राजनीतिक रूपमा सचेत हुन पार्टी प्रकाशनहरू अध्ययन गर्न आवश्यक
- जेष्ठ २०, २०८३
सशस्त्र विद्रोही ‘नेत्रविक्रम चन्द विप्लव समूह’ ले मोरङमा एउटा आधारभूत विद्यालयका प्रधानाध्यापकको घाँटी रेटी हत्या गरेको बताइएको छ । समाचार स्रोतअनुसार मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मङ्गलबार बिहान निर्ममतापूर्वक हत्या गरिएको हो । प्रहरीले मारिएका प्रधानाध्यापक श्रेष्ठको हात बाँधी घाँटी रेटी हत्या गरिएको बताएको छ । यो घटनाले २०२७ सालमा झापाबाट र पछि २०५२ सालयता भएको माओवादी सशस्त्र विद्रोहको क्रममा भएका हत्या र आतङ्कको स्मरण गराएको छ ।
व्यक्तिहत्या गर्नु नै क्रान्ति भनी परिभाषित गर्ने खोटो विचारधारा नेपालको वामपन्थी राजनीतिमा नयाँ विषय होइन । २०२७–२८ सालमा झापाका केही वामपन्थी उग्रवादीहरूले भारतको नक्सलवाडी आन्दोलनको अन्ध नक्कल गरेर नेपालमा पनि व्यक्तिहत्याको राजनीति थालेका थिए । उनीहरू केही व्यक्तिको हत्या गर्नुलाई नै वर्गसङ्घर्ष ठान्थे । उनीहरू व्यक्तिको हत्या गरेर रगतले हात रङ्गाउन सके आफूलाई क्रान्तिकारी भएको गौरव गर्थे । कालान्तरमा झापालीहरूको त्यो विद्रोह असफलमात्र भएन, बरु व्यक्तिहत्याको राजनीति गरेका झापाली समूह दक्षिणपन्थी अवसरवादमा पतन भयो । उनीहरूले क्रान्ति त गरेनन् नै, क्रान्तिलाई रोक्ने संशोधनवादी विचार बोकेर हिँडे । तत्कालीन एमाले त्यही उग्रवामपन्थको स्खलित दक्षिणपन्थी रूप थियो ।
२०५२ सालमा माओवादीहरूले ‘नयाँ जनवादी क्रान्ति’ भन्दै सशस्त्र विद्रोहको आरम्भ गरे । चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको नाम जोडेर उनीहरूले त्यो विद्रोहको नाम ‘माओवादी’ राखे । तर, चीनमा माओले नै अस्वीकार गरेको ‘माओवाद’ लाई अघि सारेर माओको शिक्षाविपरीत व्यक्तिहत्याको राजनीतिलाई उनीहरूले प्रश्रय दिए । उनीहरूले पनि व्यक्तिको हत्या गर्नु, चन्दा उठाउनु, डर–धम्की देखाउनु, गोली हान्नु र बन्दुक चलाउनुलाई नै विद्रोह वा क्रान्ति ठाने । अन्ततः माओवादी विद्रोह पनि दक्षिणपन्थी भासमा स्खलित भयो । असफल झापाली उग्रवामपन्थ र माओवादी उग्रवामपन्थ आज एकै ठाउँमा छन् र देशमा कम्युनिस्टको नाममा पुँजीवादी राज्य चलाइरहेका छन् ।
माओवादी उग्रवामपन्थको एउटा हाँगा आज विप्लव समूहले व्यक्तिहत्याको राजनीति अघि बढाइरहेको छ । विप्लव समूहको व्यक्तिहत्याको राजनीतिको अन्तिम नियति पनि हिजोका झापाली र माओवादीहरूको भन्दा भिन्न हुनेछैन । व्यक्तिहत्या क्रान्ति होइन न त व्यक्तिको हत्या गर्दैमा आमूल परिवर्तन सम्भव छ । राजा–महाराजा र मन्त्रीहरूको हत्या गर्दा पनि राज्यसत्तामा परिवर्तन हुँदैन भने सर्वसाधारण शिक्षकमाथि निशाना साँधेर कसरी विद्रोह हुनसक्छ ¤ हिजो माओवादीहरूले पनि यसरी नै शिक्षक, व्यापारी, प्रहरी, सेनाका जवानहरूको हत्या गरेर विद्रोहको स्वाङ गरेका थिए । समयान्तरमा पुष्टि भयो, नेपाली जनताको हत्या गराउने माओवादी नेताहरू भने भारतका सरकारी लगानीका पाँचतारे होटेलमा बसेर हत्याको निर्देशन दिइरहेका हुन्थे । दस वर्षको माओवादी सशस्त्र द्वन्द्वको क्रममा सत्र हजार मानिसको हत्या भयो । तर, समाज व्यवस्थामा कुनै परिवर्तन भएन । बरु आज गरिब र उत्पीडित नेपाली जनता अझ बढी उत्पीडनमा परेका छन् । विप्लव समूहले इतिहासको समीक्षा गर्दै व्यक्तिहत्याको राजनीति त्याग्न जरुरी छ । निहत्था विद्यालयको एक जना प्रधानाध्यापकको हत्या गरेर विप्लव समूहले गर्न खोजेको क्रान्ति कस्तो हो ? कसको लागि हो ? क्रान्तिको नाममा चन्दा आतङ्क र व्यक्तिहत्या नैतिक र राजनीतिक अपराध हो । गुण्डागर्दी र डकैतीभन्दा राजनीति र क्रान्ति धेरै फरक विषय हुन् । नेपालको वामपन्थी आन्दोलनमा फेरि–फेरि पनि दोहोरिरहेको यो सैद्धान्तिक गल्तीविरुद्ध सैद्धान्तिक सङ्घर्षलाई जोड दिन आवश्यक छ ।
Leave a Reply