पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
विसं २०३६ सालमा भक्तपुरका मौलिक हस्तकलाको विकास र प्रवद्र्धन गर्न स्थापना भएको भक्तपुर सानो औद्योगिक क्षेत्रमा स्थापनाको मूल ध्येयलाई लत्याएर हाल प्रदूषण फैलाउने उद्योग–कलकारखाना सञ्चालन गरिएकोमा स्थानीय जनताले विरोध गरिरहेका छन् । उनीहरूले चरणबद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गरी मानव बस्तीभित्र परेको औद्योगिक क्षेत्र अन्यत्र स्थानान्तरण गर्न माग गरेका छन् ।
मानव बस्तीबीचमा र विश्व सम्पदा सूचीभित्रको भक्तपुर लायकु दरबार तथा भक्तपुर नगरपालिकाको कार्यालय भवनसँग जोडिएको यो उद्योग क्षेत्रमा नेपालको कानुनी व्यवस्था र नगरपालिकाको निर्णयविपरीत सञ्चालित ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने कृति टेक्स्टाइल्स इन्टरप्राइजेज प्रा.लि.का स्वचालित टेक्स्टाइल र डाइङ्ग मेसिन, नेपो इन्डस्ट्रिज प्रा.लि.को स्वचालित टेक्स्टाइल मेशिन, मेमोर्स इन्डस्ट्रिज, अरूणा टेक्स्टाइल प्रा.लि.को स्वचालित टेक्स्टाइल मेसिन, शिवबाबा टे.प्रा.लि.को स्वचालित टेक्स्टाइल मेसिन, इशान फेब्रिक इन्डस्ट्रिजको स्वचालित टेक्स्टाइल मेसिन, पशुपति फेब्रिक इन्डस्ट्रिजको स्वचालित टेक्स्टाइल मेशिन, वर्जर जोन्सन एन्ड निकल्सन नेपाल प्रा.लि.को अति ज्वलनशीन रङ्गरोगन उत्पादन गर्ने स्वचालित मेसिन, ओम सत्यसाई प्लास्टिक उद्योग, बेस्ट प्लास्टिक इन्डस्ट्रिज, शिवा पोलिमर्शजस्ता प्लास्टिक एवम् पोलिथिन ब्याग बनाउने उद्योगहरूबाट मेथीबारी, ब्यासी, खौमा, सहिद उद्यान, कालदहलगायतका हजारौँ मानिसहरूको जनस्वास्थ्यमा हानि पुगेको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा पश्मिना, सल, स्वेटर उत्पादन गर्न दर्ता भएको मेमोर्स इन्डस्ट्रिजमा तोकिएको उद्देश्यविपरीत स्वचालित टेक्स्टाइल मेसिन तथा कानुनी बन्दोस्तविपरीत अन्य व्यक्तिलाई सञ्चालन गराइएको छ भने कृति टेक्स्टाइलमा काठमाडौँ उपत्यकामा सञ्चालन गर्न नपाइने डाईङ्ग उद्योगसमेत सञ्चालन भइरहेको छ । स्वचालित टेक्स्टाइल मेसिन सञ्चालन घरेलु तथा साना उद्योग होइन ।
सो क्षेत्रमा ५–७ सय थान स्वचालित टेक्स्टाइल मेसिन र डाइङ्गको ध्वनि, धुवाँ र रसायन प्रदूषण फालेका उद्योगहरूबाट राजस्वसमेत चुहावट भइरहेको छ । उल्लिखित उद्योगहरूमा स्थलगत अध्ययन गर्न पुगेको टोलीलाई उद्योग क्षेत्रको व्यवस्थापन हेर्ने अधिकारीसँगको मिलेमतोमा प्रदूषण फाल्ने सबै टेक्स्टाइल र डाइङ्ग मेसिनहरू सञ्चालन नगराई छलकपट, राजस्व चुहावट र मानवताविरोधी अपराधसमेत भइरहेको छ । व्यवस्थापन कार्यालयका प्रमुख बलराम बोगटीले कोभिड १९ सङ्क्रमणको बेला नेपो इन्डस्ट्रिजलाई क्रेन ल्याएर दर्जनाँै स्वचालित टेक्स्टाइल मेसिन जडान गर्न लगाई आर्थिक अनियमिता गरेको अहिले चर्चाको विषय बनेको छ ।
नेपाल सरकारको आव २०७३।७४ को बजेटमा काठमाडौँ उपत्यकाबाट प्रदूषण फैलाउने उद्योगहरू उपत्यकाबाहिर स्थानान्तरण गर्ने प्रतिबद्धताविपरीत यस क्षेत्रका सरकारी स्वामित्वको जग्गा र भवन प्रतिरोपनी ९ हजार रूपैयाँमा उद्योगीहरूसँग ४० वर्षसम्मको सम्झौता गर्ने गराउने सम्बन्धित सरकारी अधिकारीहरूलाई अख्तियार दुरूपयोग र राजस्व चुहावटमा हदैसम्मको कारबाही गर्न आवश्यक छ ।
जनताको स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा समेत प्रतिकूल असर पार्ने भक्तपुर औद्योगिक क्षेत्रलाई अन्यत्र स्थानान्तरण गरी सो क्षेत्रमा जनताको हित हुने संरचना स्थापना गर्नु आवश्यक छ । सरकारको लागि उद्योगपति र पुँजीपतिको नाफाभन्दा जनताको हित नै प्रधान हुन आवश्यक छ । स्थानीय जनताले थालेको यो अभियानलाई अरू सर्वसाधारणले पनि साथ सहयोग दिन समिचीन हुनेछ ।
Leave a Reply