भर्खरै :

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता सहायक सामग्री वितरण

भक्तपुर, १८ मङ्सिर । २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम बिहीबार ख्वप कलेज प्राङ्गणमा सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विल चेयर वितरण गर्दै अपाङ्गता भएका व्यक्तिको परिवारलाई सम्मान र सहयोग गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरूको सीप प्रस्फुटन गराउन उनीहरूमा लुकेको सीपलाई उजागर गरी फरक क्षमता भएको व्यक्तिको रूपमा हेर्नुपर्ने उल्लेख गर्दै आजको प्रविधिको युगमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिमैत्री सामग्रीहरू प्रयोग गरी समाजमा आपूmमा भएको कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।
कोभिड–१९ का कारण यस वर्ष नगरपालिकाले सार्वजनिक जमघटका विभिन्न भेला, सहकारी संस्थाको साधारणसभालगायतका कार्यहरूमा भीडभाड नगर्न अनुरोध गर्दै आइरहेको बताउँदै प्रमुख प्रजापतिले ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले उनीहरूको सुरक्षामा अझ बढी सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं अपाङ्गता भएका व्यक्तिहरूको परिचय वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले भक्तपुर नगरपालिकामा रातो कार्ड प्राप्त गर्ने ८९ जना पूर्ण अपाङ्ग, नीलो कार्ड प्राप्त गर्ने २३८ जना आंशिक अशक्त, पहेँलो कार्ड प्राप्त गर्ने १४३ जना र सेतो कार्ड प्राप्त गर्ने ३८ जना गरी ५०८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कार्ड वितरण गरेको बताउँदै नगरपालिकाले हरेक वर्ष शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै गत वर्ष रु.१५ लाख बजेट विनियोजन गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी नपाले निरन्तर कार्यक्रमहरू सञ्चालन गरिरहे बताउँदै अपाङ्गता भएका व्यक्ति र उनीहरूको परिवारलाई लक्षित गरी तालिम सञ्चालन गर्ने सोच रहेको बताउनुभयो ।
कोभिड–१९ का कारण नपाले वार्षिक कार्यक्रममा रहेका साङ्केतिक भाषालगायतका तालिमहरू सञ्चालन स्थगित गरिए पनि सहज परिस्थितिमा सो तालिम सञ्चालन गरिने उपप्रमुख जोशीले बताउनुभयो ।
वडा नं. १ का वडाध्यक्ष एवं समन्वय समितिका सदस्य श्यामकृष्ण खत्रीले सहायक सामग्री माग गर्ने ८९ जना अपाङ्गता भएका व्यक्तिहरूमध्ये ट्वाइलेट र ह्विल चेयर ७ जना, ह्विल चेयर १८ जना, वाकर ६ जना, सेतो छडी २ जना, कालो चस्मा १ जना, बैशाखी ४ जना, कान सुन्ने मेशिन २१ जना, हिट बेल्ट ३ जना एअर मेट्रेस ३ जना, लौरो ३ जना र अन्य सामग्री २१ जना रहेको जानकारी गराउनुभयो ।
समितिका संयोजक डा. रत्नसुन्दर लासिवाले अपाङ्गता भएका व्यक्तिका परिवारमा हेरचाह गर्ने व्यक्ति आर्थिकरूपमा कमजोर हुन गई खानपानका कारण स्वास्थ्यमा नकारात्मक असर पर्न जाने भएकोले अपाङ्गता जनस्वास्थ्य सरोकारको विषय हो भन्नुभयो ।
उहाँले अपाङ्गता समुदाय, जिल्ला र देशकै लागि समस्या भएकोले हरेक परिवारले गर्भावस्थादेखि नै नियमित स्वास्थ्य परीक्षण गराई अपाङ्गतासम्बन्धी समस्यालाई समाधान गर्न सकिने जानकारी दिँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले नगरबासीहरूलाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्मरण गराउनुुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य एवं समन्वय समितिका सदस्य रोशनमैंया सुवालले अपाङ्गता भएका व्यक्तिहरूको मागबमोजिमको कोभिड–१९ महामारीको कारण वितरण गर्न बाँकी अन्य सहायक सामग्रीहरू सम्बन्धित वडा कार्यालयहरूमार्पmत अपाङ्गता भएका व्यक्तिहरूको घरघरमा पु¥याइने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *