तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
देशको माना खाएर विदेशको सेवा गर्ने कर्मचारीलाई कारबाही गर्न सरकार असफल
काठमाडौँ, २२ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२) को अवसरमा सोमबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनैतिक कार्यकर्ताले सरल जीवन बिताउनुपर्ने, समाजमा हुने अन्याय र अत्याचारको विरोध गर्नुपर्ने तथा देश र जनताको निरन्तर सेवा गर्नुपर्ने बताउनुभयो ।
समसामयिक राजनीतिक परिस्थितिबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै उहाँले पूर्वएमाले र माओवादीको झगडा सैद्धान्तिक नभएर व्यक्तिगत स्वार्थका लागि भएको प्रस्ट पार्नुभयो ।
माओवादी नेता पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुँदा भारतबाट अतिक्रमित भूमि फिर्ता गर्ने, एकतर्फी निर्मित बाँध भत्काउने र असमान सन्धि–सम्झौता खारेजी गर्ने जिम्मेवारी पूरा नगरेको उहाँले बताउनुभयो ।
प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस आफै भागबन्डा र नियुक्तिमा लागेको हुनाले आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्न नसकेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले पञ्चायत र नेकाले गरेका नराम्रा काम कम्युनिस्ट भनाउँदा एमाले र माओवादीसमेतले गर्नु खेदजनक भएको बताउनुभयो ।
नेपाल सरकारको कर्मचारी भएर विदेशीहरूको सेवा गर्ने कर्मचारीहरूलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष रोहितले सरकारमा जाने दल र नेताहरूले नराम्रा काम गर्दा देश विदशीहरूको हातमा गएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले संरा अमेरिका एक–एक पाइला गर्दै संयुक्त राष्ट्रसङ्घलगायत बहुराष्ट्रिय दबुहरूबाट बाहिरिँदै गर्दा संसार फेरि पनि साम्राज्यवादी युद्धमा फस्ने सम्भावना बढेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले तराईका २२ जिल्लामा नेपाल सरकारले भारतीय नम्बर प्लेटका गाडीलाई एक हप्तासम्म राख्न दिएकोले देशलाई लाखौँ रकम भन्सार घाटा भएको बताउनुुभयो । उहाँले देशमा उत्पादन श्रमसँग जोडिएको, प्राविधिक र वैज्ञानिक शिक्षा जनताका सबै छोराछोरीलाई निःशुल्क र अनिवार्य गर्न सके देशमा विकासले फड्को मार्ने बताउनुभयो ।
“खर्बौं रकमको कर नउठ्नु, ठगी हुनु र मिति नाघेको उत्पादित वस्तुहरूमा नयाँ मिति राखी बिक्री–वितरण गर्दा पनि कारबाही नहुनुले सरकार उद्योगी र व्यापारीहरूको चँगुलमा फसेको स्पष्ट छ”, उहाँले बताउनुुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूको सभापतित्वमा भएको अनलाइन प्रवचन कार्यक्रममा समितिका उपाध्यक्ष प्रकाश गुरुङ, सचिव रमेश प्रजापति र ईश्वर शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply