भर्खरै :

अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधलीको प्रमाण भेटिएन: महान्यायाधिवक्ता

वासिङ्टन, १७ मङ्सिर (एएफपी) । अमेरिकी महान्यायाधिवक्ता बिल बारले राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने रिपब्लीकन पार्टीको दाबीलाई अस्वीकार गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पका अति निकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाइ सार्वजनिक भएसँगै राष्ट्रपतीय निर्वाचन परिणाम उल्ट्याउने योजना लगभग समाप्त भएको छ ।
महान्यायाधिवक्ता बारको टिप्पणीले अमेरिकी गृह मन्त्रालय, अमेरिकी गुप्तचर निकाय तथा स्वतन्त्र चुनावी पर्यवेक्षकले यसअघि नै सार्वजनिक गरेका विवरणलाई सही ठह¥याएको छ । यसअघि नै ती निकायले सन् २०२० को राष्ट्रपति निर्वाचन अमेरिकी इतिहासमै सर्वाधिक सुरक्षित रहेको भन्दै चुनावमा धाँधली नभएको बताएका थिए ।
एसोसिएटेड प्रेससँग कुरा गर्दै महान्यायाधिवक्ता बारले “अहिलेको मितिसम्म हामीले चुनावी परिणामलाई नै असर पार्ने किसिमले चुनावमा धाँधली भएको कुनै प्रमाण भेटका छैनौँ” भन्नुभयो ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि मिचिगन, पेन्सिल्भेनिया र जर्जियाजस्ता राज्यमा व्यापक धाँधली भएको आरोप लगाउँदै लगातार ट्वीट र अन्तर्वार्ता दिइरहनु भएको छ । तर उहाँको दाबीमा कुनै ठोस प्रमाण भेटिएका छैनन् ।
मङ्गलबार बिहान पनि राष्ट्रपति ट्रम्पले गर्नु भएको ट्वीटमा मिचिगनको चुनावी नतिजाका बारेमा सार्वजनिक सुनुवाइ गर्न आफू तयार रहेको बताउनुभएको थियो । यस राज्यले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन विजयी भएको भन्दै प्रमाणपत्र दिइसकेको छ ।
राष्ट्रपति ट्रम्पका तर्फबाट दायर भएका निवेदनहरूलाई राज्यका सर्वोच्च अदालतहरूले पर्याप्त प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् ।
औपचारिक मतगणनामा ट्रम्पको भन्दा बाइडेनले ६२ लाख बढी मत प्राप्त गर्नुभएको छ । बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ भने ट्रम्पले २३२ इलेक्टोरल मत मात्र पाउनुभएको छ । अमेरिकी राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।
आगामी डिसेम्बर १४ मा हुने इलेक्टोरल कलेज भेलाले औपचारिकरूपमा राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नेछ ।
महान्यायाधिवक्ता बारले सार्वजनिक गर्नुभएको धारणाप्रति राष्ट्रपति ट्रम्पले तत्कालै कुनै प्रतिक्रिया जनाउनुभएको छैन । तर, ट्रम्पका कानुनी सल्लाहकार रुडी जिलियानी र जेन्ना एलिसले संयुक्त वक्तव्य जारी गरी महान्यायाधिवक्ता बारको भनाइलाई खारेज गर्नुभएको छ ।
वक्तव्यमा उहाँहरूले कम्तीमा ६ वटा राज्यमा चुनावमा व्यापक धाँधली भएका पर्याप्त र ठोस प्रमाणहरू आफूहरूसँग रहेको दाबी गर्नुभएको छ ।
पछिल्ला केही दिनदेखि महान्यायाधिवक्ता बारले चुनावी परिणामलाई लिएर आफ्नो पक्षमा राय नदिएको भन्दै राष्ट्रपति ट्रम्प बारप्रति बेखुशी हुनुभएको समाचार आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *