भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– ११

शिक्षक आन्दोलन
सन् १९५४ को फेब्रुअरी महिना तनाव र चिन्ताको महिना थियो । समग्रतामा भन्नुपर्दा त सन् १९५४ धेरै थरी घटना भएको निकै व्यस्त वर्ष थियो । हरेक दिनजसो प्रदर्शन र आन्दोलनका गतिविधिहरू भएका थिए । ती दिनहरू आन्दोलनहरूले भरिएका थिए । तीमध्ये एउटा उल्लेखनीय आन्दोलन थियो– शिक्षकहरूको आन्दोलन । शिक्षक आन्दोलनको विस्तार समयान्तरमा १८ हजार जुझारु शिक्षक र सरकारबीचको प्रत्यक्ष मुठभेदमा बदलियो । शिक्षकहरूले उठाएका मुद्दा वास्तवमै जायज थिए । यदि हाम्रो नयाँ पुस्तालाई सक्षम र सक्रिय नागरिक बनाउने हो भने हामीले शिक्षक र शिक्षाकर्मीहरूलाई अधिकार सम्पन्न बनाउनै पर्छ भन्नेबारे मेरो बलियो मत छ ।
शिक्षक आन्दोलन आफैमा कोशेढुङ्गा थियो किनभने भारत स्वतन्त्र भए यता त्यो आन्दोलन शिक्षकहरूको पहिलो सङ्गठित आन्दोलन थियो । वास्तवमा शिक्षक आन्दोलनको मूल माग भनेको माध्यमिक बोर्डले गरेका सिफारिसको कार्यान्वयन गरोस् भन्ने थियो । आज आएर हेर्दा (यो मामिलामा त्यत्तिबेला पनि) उनीहरूका माग ज्यादै सरल खालका थिए । उनीहरूले महँगी भत्ता ३५ रुपैँया र प्रतिमहिना तलब ७३ रुपैँयादेखि १८० रुपैँया पु¥याइदिन माग गरेका थिए । ती दिनहरूमा पनि शिक्षकहरूको माग निकै थोरै थियो । यी दुवै माग पूरा गराउन उनीहरूले लगातार सङ्घर्ष गर्नुप¥यो ।
शिक्षकहरूले सडक सङ्घर्षलाई आफ्नो जायज आन्दोलनको अन्तिम विकल्पको रूपमा मात्र प्रयोग गरेका थिए । सुरुमा उनीहरूले आफ्ना समस्या संवादमार्फत नै समाधान गर्न चाहेका थिए । संवादको बाटो बन्द भएपछि उनीहरूले ज्ञापनपत्र बुझाए । त्यसमा पनि उनीहरू असफल भएपछि शिक्षकहरूले भेला र सभाहरू गर्न थाले । त्यहाँ पुग्दा पनि सरकारको बन्द कानमा केही बतास लागेन । पश्चिम बङ्गालका मुख्यमन्त्री बीसी रोयले शिक्षकहरूका प्रतिनिधिलाई भेट्न पनि मानेका थिएनन् । निकै मिहिनेतपछि मैले उनलाई शिक्षक प्रतिनिधिलाई कम्तीमा भेट्न र कुरा सुन्न मनाएँ । करबलले उनले शिक्षकका प्रतिनिधिलाई भेटे । तर, उनीहरू केही पनि निर्णय गर्न अग्रसर भएनन् । मनोरञ्जन सेन गुप्ता, सत्यप्रिया रोय र अनिला देवी (सबै पूर्व शिक्षक–शिक्षिकाहरू) ले अखिल बङ्गाल शिक्षक सङ्गठनले आयोजना गरेको एउटा बैठकमा फेब्रुअरी ९ सम्म शिक्षकहरूका माग पुरा नभए अनिश्चितकालीन हड्तालमा जाने घोषणा गरे । शिक्षकहरूले जुलुस प्रदर्शन, सभा, बैठक र धर्नाको आयोजना गरे । यस्ता गतिविधिले उनीहरूप्रति सर्वसाधारण जनताको सद्भाव र समर्थन पनि विस्तार भयो ।

दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलासँग ज्योति बसु


दुःखको कुरा, आन्दोलनरत शिक्षकहरूको राजभवनकै अघि विशाल प्रदर्शन गर्नुभन्दा अर्को कुनै विकल्प थिएन । राजभवनअघि प्रदर्शनमा उत्रेका शिक्षकहरू रातभर पनि त्यहीँ धर्नामा बसे । म पनि आन्दोलनरत शिक्षकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न त्यहाँ पुगेँ । उनीहरूको समर्थनमा मन्तव्य पनि दिएँ । तर, काङ्ग्रेस सरकारले भने यस्ता घटनाक्रमलाई थप सहन नसक्ने भन्दै आन्दोलनरत शिक्षकहरूमाथि दमनमा उत्रियो । शिक्षकहरूलाई पक्राउ गरियो, उनीहरूले डेरा जमाएर बसेका शिविरहरूलाई ध्वस्त बनाए । सरकारको आदेशमा प्रहरीले शिक्षकहरूमा अत्यन्त निर्दयी व्यवहार ग¥यो । फेबु्रअरी १५ को दिन राज्य सभाका सबै विपक्षी दलका सांसदहरू शिक्षकहरूमाथिको निर्मम दमनको विरोधमा सदनको नियमित गतिविधि बहिष्कार गरे । फेब्रुअरी १६ मा आन्दोलनरत शिक्षकहरूको प्रदर्शनमा हामी पनि सहभागी बन्ने हाम्रो कार्यक्रम थियो । त्यो दिन राज्य सभाको मूलद्वारमै धर्ना बस्ने कार्यक्रम थियो । सत्तारुढ दलको लागि यस्तो निर्णय असह्य भयो । उनीहरू उत्तेजित भए र शिक्षकविरुद्धको दमनलाई अझ सघन बनाए । शिक्षक आन्दोलनका नेताहरूलाई रातारात गिरफ्तार गरियो ।
संयोगले त्यो अविस्मरणीय दिनमा दक्षिण कोलकोत्तास्थित मेरो घरमा मेरो ससुरालीतिरबाट पाहुना आएका थिए । त्यहीबीच एक जना कमरेडले मेरो हिन्दुस्तात पार्कको घरमा प्रहरीले मलाई गिरफ्तार गर्न पक्राउ पुर्जी लिएर आएको सूचना दिए । मलाई फसाउन थपिएको जालमा म बल्लतल्ल जोगिएँ ¤ तथापि, शिक्षकमाथिको दमनका कुरा सुनेर मलाई निकै दुःख लाग्यो । झन्डै ४ सय जना शिक्षकहरूलाई बिहान सखारै पक्राउ गरिएको थियो ।
शिक्षक आन्दोलनमाथि सरकारी दमनको समाचार सुनेलगत्तै मैले आफू अगाडि नदेखिएर नै त्यो आन्दोलनलाई अझ बढी मद्दत गर्नसक्ने निष्कर्षमा पुगेँ । तत्कालै एउटा ट्याक्सीमा बसेर म मेरा मित्रको घरमा पुगेँ । मैले सरकारसमक्ष आत्मसमर्पण नगर्ने निधो गरेँ । बरु जसोतसो राज्य सभाको बैठकमा सहभागी बन्ने विचार गरेँ । मैले तत्कालै प्रान्तीय समितिका केही सदस्यहरूलाई सम्पर्क गरेँ । उनीहरू त्यत्तिबेला भूमिगत थिएनन् । प्रहरीको लामो हातबाट जोगिने रणनीति अवलम्बन गर्दै राज्यसभा बैठकमा पुगेँ । त्यो एक प्रकारले जोखिम नै थियो । तर, मलाई लाग्छ, जसले जोखिम उठाउन चाहँदैन उसले जीवनमा केही पनि हासिल गर्न सक्दैन ।
कुनै सनसनीपूर्ण दृश्यमा जस्तै त्यो दिन एक जना साथीको कारमा बसेर म राज्य सभामा पुगेँ । जसै म सदनमा पुगेँ, गिद्दे आँखा लिएर ठूलो सङ्ख्यामा प्रहरीहरू त्यहाँ तैनाथ रहेको मैले देखेँ । प्रवेशद्वार निकै कडा पहरा थियो । मैले मूलद्वारबाटै राज्यसभामा प्रवेश गर्ने आत्तिलो निर्णय लिएँ । अचम्मको कुरा, मलाई कसैले पनि भित्र प्रवेशमा रोक्ने हिम्मत गर्न सकेन । सदनभित्र परिचालित विशेष शाखामा मानिसहरूले मलाई देखेका थिए । सदन परिसरभित्र सांसद सदस्यलाई पक्राउ गर्नु वैधानिक हो वा होइन भन्ने विषयमा माथिल्लो नेताहरूबीच बहस भइरहँदा त्यहाँ एक प्रकारको अलमल भयो । मुख्यमन्त्रीले मेरोविरुद्ध कुनै कडा कदम नचाल्नु बुद्धिमानी हुने मत राखेछन् । म संसद परिसरबाट बाहिरिएसँगै पक्राउ गर्ने उनीहरूको योजना थियो । कस्तो अप्ठ्यारो अवस्था !
तथापि म कति पनि हरेस खाइनँ । प्रश्नोत्तर चरण सम्पन्न भएपछि मैले सभामुख साइला मुखर्जीसमक्ष आफ्नो आत्मसुरक्षाको अधिकारबारे ध्यानाकर्षण गरेँ । मैले उनलाई संसदभित्रै आफूलाई बस्न ठाउँको बन्दोबस्त गर्न माग गरेँ । पक्राउबाट जोगिनमात्र होइन बरु सभाको निर्वाचित सदस्यको नाताले जनता र आफ्नो क्षेत्रको हितमा काम गर्न संसद परिसरकै कुनै भवनमा आफूलाई बस्न अनुमति दिन मैले उनीसमक्ष माग गरेँ । सभामुखले मेरो पक्षमा निर्णय गरेँ । उनले संसदका कोही पनि सांसदजस्तै मलाई पनि आत्मसुरक्षाको अधिकार भएको बताए । मुख्यमन्त्री बीसी रोय सभामुखको आदेशप्रति असन्तुष्टि पोखे । मलाई सदन परिसरमै बस्ने बन्दोबस्त गर्ने सभामुखको निर्णयप्रति उनले आपत्ति जनाए । तत्कालै उनले महान्यायाधिवक्तासँग परामर्श गरी सल्लाह मागेको कुरा पछि मलाई थाहा भयो । महान्यायाधिवक्तालाई मसँग कुनै विशेष कानुनी उन्मुक्ति नभएको र सरकारले कुनै पनि बेला मलाई पक्राउ गर्नसक्ने राय दिए । तथापि, यस्तो अधिकार प्रयोग नगर्न मुख्यमन्त्री डा.रोयलाई सल्लाह दिए ।

प्यालेस्टाइनी नेता यास्सेर अराफतसँग ज्योति बसु


फेब्रुअरी १६ पछि म एक साता सदन परिसरमै बसेँ । त्यहाँको बसाइ मलाई घरमै गिरफ्तारीमा बसेको जस्तो लाग्यो । मेरा मित्र र परिवारका सदस्यहरूले मलाई खाना पु¥याउने बन्दोबस्त गरे । गुप्तचर र प्रहरीहरूले मेरा हरेक गतिविधिमाथि निगरानी गर्थे । प्रहरीको कडा दमनबीच पनि शिक्षक आन्दोलन भने अझ शक्तिशाली बन्दै गएको कुरा सुनेर म निकै खुसी भएँ । फेब्रुअरी १६ को साँझ ठूलो सङ्ख्यामा शिक्षकहरूको सहभागितामा निस्केको विशाल जुलुुस राज्य सभाको द्वारमा पुगेर धर्नामा परिणत भयो । प्रहरी रिसले चुर थिए । प्रदर्शनकारीहरू दबाउन प्रहरीले अश्रुग्यास र लाठी चार्जमात्र गरेनन्, निःशस्त्र भीड तितरवितर बनाउन गोलीसमेत चलाए । यो सबै नमिठो दृश्यको म प्रत्यक्षदर्शी थिएँ । प्रहरीको गोली लागेर ६ जना प्रदर्शनकारीहरू मारिए भने १५७ जना घाइते भए । फलतः आन्दोलनको आगो सहरभरि फैलियो । अर्को दिनको सदनको बैठकमा मैले सदनको बैठकमा गिरफ्तार गरिएका शिक्षकहरूको रिहाइ गर्न र विस्फोटक समस्याको शान्तिपूर्ण समाधानको माग गरेँ । फेब्रुअरी २१ मा १२ दिनको हड्तालपछि शिक्षक आन्दोलन सकियो । सबै गिरफ्तार शिक्षकहरूलाई रिहा गरियो । त्यसपछिका दिनमा सदनमा बजेटमाथि छलफल भए । अनि पार्टीले राज्यसभाको परिसरमा बस्न छोड्ने बेला भएको निर्णय ग¥यो । सदन परिसरमा अस्थायी रूपमा बस्ने मेरो मूल ध्येय पूरा भइसकेको थियो । तथापि मलाई गिरफ्तार गर्ने सम्भावना भने टरिसकेको थिएन । मेरा मित्र डा.नारायण रोयले सदन परिसरबाट लिएर रेड रोडतिर जाँदै थियौँ । त्यही क्रममा प्रहरीका गाडीले हामी यात्रा गरिरहेको कारको बाटो अवरोध ग¥यो । उनीहरूले पक्राउ पुर्जी देखाए । मलाई त्यसो हुनसक्ने आशङ्का भएकोले मलाई कुनै आश्चर्य लागेन । मलाई सीधै जेलमै लिएर गए । कुनै कानुनी प्रक्रिया पूरा गरिएन । अरू राजनीतिक कार्यकर्तासँगै मलाई पनि जेलमा एक साता थुनियो ।
नेपाली अनुवाद ः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *