भर्खरै :

‘श्रमिक’ साप्ताहिकबारे गोष्ठी

भक्तपुर, १८ मङ्सिर । सर्वहारा वर्गका महान नेता फ्रेडरिक एङ्गेल्सको दुई सतवार्षिक दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक नगर समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
‘श्रमिक’ साप्ताहिकमा प्रकाशित विभिन्न लेखरचनाबारे छलफल गर्न बुधबार साँझ अनलाइनमा आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्सवाद सत्यको खोजी गर्ने काममा पथप्रदर्शन गर्ने सबभन्दा उन्नत सिद्धान्त हो भन्नुभयो । उहाँले राजनीतिक कार्यकर्ता पार्टीको सिद्धान्तबारे स्पष्ट हुनुपर्ने धारणा राख्दै कुनै व्यक्तिले अङ्गीकार गरेको सिद्धान्तअनुसार दृष्टिकोण राख्ने र दृष्टिकोणअनुसार व्यवहार देखिने बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले क्रान्ति समाजको वस्तुगत स्थितिअनुसार हुने हो, बरू क्रान्तिकारीहरूले त्यस परिवर्तनलाई छिटो पार्न सघाउन सक्छन् भन्दै क्रान्तिको निम्ति भित्री तथा बाह्य परिस्थिति अनुकूल हुनुपर्ने लेनिनको शिक्षा भएको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय परिस्थितिको साथै राष्ट्रिय परिस्थिति क्रान्तिको निम्ति अनुकूल हुनुपर्ने भन्दै क्रान्तिकारी सिद्धान्त बोकेको क्रान्तिकारी पार्टीले क्रान्तिलाई अगाडि बढाउने विचार राख्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले खोटो सिक्काले असली सिक्कालाई विस्थापित गरेजस्तै नक्कली कम्युनिस्ट पार्टीले क्रान्तिकारी परिवर्तनमा भाँजो हालेको धारणा राख्नुभयो । उहाँले विकासको नाममा विनास भइरहेको भन्दै जनताको समस्यामा सरकार उदासीन भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य महेन्द्र बखुन्छे, नेक्रायुसङ्घ सूनपाका श्यामकृष्ण खुलीमुली, उत्तम सेजवाल, विष्णुप्रसाद सुवाल, श्यामकृष्ण धुख्वालगायतले आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *