भर्खरै :

डिसेम्बर ८ को भारत बन्दप्रति व्यापक जनसमर्थन

काठमाडौँ, २२ मंसिर । भारतको केन्द्र सरकारले ल्याएका कृषिसम्बन्धी तीन कानुनहरू खारेजीको माग गर्दै पछिल्लो १३ दिनदेखि दिल्ली प्रवेशका विभिन्न नाकाहरूमा धर्ना दिइरहेका किसानहरूको डिसेम्बर ८ का दिन भारत बन्द गर्ने आह्वानप्रति व्यापक जनसमर्थन जुटेको छ । भारतका विपक्षी दलहरू, क्षेत्रीय पार्टीहरू तथा कैयौँ पेशागत सङ्गठनहरूले किसान आन्दोलनको माग र भारत बन्दप्रति समर्थन जनाएका छन् ।
भारत बन्दको आह्वानमा भारतका वामपन्थी पार्टीहरू भाकपाका महासचिव डी. राजा, भाकपा (माक्र्सवादी)का महासचिव सीताराम येचुरी, भाकपा मालेका महासचिव दीपंकर भट्टाचार्य, क्रान्तिकारी समाजवादी पार्टी (आरएसपी) का महासचिव मनोज भट्टाचार्य, अल इन्डिया फर्वार्ड ब्लक (एआईएफबी)का देवब्रत विश्वाससँगै राष्ट्रिय जनता दल (राजद) का अध्यक्ष तेजश्वी यादव र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले संयुक्त वक्तव्य जारी गरेका छन् ।
वक्तव्यमा भनिएको छ – संसदमा ठोस चर्चा र मतदानमाथि नै रोक लगाएर अलोकतान्त्रिक तरिकाले पारित गरिएका नयाँ कृषिसम्बन्धी कानुनहरूले भारतको खाद्य सुरक्षा, भारतीय कृषि एवं किसानहरूको भविष्य बर्बाद गर्ने खतरा छ । न्यूनतम समर्थन मूल्य (एमएसपी) को व्यवस्था अन्त्य गर्ने नियतले ल्याएका कानुनले भारतीय कृषि क्षेत्र र कृषि बजारहरूलाई बहुराष्ट्रिय कृषि कारोबारी उद्योगहरू तथा भारतीय व्यापारी घरानाहरूको मर्जीका अगाडि धरौती राखिदिनेछ ।
वक्तव्यमा ती पार्टीका नेताहरूले केन्द्र सरकारलाई लोकतान्त्रिक प्रक्रिया एवं नियमहरूको पालना गर्न र भारतका अन्नदाता किसानहरूको वैध माग पूरा गर्न आग्रह गरेका छन् ।
त्यस्तै भारतका अन्य विपक्षी पार्टीहरू भारतीय राष्ट्रिय काङ्ग्रेस, भाकपा (माक्र्सवादी), राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) द्रविड मुनेत्र कषगम (डीएमके), काश्मीरको गुपकर घोषणा पत्र गठबन्धन (पीएजीडी) लगायत प्रमुख विपक्षी पार्टीका नेताहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गरी किसान सङ्गठनहरूले डिसेम्बर ८ का दिन आह्वान गरेको भारत बन्दप्रति समर्थन जनाएका छन् र प्रदर्शनकारीहरूको वैध मागको सुनवाइ गर्न केन्द्र सरकारसित माग गरेका छन् ।
आन्दोलनरत किसानहरू र सरकारबीच शनिबार भएको पाँचौँ चरणको वार्ता पनि निष्कर्षविहीन भएको थियो र त्यसपछि सरकारले गतिरोध समाप्त गर्ने भन्दै डिसेम्बर ९ का दिन वार्ता गर्न बोलाएको थियो ।
त्यस्तै दिल्लीको सत्तारुढ पार्टी – आम आद्मी पार्टी, महाराष्ट्रको सत्तारुढ पार्टी – शिव सेना, पश्चिम बङ्गालको सत्तारुढ पार्टी– तृणमूल काङ्ग्रेस, तेलङगानाको सत्तारुढ पार्टी –तेलङ्गाना राष्ट्रिय समितिलगायत शिरोमणि अकाली दल, बहुजन समाजवादी पार्टी, असम गण परिषद्, झारखण्ड मुक्ति मोर्चा, अभिनेता कमल हासनको पार्टी मक्कल नीधि मय्यम( एमएनएम)ले पनि किसान प्रदर्शन र भारत बन्दको समर्थन गरेका छन् । त्यस्तै भारतका मजदुर सङ्गठनहरू इन्डियन नेसनल ट्रेड युनियन काङ्ग्रेस (आईएनटीयूसी), अल इन्डिया ट्रेड युनियन काङ्ग्रेस
(एआईटीयूसी), हिन्द मजदुर सभा (एचएमएस), सेन्टर अफ इन्डियन ट्रेड युनियन्स (सीआईटीयू), अल इन्डिया युनाइटेड ट्रेड युनियन सेन्टर (एआईयूटीयूसी), ट्रेड युनियन कोअर्डिनेसन सेन्टर (टीयूसीसी) लगायतले पनि किसान आन्दोलन र भारत बन्दप्रति पूर्ण समर्थन जनाएका छन् ।
यसैबीच भाजपाको किसान सङ्गठन–भारतीय किसान सङ्घबाहेक भारतका सबै किसान सङ्घ, सङ्गठनहरूले आन्दोलन र भारत बन्द सफल पार्न सम्पूर्ण शक्ति लगाउने घोषणा गरेका छन् र भारत बन्दमा सबै वर्गका न्यायप्रेमी भारतीय जनताको सहभागिताका लागि आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *