भर्खरै :

चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान

बेइजिङ, २२ मंसिर (रासस–सिन्ह्वा) । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झन्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरणअनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल देशभर २८१ जना मात्र सक्रिय सङ्क्रमित छन् ।
तर, चीनले खोप निर्माण गरी विश्वलाई नै सार्वजनिक वस्तुको रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । कोरोनाभाइरस फैलाएको प्रभाव कम गर्न पनि चीनले खोपमा लगानी बढाएको विश्वास गरिएको छ ।
हङकङमा मेडिकल अनुसन्धान फर्मका रूपमा सूचीकृत सिनो बायोफर्मास्यूटिकल लिमिटेडले सोमबार एक विज्ञप्ति प्रकाशन गरी कोरोनाभ्याकको विकास र उत्पादनका लागि कम्पनीले ५१ करोड ५० लाख लगानी गर्ने घोषणा गरेको छ । सिनोभ्याकको यो सर्वाधिक उच्चस्तरको खोप हो ।
चीनकै अग्रणी खोप निर्माता सिनोभ्याकले कोरोनाभ्याकको विकास, क्षमता विस्तार र उत्पादनका लागि चीन सरकारबाट प्राप्त हुने रकम खर्च गरिने जनाएको छ । सिनोभ्याकले यसै वर्षको अन्त्यसम्ममा ६० करोड डोज कोरोनाभ्याक उत्पादन गर्न सक्षम हुने जनाएको छ । सम्झौताबमोजिम सिनो बायोफर्मास्यूटिकलले सिनोभ्याकमा १५ प्रतिशत शेयर प्राप्त गर्नेछ ।
चिनियाँ खोपलाई व्यापक वितरणका लागि नियामक निकायहरूबाट अनुमति प्राप्त गर्न बाँकी रहे पनि चीन सरकारले आपत्कालीन प्रयोगका लागि यो खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । जुलाई यता मात्र ठूलो सङ्ख्याका सरकारी कर्मचारीदेखि विदेशी विद्यार्थीहरूले यो खोप लगाइसकेका छन् ।
कोरोनाभ्याक खोप ब्राजिल समेतका धेरै देशमा परीक्षण भइरहेको छ । गत नोभेम्बरमा खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएपछि केही कठिनाइ व्यहोरेको सिनोभ्याकले तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण पुनः सुरु गरिसकेको छ । सिनोभ्याकका प्रमुख कार्यकारी यिन वाइदोङले एसिया र दक्षिण अमेरिकी मुलुकहरूमा जारी क्लिनिकल परीक्षण अन्तिम चरणमा प्रवेश गरेको बताउनुभएको छ । कम्पनीले यसअघि आफ्ना सबै कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूले खोप लगाइसकेको जनाएको थियो ।
चीनको अर्को भ्याक्सिन निर्माता सिनोफार्मले गत नोभेम्बरमा करिब १० लाख मानिसले आफ्नो खोप परीक्षणमा सहभागिता जनाएको बताएको थियो । गत साता खोप स्वीकृत गर्ने पश्चिमा मुलुकहरूमा बेलायत पहिलो राष्ट्र भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *