भर्खरै :

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई स्वागत

भक्तपुर, २४ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा धनुषा जिल्लाबाट सरुवा भई भक्तपुरमा आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको स्वागत कार्यक्रम बुधबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजिअ भट्टराईलाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले देश र जनतालाई केन्द्रबिन्दुमा राखी सामूहिक हितको निम्ति काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले सल्लाघारीमा अवस्थित १०८ रोपनी जग्गाको संरक्षण र संवद्र्धन गर्दै आइरहेको अवगत गराउँदै भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकार मातहत सञ्चालन हुनु सकारात्मक रहेको प्रजापतिले बताउनुभयो ।
भक्तपुर औद्योगिक क्षेत्रबाट हुने धुवाँ तथा धुलो प्रदूषणबारे स्थानीय पीडित जनताले लामो समयदेखि गुनासो गर्दै आइरहेको बताउँदै उहाँले जनताको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको उद्योग स्थानान्तरणको लागि आवश्यक पहल भइरहेकोे बताउनुभयो ।
सांस्कृतिक नगरको रूपमा परिचित भक्तपुरका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार विदेशी सहयोगबिना नै जनताको सहयोग र जनश्रमदानमार्फत भइरहेको औँल्याउँदै उहाँले जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासले नै जनताको बढी सेवा गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ऐतिहासिक नगरको रूपमा ख्याति कमाइरहेको भक्तपुरलाई सफा, स्वच्छ, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने उद्देश्यका साथ अगाडि बढाइरहेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ प्रेमप्रसाद भट्टराईले भक्तपुर नगरपालिकाको कार्यशैली उदाहरणीय रहँदै आएको बताउँदै भक्तपुरको शान्ति, सुरक्षा र भक्तपुरवासी जनताको स्वास्थ्य सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
उपत्यकाका तीन सहरहरू विश्वको उत्कृष्ट सहरमध्ये परिचित भएको बताउँदै प्रजिअ भट्टराईले भक्तपुर औद्योगिक क्षेत्रबाट भएको धुवाँ, धुलो प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्ने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । सार्वजनिक सम्पत्ति रक्षा गर्न आफू सधँै तत्पर रहने विश्वास प्रकट गर्दै उहाँले भक्तपुर नपाले कोरोना रोकथाम र नियन्त्रणमा गरेका गतिविधिहरू उल्लेखनीय भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको पनि उपस्थिति थियो । नगर प्रमुख प्रजापतिले प्रजिअ भट्टराईलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *