भर्खरै :

नेक्राविसङ्घ र नेपालको विद्यार्थी आन्दोलन

निरङ्कुश राणा शासनको विरोधमा सन् १९२६ मा गठित ‘नागरिक अधिकार समिति’ मा त्रिचन्द्र कलेजका छात्र गंगालाल पनि एक सक्रिय सदस्य थिए । उनको अभूतपूर्व त्यागको हामी प्रशंसा नगरी रहन सक्तैनौँ ।
शिक्षा र विज्ञान चेतनाका बत्ती हुन् । प्रतिक्रियावादीहरूले शिक्षा व्यवस्थालाई आफ्नो हितअनुकूल बनाउन शिक्षालय नखोल्नु कुनै आश्चर्यजनक कुरो थिएन । सामन्तको स्तुति र प्रार्थनाबाट जनताको चेतना विकास नहुने हुँदा नराम्रो शिक्षा व्यवस्थाको परिवर्तन खोज्नु सङ्घर्षशील न्यायप्रेमी विद्यार्थीको कर्तव्य हो । यही सिलसिलामा वि.सं. २००४ सालमा तीनधारा संस्कृत पाठशाला काठमाडौँका विद्यार्थीको ‘जयतुं संस्कृतम्’ आन्दोलनमा नेपाली विद्यार्थीले प्रथमपल्ट भाग लिए । क्रान्तिमा प्रतिक्रियावादीहरूलाई परास्त पार्न भाग लिनुमात्र होइन सङ्गठित हुनु पनि त्यतिकै आवश्यक छ । सङ्गठितरूपमा नेपालको विद्यार्थी इतिहासमा २००६ सालमा ‘नेपाल विद्यार्थी फेडरेसन’ भूमिगतरूपमा गठन भएको थियो । राणा काङ्ग्रेस गठनबन्धनद्वारा नेपाली जन–क्रान्तिको घाँटी निमोठेको कुख्यात ‘दिल्ली सम्झौता’ को विरोधमा २००८ कार्तिक २० गते काठमाडौँको भूगोल पार्कबाट निस्केको विशाल जुलुसमा हजारौँ देशभक्त विद्यार्थीले भाग लिए । तत्कालीन गृहमन्त्री बीपी कोइरालाको आदेशमा प्रहार भएको गोलीद्वारा विद्यार्थी चिनियाकाजीको हत्या भयो । सहिदको रगतले मुछिएको आफ्नो गौरवमय झन्डा फहराउँदै नेपाली विद्यार्थी एकपछि अर्को सङ्घर्षमा लागे । २००९ सालको ‘शिक्षा विधान’ आन्दोलन, २०१० सालको गण्डक सम्झौताविरोधी आन्दोलन, भारतसँगको सैनिक सन्धि, उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्ने आदि विस्तारवादी सन्धिविरोधी आन्दोलन विशेष उल्लेखनीय छ । हाम्रा पूर्वज विद्यार्थी नेता तथा कार्यकर्ताहरूको यही अनवरत सङ्घर्षको फलस्वरुप २०१० सालमा ने.वि.फे.ले पनि अन्तर्राष्ट्रिय विद्यार्थी युनियनको सदस्यता प्राप्त गर्ने अवसर पायो । यसपछि २०१३ सालमा कोसी सम्झौताको विरोधमा भएको आन्दोलन, डाल्डा घ्यू पैठारीको विरोधमा भएका प्रदर्शन र अन्य असमान सन्धिको विरोधमा भएको क्रियाकलापहरू सम्झनुपर्ने हुन्छ । नेपाल विद्यार्थी फेडरेसनको प्रथम अधिवेशन विभिन्न समस्याले गर्दा २०१८ सालमा भारतको मुजफरपुरमा सुसम्पन्न भयो ।
फेडरेसनअन्तर्गत हाम्रा वामपन्थी, प्रगतिशील, देशभक्तहरू विद्यार्थी हितलगायत अन्य सङ्घर्षहरूमा जुट्दै रहे । भारतीय विस्तारवादको पृृष्ठपोषक नेकाको ईसारामा चल्ने विद्यार्थीहरू यसबाट पहिले नै अलग्गिएका थिए । पछि सोभियत रूस सामाजिक साम्राज्यवादमा पतन भएपछि फेडरेसनभित्र पनि रूससँग सहमत हुने गलत विचारधाराविरुद्ध सङ्घर्ष भयो, त्यसपछि फेडरेसनले प्रभावकारीरूपमा गर्न सकेन । तर, हाम्रा प्रगतिशील साथीहरू देशको राजनैतिक, आर्थिक र सामाजिक अवस्थाबाट टाढिएर बसेनन् । २०२१ सालमा १८ कलेजका प्रतिनिधिहरूले भाग लिएको उपत्यकाव्यापी विद्यार्थीहरूको सम्मेलन सम्पन्न भयो । यसलाई अ.ने.रा.स्व.वि.यु. को सुरुआत मानिन्छ । २०२२ सालमा अ.न.रा.स्व.वि.यु. को प्रथम राष्ट्रिय सम्मेलन भयो । लगत्तै २०२५ साल जेठ ६ गते दोस्रो र २०२६ साल जेठ २० गते तेस्रो राष्ट्रिय सम्मेलन भयो । हुन त त्यसबेला पनि दोस्रो या तेस्रो सम्मेलन मान्ने कुरामा वादविवाद उत्पन्न भएको थियो । वादविवादको प्रमुख कारण २०२२ मा भएको सम्मेलन उपत्यकाव्यापी भएकोले प्रथम राष्ट्रिय सम्मेलन मान्ने या नमान्ने भन्ने थियो । तर, समयमै एउटा कमिटी गठन भई यसलाई प्रथम स्वीकारी २०२५ को दोस्रो र २०२६ को तेस्रो राष्ट्रिय सम्मेलन मान्ने तय भयो ।
त्यतिबेलासम्ममा अनेरास्ववियुभित्र कतिपय इमानदार साथीहरू भएर पनि गलत छद्मभेषी तत्वहरूले अनेरास्ववियुको गर्विलो इतिहासलाई ‘देउसीवादमा’ पतन गराए । यसको विरोधमा क्रान्तिकारी वामपन्थी विद्यार्थीहरूले प्रतिक्रियावादीहरूको त्यस कुटील चालको विरोधमा निरन्तर सङ्घर्ष गर्दै रहे । विद्यार्थीहरूको सङ्घर्षशील चरित्र मार्ने उद्देश्यले सक्रिय देउसीवादीहरूले विद्यार्थीहरूको बीच भाँजो हाल्ने काम भित्रभित्रै गर्नथाले । यस्तो गतिविधिसँग असन्तुष्ट सङ्घर्षशील विद्यार्थीहरूले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको निर्देशनमा भूमिगतरूपमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना गरे । यस सङ्घले स्थापनाकालदेखि नै अखिलभित्रको देउसीवादी, सामन्तवादी र साम्राज्यवादी चरित्रको विरुद्ध जुध्ने उद्देश्य राखेको हुँदा तिनीहरूको विरुद्ध ‘अखिल’ भित्रै रही निरन्तर सङ्घर्ष जारी राखे । यसले भूमिगतरूपमा सङ्घर्षशीलतालाई अघि बढाउँदै साम्राज्यवादीहरूको दलाली गर्दै ‘अखिल’ कै सदस्य बनी राख्नेहरूको विरुद्ध चर्को सङ्घर्ष जारी राख्यो । वामपन्थी विद्यार्थी आन्दोलनको इतिहासमा यी देउसीवादी अखिल र क्रान्तिकारी अखिलहरूको बीचको अन्तरविरोधको रूपमा लिइन्छ । यसपछि २०३२ सालमा भएको लामो विद्यार्थी सङ्घर्ष तथा हड्ताल विशेष उल्लेखनीय देखिन्छ । सङ्घर्षको दौरानमा कामेश्वर, कुशेश्वरजस्ता वीर विद्यार्थी सहिद भए । प्रतिक्रियावादी सरकारले उक्त २०३२ सालको सङ्घर्षलाई बिथोल्यो । विद्यार्थीका बीच आपसमा झैझगडा र फूट गराई विद्यार्थीका हक अधिकार छिनियो र ‘मण्डले’ को जगजगी बढ्न थाल्यो ।
त्यसपछि २०३२ सालमा आफ्ना हक अधिकार लुटिएका सबै विद्यार्थीहरू सामन्ती तानाशाही दबाबको प्रतिरोधमा २०३५ साल चैत महिनाको अन्तिम सातातिर एकजुट भई उत्रे । देशभरिका विद्यार्थी कापी कलम छोडी शिक्षालय र क्याम्पस बन्द गरी सङ्घर्षको मैदानमा उत्रे । के पहाड, के तराई, के पूर्व, के पश्चिम देशका सबै कुनाकाप्चाबाट सङ्घर्षको नारा घन्किए । प्रतिक्रियावादी सरकारले जरुरै आफ्नो घीनलाग्दो प्रवृत्तिअनुसार विद्यार्थी आन्दोलनलाई पुलिसको बुथ, लाठी, टियरग्यास र गोलीबाट दबाउने धृष्टता गरे । काठमाडौँमा अस्कललगायत, हेटौँडाको सडक बजार, सुर्खेत, भरतपुर र अन्य थुप्रै ठाउँहरूमा ऐतिहासिक आन्दोलन भयो । कैयौँ ठाउँमा सहिदको रगतले भुइँ रक्ताम्य भयो । विद्यार्थी झन् आगो भएर उठे । तानाशाही सरकार क्रान्तिकारीहरूले थापेको पासोमा फस्यो । यस्तो परिस्थितिमा उम्कने कुनै उपाय नदेखेर त्यस पासोबाट उम्कनको लागि ‘जनमतसङ्ग्रह’ को छल रचियो । क्रान्तिकारीहरूको जोश र उत्साह सेलाउन प्रतिक्रियावादीहरूले नाममात्रको खुकुलोपन देखाई क्रान्तिकारीहरूबीच झैझगडा गराउने षड्यन्त्र रच्न थाले । प्रतिक्रियावादीहरू सबैजसो जनवर्गीय सङ्गठनभित्र पसे । विद्यार्थी सङ्गठनभित्र पनि विषयुक्त हातहरू घुसाउन तिनीहरू पछि परेनन् ।
विस्तारै अनेरास्ववियुभित्र पनि अन्तरविरोध चर्किन थाल्यो । तुरून्तै पाँचौँ र छैटौँ भनी दुई प्रस्तावित सम्मेलनहरूमा विभाजित भए । पहिले अनेरास्ववियुभित्रका देउसीवादीहरूलाई विरोध गरेजस्तै नेक्राविसङ्घले वामपन्थी विद्यार्थी आन्दोलनको हितलाई ध्यान राखी विभाजित अनेरास्ववियुका पाँचौँ र छैटौँलाई मिलाउने निकै प्रयास ग¥यो । थुप्रै वार्ताहरू भए र एकताका लागि नेक्राकिसङ्घले प्रस्ताव यसरी प्रस्तुत ग¥यो ।
(१) पाँचौँ र छैटौँको समस्या समाधान गर्न एकता सम्मेलन गर्ने या
(२) पुरक पाँचौँपछि सँगै एउटै छैटौँ सम्मेलन गर्ने । यसबाहेक एकताको प्रस्ताव यी पनि थिएः
(१) आपसमा ध्वंसात्मक प्रवृत्तिका गालीगलौज यथाशीघ्र बन्द गर्ने ।
(२) साझा कार्यक्रममा मिल्न सक्ने बिन्दुमा मिलेर काम गर्ने ।
एकातिर यसरी एकताको लागि वार्ताहरू हुँदै गर्थे र अर्कातिर पाँचौँ र छैटौँका समर्थकहरू आफूलाई वैचारिक सङ्घर्षमा मात्र सीमित नपारी मुड्की हान्ने र आपसमा खुकुरी, चक्कु देखाउने, अपहरण गर्नेजस्तो काममा लागे । भित्री अन्तरविरोधहरू काठमाडाँैका कालोपत्रे सडक, स्कूल र क्याम्पसका पर्खालहरूमा मात्र देखा परेनन् । एकताका कुराकानी, प्रस्तावहरू कता कता बिलाए । यसै प्रसङ्गमा पाँचौँ र छैटौँको चर्किँदो विवादको कारण कीर्तिपुर क्याम्पसको चुनावमा भएको घटना इटुंवहालको स्तालिन स्मृति दिवसको घटनालगायत विभिन्न क्याम्पसमा चुनावको बेला छिनाझप्टी र खिचातानी भए । त्रिचन्द्र क्याम्पसमा सर्वहारा वर्गका महान् नेता अध्यक्ष माओ त्सेतुङ स्मृति दिवसको बेला भएको पाँचौँ र छैटौँबीचको भनाभन र रूसी सामाजिक साम्राज्यवादद्वारा अफगानिस्तानमाथिको हस्तक्षेपको विरोध गर्ने साझा कार्यलाई बेवास्ता गरी छुट्टाछुट्टै विरोध पत्र दिँदा रूसी दूतावासले समेत जिस्क्याउने स्थिति बन्यो । काठमाडौँमा भएका यी केही घटनाहरूबाहेक उपत्यकाबाहिर धादिङमा भएको क्षेत्रीय दङ्गा कसैबाट लुकेको छैन । अतः यस स्थितिमा एकता हुन नसकेको विवादको दोसाँधमा रहेको ‘अखिल’ बाट कुनै आशा लिन सकिन्नथ्यो । विद्यार्थी साथीहरूमा नैराश्यताले छायो । यतिमात्र नभई पाँचौँ र छैटौँ सम्मेलन छुट्टै मान्ने बाध्यतामा विद्यार्थीलाई पु¥याइयो । वामपन्थी विद्यार्थी हुन पनि पाँचौँ या छैटौँको पक्ष लाग्नुपर्ने स्थिति आयो ।
उल्लेखित विभिन्न कारणहरूले गर्दा भूमिगतरूपमा कार्यरत ने.क्रा.वि. सङ्घ अखिलबाट अलग भई प्रकाशमा आयो र विभिन्न गतिविधिमा सक्रिय भयो । किनकि, हामी आपसी फुट र अनेकता होइन एकता चाहन्थ्यौँ । हामी पाँचौँ र छैंठौँको वादविवादलाई बाहिर चर्काएर भ्रम बढाउने पक्षमा थिएनौँ । हामी वादविवादमा अल्झिनुभन्दा जनताका सङ्घर्षहरूमा साथ दिने पक्षमा विश्वस्त थियौँ । हामी जनमतसङ्ग्रहलाई उपयोग गर्ने पक्षमा थियौँ । उनीहरू आलटाल वा बहिष्कार गर्ने पक्षमा थिए । एकता चाहने साथीहरू पनि सङ्गठित हुनु आवश्यक थियो । यसै प्रसङ्गमा देशका विभिन्न विकट जिल्ला र अञ्चलहरूमा समेत नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ अन्तर्गत विभिन्न अङ्गहरू गठन भए ।
ने.क्रा.वि.सङ्घको सङ्घर्षशील साथीहरू अखिलबाट छुट्टिएर आए । विद्यार्थी हित र अधिकारका प्रश्न र जनताको सङ्घर्षमा साथ दिने कर्तव्यबाट भने सङ्गठन कहिल्यै पन्छिएको छैन । यसै सन्दर्भमा विगतका विद्यार्थी सङ्घर्षलगायत शिक्षक वर्गको आन्दोलनमा सक्रिय भाग लिएको थियो । यसले चैत १२ गतेको भक्तपुरदेखि काठमाडाँैसम्मको विशाल ¥यालीमा साथ दिइएको थियो । सामाजिक साम्राज्यवादको तीव्र विरोधमा उपत्यकाका विभिन्न ठाउँलगायत उपत्यकाबाहिर भएका कार्टुन प्रदर्शनी, जुलुस प्रदर्शनी, मस्को ओलम्पिकको विरोध इत्यादि कार्यक्रममा नेक्राविसङ्घको उपस्थिति उल्लेखनीय थियो ।
स्रोत ः नेक्राविसङ्घको दोस्रो भक्तपुर जिल्ला सम्मेलनमा प्रस्तुत प्रतिवेदन (लर्काे बुलेटिन २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *