन, १७ मङ्सिर । बेलायतमा अर्काे हप्तादेखि कोभिड १९ भाइरसविरूद्धको खोप वितरण हुने भएको छ । पिफाइजर–बायो एनटेक औषधि इमर्जेन्सी प्रयोगको लागि बेलायतको औषधि व्यवस्थासम्बन्धी निकायले अनुमति दिएको हो ।
बेलायत कोभिडको विरूद्धको खोप प्रयोगमा ल्याउने विश्वकै सबैभन्दा पहिलो देश भएको छ ।
बेलायतको औषधि व्यवस्था विभागले यो खोपको प्रयोग गर्नसक्ने गरी व्यवस्था गरेको हो । यो खोप विश्वका विभिन्न देशहरूमा लगेर तेस्रो चरणसम्मको परीक्षण गरिएको थियो । सो परीक्षण पास भएपछि यो खोपलाई सार्वजनिकरूपमा प्रयोगका लागि अनुमति दिइएको बताइएको छ ।
आगामी केही दिनमा यो खोप बेलायतमा आउने र सन् २०२१ मा उक्त कम्पनीले बेलायतका लागि आवश्यकताअनुसारको मात्रा नै उत्पादन गर्ने जनाएको छ ।
उता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ट्वीटरमार्फत बेलायतले यो खोपको निर्माण गर्दा निकै खुसी लागेको बताए । उनले यो महत्वपूर्ण कार्यले गर्दा अब बेलायतका मात्र नभएर संसारका मानिसको ज्यान बच्ने बताए । यसबाट बेलायतलाई नागरिकको ज्यान बाँच्नेमात्र नभएर बेलायतको आर्थिक सुधारका लागि पनि सहयोग पुग्ने बताए ।
तर युरोपेली युनियनको खोप नियमनकारी निकायले पीफाइजर बायोएनटेक कम्पनीको कोभिड–१९ विरोधी खोप प्रयोग गर्ने बेलायतको निर्णय हतारको निर्णय हुने बताएको छ ।
युरोपेली युनियनको नियमनकारी निकाय ईएमएले खोप अनुमोदनको लागि आफूले अवलम्बन गरेको लामो प्रक्रिया सही भएको र बेलायतले हतारमा प्रक्रिया पूरा नगरी खोप प्रयोग गर्न नहुने आशयको वक्तव्य जारी गरेको छ । ईएमएले आगामी डिसेम्बर २९ मा बेलायतको पीफाइजर कम्पनी र उसको जर्मन साझेदार बायोएनटेक कम्पनीले बनाएको खोपलाई औपचारिकरूपमा उपयुक्त हुने नहुने घोषणा गर्ने बताएको छ ।
जापानमा कोरोनाको खोप निःशुल्क
जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरूद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।
दैनिकरूपमा कोरोना भाइरसबाट सङ्क्रमितहरू भेटिइरहेका बेला जापानको संसद्ले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरूद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट पारित गरिएको छ ।
सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।
त्यसैगरी १२ करोड मानिसलाई पुग्ने गरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन् ।
फाइजर र मोडर्नाले कोरोनाविरूद्धको खोप आपत्कालीन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परीक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।
जापानका प्रधानमन्त्रीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसद्बाट यस्तो कानुन पारित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *