भर्खरै :

फ्रेडरिक एङ्गेल्स: जीवन र व्यक्तित्व

फ्रेडरिक एङ्गेल्स कामदारवर्गका गुरु एवम् नेता हुनुहुन्छ । उहाँ २८ नोभेम्बर १८२० को दिन पश्चिमी जर्मनीको बर्मेन उपत्यकाको उपरटाल सहरमा जन्मनुभएको थियो । उहाँको बुबा एउटा कपडा कारखानाको मालिक हुनुहुन्थ्यो । एङ्गेल्सले आफ्नो पढाइ उपरटालको एक पाठशालामा सुरु गर्नुभयो । उहाँको बुबा कडा मिजासको हुनुहुन्थ्यो । उहाँ बुबाको निगरानीमा हुर्किनुभयो ।
विद्यालयको अध्ययन पूरा नहुँदै एङ्गेल्सलाई उहाँको बुबाले उत्तरी जर्मनीको ब्रेमनमा व्यापारको निम्ति पठाउनुभयो । उहाँ आफ्नो बुबाको कारखानामा एक कर्मचारीको रूपमा काम गर्न बाध्य हुनुभयो । तर, फुर्सदको बेलामा उहाँले आफ्नो स्व–अध्ययनलाई निरन्तरता दिनुभयो । उहाँ इतिहास, दर्शनशास्त्र, विदेशी भाषा, साहित्य, भाषा विज्ञान आदि विषय मन लगाएर पढ्नुहुन्थ्यो ।
एङ्गेल्स युवा हेगेलवादीहरूको सङ्गतमा पर्नुभयो । उहाँ प्रगतिशील भावनाबाट प्रभावित हुनुहुन्थ्यो । सङ्गतकै कारण अन्धविश्वास र धर्मबाट उहाँ टाढिनुभयो । युवा एङ्गेल्समा कारखाना मालिकबाट कामदारमाथि हुने शोषणको विरोधको भावना जाग्यो । ‘युवा जर्मनी’ नामको युवाहरूको परिवर्तनवादी समूहले ‘जर्मनीको टेलिग्राम’ शीर्षकको एक प्रगतिशील पत्रिका निकाल्थ्यो । एङ्ल्गेल्सले पनि त्यस पत्रिकामा धर्मको नाममा मजदुरमाथि शोषण गर्ने मालिकको अत्याचारको विरोधमा लेख तथा ‘उपरटालबाट चिठी’ शीर्षकमा लेख्नुहुन्थ्यो । त्यसबेला, क्रान्तिकारी प्रजातन्त्रवादीको दृष्टिकोणको प्रचार भइरहेको थियो । यसकारण, त्यस पत्रिकामा उहाँले जनताको हितसम्बन्धी लेख तथा आलोचनात्मक साहित्य लेख्नुहुन्थ्यो ।
सन् १८४१ र १८४२ को बीचमा एङ्गेल्स २२ वर्षको उमेरमा प्रसियाको राजधानी बर्लिनमा पैदलसेनाको सेवामा स्वयम्सेवकको रूपमा भर्ना हुनुभयो । त्यस तालिमबाट उहाँले बर्लिनको विश्वविद्यालयमा समेत अध्ययन गर्ने अवसर पाउनुभयो । उहाँले विश्वविद्यालयका प्राध्यापकहरूको प्रवचन सुन्ने अवसरको कारण तत्कालीन जर्मनीका अनेक विषयमा जानकारी हासिल गर्नुभयो र फायरबाखको रचना ‘नागरिकताको आवश्यकता’को प्रभाव उहाँमा प¥यो । उहाँ फायरबाखको ‘क्राइस्टको दर्शन’ र तत्कालीन अवस्थामा चर्चित प्रतिक्रियावादी दार्शनिकहरूको ‘रहस्यवाद र दुरुहता’ को विरोध गर्दै अनिश्वरवाद एवम् नास्तिकताको भावना प्रवाह गर्नुहुन्थ्यो । पछि मात्र उहाँका पाठकहरूले लेखक एक माझिएको दार्शनिक होइन, प्रवेशिका पनि उत्तीर्ण नभएको युवा सैनिक स्वयम्सेवक भएको थाहा पाए ।
एङ्गेल्सको पल्टनको जीवन
सन् १८४१ मा एङ्गेल्स प्रशियाको अनिवार्य सैनिक सेवामा प्रवेश गर्नुभयो । ब्यारेकमा उहाँले अनुशासित जीवन बिताउनुहुन्थ्यो । उहाँको पोशाक नियमअनुसार चट्ट मिलेको हुन्थ्यो, पेटी र जुत्ता टल्केका हुन्थे । सैनिक विज्ञान, प्रारम्भिक दाउपेच, मोर्चाबन्दी, पुल निर्माण, खाडल खन्न, हरेक प्रकारका हात–हतियार चलाउन, सेनाको रसद–पानीको व्यवस्थापन गर्न, स्वास्थ्यको हेरचाह, उपचार र अस्पताल व्यवस्थापन आदि विषयमा पनि उहाँ गम्भीर हुनुहुन्थ्यो ।
एङ्गेल्स सन् १८४२ को अन्ततिर आफ्नो बुबाको बेलायतको मेनचेस्टरको कारखानामा काम गर्न जानुभयो । बेलायतमा दुई वर्ष बस्दा उहाँले त्यहाँको पुँजीवादी व्यवस्था, पुँजीपतिवर्गको हानथाप र आन्तरिक बेमेलहरू बुझ्नुभयो । बेलायतको राजनैतिक अर्थशास्त्र, बेलायती काल्पनिक समाजवादी रोवर्ट ओवेन र युरोपको सबभन्दा सशक्त मजदुरवर्गको मागपत्रको आन्दोलनबारे अध्ययन गर्नुभयो । त्यहाँका मजदुर आन्दोलनमा आफै सहभागी पनि हुनुभयो र मागपत्रका आन्दोलनका नेताहरूसँग पनि उहाँले भेटघाट गर्नुभयो । त्यसै अवधिमा उहाँले साम्यवाद, भौतिकवादी दार्शनिक फायरबाखको दर्शन, ओवेनको ‘नयाँ आदर्श विश्व’ र थोमस कार्लाइलको ‘बेलायतको स्थिति, भूत र वर्तमान’ पढ्नुभयो ।

एङ्गेल्सको माक्र्ससँगको पहिलो भेट
बेलायत जाने बेलामा एङ्गेल्स कोलोनमा पुग्नुभयो । त्यसबेला कार्ल माक्र्स ‘राइन समाचार’ मा काम गर्नुहुन्थ्यो । दुई महान् व्यक्तित्वहरूबीच पहिले भेट कोलोनमै भयो । ‘स्वतन्त्र’ बर्लिनबारे उहाँहरूको विचारमा एकरूपता थिएन । ‘राइन समाचार’ को निम्ति एङ्गेल्सले बेलायतको संवाददाताको रूपमा सहयोग गर्नुभयो । एङ्गेल्स ‘जर्मन–फ्रान्स वर्षपत्र’ र ‘स्वतन्त्र मानव’ पत्रिकामा लेखहरू लेख्नुहुन्थ्यो । माक्र्स स्पष्ट वक्ता, जालझेल नगर्ने तथा विचार लुकाउन जान्नु हुन्नथ्यो । दुवै जना हेगेल र फायरबाखबाट प्रभावित हुनुहुन्थ्यो । एउटै भेटमा सबै विषय र चिन्तन शैलीमा एकरूपता आउने र बुझ्ने कुरा भएन ।

एङ्गेल्सको व्यक्तित्व, भाषा र शैली
एङ्गेल्स पनि माक्र्स जस्तै हरेक विषयमा कलम चलाउनुहुन्थ्यो । लगभग दुवै एकै ढङ्गले सोच्नुहुन्थ्यो तर लेखनशैली भने भिन्न थियो । एङ्गेल्सको भाषा सा¥है सरल र भावपूर्ण हुन्थ्यो । क्लिष्टता उहाँ रुचाउनु हुन्नथ्यो । उहाँको लेखाइ सलल बग्ने खालको थियो ।
भाषाविद्
विभिन्न भाषा सम्बन्धमा माक्र्सभन्दा एङ्गेल्स बढी भाषामा दखल हुनुहुन्थ्यो । एङ्गेल्समा जर्मनी, फ्रान्सेली, अङ्ग्रेजी, रुसी, फारसी, अरबीलगायत लगभग १९ भाषाको ज्ञान थियो । उहाँ बीसवटा भाषा बोल्न सक्नुहुन्थ्यो । भाषामा दखल भएको हुनाले इन्टरनेसनल (अन्तर्राष्ट्रिय मजदुर सभा) का बैठकहरूमा उहाँमा धेरै जिम्मेवारी हुने गथ्र्यो ।
उहाँ भन्नुहुन्थ्यो– “हामीले कमसेकम ती जातिहरूको भाषा, इतिहास, सामाजिक संस्थाहरूको अध्ययन गर्नुपर्छ, जसबाट हामीलाई चाँडै काम आउनेछ ।” उहाँले तीन हप्ताभित्र फारसी भाषा सिक्नुभएको थियो । जर्मनिक प्राचीन नाडिक भाषामा उहाँ पहिले नै जानकारी राख्नुहुन्थ्यो । आयरल्यान्डको प्रश्नको बेलामा उहाँले आफ्नो ध्यान गैलिक भाषामा लगाउनुभएको थियो । १४ दिनभित्र उहाँले रुसी भाषाको व्याकरण राम्रो बनाउनुभयो र २–३ महिनाभित्र रुसी भाषा सिक्नुभयो ।
यस प्रकार उहाँ विभिन्न देश र जातिको भाषामा बडो गहिरो चाख र अध्ययन गर्नुहुन्थ्यो । यी सबै काम उहाँले सर्वहारावर्गकै भलाइको निम्ति गर्नुभएको थियो ।
मनपर्ने विषय
त्यसो त उहाँ अर्थशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, इतिहास, साहित्य, भाषा, विज्ञान, सैनिक विज्ञान आदि ज्ञान–विज्ञानका विभिन्न क्षेत्रको अध्ययन गर्नुुहुन्थ्यो । सैनिक विज्ञानमा उहाँको विशेष अभिरुचि थियो । उहाँले नेपियर, जोमिनी, क्लाउजेविज जस्ता अङ्गे्रजी, फ्रान्सेली र जर्मनीका ठूलठूला सैनिक इतिहासकारका विचारको गहिरो अध्ययन गर्नुभएको थियो ।
बेलायतको विषयमा
एङ्गेल्सले अङ्ग्रेजी साहित्यको विषयमा भन्नुभएको थियो, “फ्रान्सेली साहित्यको दाँजोमा अङ्गे्रजी साहित्य गरिब छ ।”
त्यसबेला शिक्षित अङ्गे्रजको विषयमा एङ्गेल्सले भन्नुभएको थियो, “त्यो (अङ्ग्रेज शिक्षित वर्ग) सारा संसारको अत्यन्त घृणित दास हो र धार्मिक दृष्टिले अन्धविश्वासी एवम् पक्षपाती छ । अङ्ग्रेज समाजमा खाली एउटै सुशिलवर्ग छ जसलाई युरोपमा मजदुर भन्दछन् । बेलायतमा अछूत मानिएको गरिबवर्ग छ । तिनीहरू जतिसुकै भूmत्रेझाम्रे र डरपोक किन नहोऊन् । बेलायतको मुक्तिको आशा तिनीहरूबाटै गर्न सकिन्छ । त्यो वर्ग अशिक्षित छ तर तिनीहरूमा पक्षपात छैन, उनीहरूलाई शिक्षित गर्न सकिन्छ । युरोपमा अहिले पनि एक ठूलो राष्ट्रिय आन्दोलन गर्न पुग्दो शक्ति छ, भविष्य उसकै हातमा छ ।”
रुसको विषयमा
एङ्गेल्स रुसको विषयमा खुबै ध्यान राख्नुहुन्थ्यो । त्यसबारे रुसी समाजवादी बाकुनिन (जो पछि माक्र्सवादविरोधी भए) रुसी किसानलाई जन्मजात कम्युनिस्ट सम्झन्थे र त्यहाँको प्राचीन सामूहिक खेती तुरुन्तै साम्यवादी सम्पत्तिमा परिणत गर्न सकिन्छ भन्ने कुरोमा विश्वास गर्थे । तर, उनको त्यो गलत दृष्टिकोणलाई खण्डन गर्न रुसी समाजको अध्ययन गर्न आवश्यक थियो । रुसी समाजको अध्ययन गर्न एङ्गेल्सले रुसी भाषा पढ्नुभएको थियो ।
बाकुनिनविरोधी भएर गइसकेपछि र माक्र्सको निधनपछि पनि रुसी सामाजिक–जनवादी नेताहरू एङ्गेल्ससँग अटुट सम्बन्ध राख्थे ।
सन् १८७८ – १८९५ मा एङ्गेल्सले लेख्नुभएको थियो, “रुसी क्रान्ति दैलोमा खडा छ ।” माक्र्स र एङ्गेल्स दुवैजना रुसमा पुँजीवादी–प्रजातन्त्र, त्यसमा पनि खास गरेर किसान क्रान्तिको सम्भावना देख्नुहुन्थ्यो ।
सम्भावित रुसी क्रान्तिको विषयमा उहाँले भन्नुभयो, “यस्तो परिवर्तनलाई युरोपका हरेक देशका मजदुरले सारा संसारको श्रमको मुक्तिको साझा उद्देश्यको निम्ति महान् अभियानको रूपमा खुशी साथ स्वागत गर्नुपर्छ ।” उहाँले रुसी क्रान्ति विश्व इतिहासको एक उदाहरणको बिन्दु हुनेछ भन्नुभयो । एङ्गेल्सले रुसको माथिल्लो वर्गले नेतृत्व दिन सक्दैन र उठिरहेको सर्वहारा वर्गलाई सहरी क्षेत्रका किसान आन्दोलनसँग एकाकार गरिएन भने किसान आन्दोलन खाली स्थानीय स्तरमा सीमित हुने र बेकार हुने विश्लेषण गर्नुभएको थियो । तर उहाँले रुसी सर्वहारा कमजोरै छ भन्ने कुरा बिर्सनुभएको थिएन ।
माक्र्सको भनाइमा एङ्गेल्स
“तिमी (एङ्गेल्स) पहिल्यै यति ज्ञान राख्छौ कि म त्यस तत्वमा बिस्तारै पुग्छु । खासमा म तिम्रो पद–चिन्हमा हिँड्छु ।” यो कुरो सत्य पनि हो । राजनैतिक अर्थशास्त्रबारे एङ्गेल्सले माक्र्सले भन्दा पहिल्यै अध्ययन गर्नुभएको थियो । सन् १८४४ फेब्रुअरी महिनामै एङ्गेल्सको ‘राजनैतिक अर्थशास्त्रको आलोचनात्मक रूपरेखा’ निस्किसकेको थियो । त्यो मजदुर वर्ग एवम् समाजवादी दृष्टिकोणमा पुँजीवादी राजनैतिक अर्थशास्त्रको विश्लेषण थियो ।
एङ्गेल्सको परिश्रमको विषयमा माक्र्स भन्नुहुन्थ्यो– “दिन–रात काम गर्न तयार, लेख्नमा तीखो र ‘राक्षस’ जस्तो सक्रिय ।” यो माक्र्सको एङ्गेल्ससँगको बीस वर्षको लामो मित्रताको अनुभवको सार थियो ।

माक्र्स


माक्र्स आफ्नो सबभन्दा ठूलो कसी एङ्गेल्सलाई मान्नुहुन्थ्यो । एङ्गेल्सको सल्लाह मान्न माक्र्स जहिले पनि तयार रहनुहुन्थ्यो । फ्रान्सेली अन्तर्राष्ट्रिय मजदुर नेता लाफार्जको भनाइअनुसार माक्र्स आफ्ना मित्र एङ्गेल्सको विषयमा सा¥है गौरव गर्नुहुन्थ्यो । उहाँ (माक्र्स) आफ्नो साथी (एङ्गेल्स) का सबै नैतिक र बौद्धिक गुणको सा¥है खुसी भएर बयान गर्नुहुन्थ्यो र मलाई एङ्गेल्ससँग परिचय गराउन मेनचेस्टरको खास यात्रा गर्नुभयो । एङ्गेल्सको ज्ञानको ठूलो गहिराइलाई उहाँ सा¥है प्रशंसा गर्नुहुन्थ्यो । तर, पनि एङ्गेल्स सदा आफूलाई माक्र्सको पछि नै राख्नुहुन्थ्यो । उहाँ आफैँ भन्नुहुन्थ्यो, “मैले सहायक भूमिका खेलेको थिएँ ।” रुसी क्रान्तिका महान् नेता लेनिनको शब्दमा हरेक मजदुर एङ्गेल्सको नाम र जीवनसँग परिचित हुनु आवश्यक छ । जसले मजदुर वर्गलाई आफूले आफैलाई चिनाउने र सचेत हुने शिक्षा दिनुभयो । उहाँ सपनाको ठाउँमा विज्ञानलाई कायम गर्नुभएको थियो ।
अन्तमा लेनिनले भन्नुभएको थियो – “सर्वहारा वर्गका महान् योद्धा र शिक्षक फ्रेडरिक एङ्गेल्सको स्मृति अमर रहोस् !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *