भर्खरै :

जारविरुद्ध षड्यन्त्र – १०

डिसेम्बरवादी ‘प्रिन्स’ हरू – सर्गेई ट्रुबेट्स्कोई र सर्गेई भोल्कोन्स्की
सामन्ती व्यवस्थामा राज्यको सबभन्दा उपल्लो तहमा राजा, राजपरिवार र कुलीनवर्ग हुन्थे । राजा र उनको परिवारलाई पुस्ताँैंदेखि राजकाज र युद्धमा साथ र सहयोग गर्ने परिवारहरूको समूह नै कुलीनवर्ग हो जसलाई अभीजात वर्ग पनि भनिन्छ । सामन्ती समाजमा कुलीनवर्ग सामान्य मानिसहरूभन्दा फरक, विशेषाधिकार प्राप्त शक्तिशाली र धनीवर्ग हुन्थ्यो । कुलीनता र उनीहरूको मान–पदवी पुस्तैनी हुन्थ्यो भने कहिलेकाहीँ राज्यमा महत्वपूर्ण योगदान गर्ने सामान्य परिवारहरूलाई पनि राजाले कुलीन परिवारको दर्जा दिन सक्थ्यो । युद्ध र राजकाजमा साथसहयोग गरेबापत कुलीन परिवारहरूले राजाबाट राज्यको जमिन र जङ्गल विर्ताको रूपमा प्राप्त गर्थे । जसको आम्दानीले कुलीन परिवारको दिनचर्या चल्थ्यो ।
कुलीन वर्गभित्र पनि विभिन्न तह हुन्थ्यो । केही परिवारहरूको राजासँग प्रायः नजिकको सम्बन्ध हुन्थ्यो र शक्ति, प्रभाव एवम् सम्पत्तिको हिसाबले ती परिवारहरू ठूला हुन्थे । त्यस्ता परिवारलाई उच्च कुलीन परिवारमा गनिन्थ्यो । ‘प्रिन्स’ र ‘ड्युक’ जस्ता पदवीहरू उनीहरूको पुस्तैनी पदवी हुन्थ्यो । डिसेम्बरवादी गुप्त समाजहरूमा सहभागी भएर ज्यान सजायको घोषणा गरिएका ३६ जना युवामध्ये २ जना यस्तै उच्च कुलीन परिवारबाट आएका थिए । तिनीहरूको नाम थियो – प्रिन्स सर्गेई पेट्रोभिच ट्रुबेट्स्कोई र प्रिन्स सर्गेई ग्रिरोरेभिच भोल्कोन्स्की ।
सर्गेई ट्रुबेट्स्कोई
मिखाईल लुनीन जस्तै ट्रुबेट्स्कोई र भोल्कोन्स्की दुवै आम डिसेम्बरवादी युवाहरूभन्दा उमेरले ८–१० वर्ष पाका थिए । विद्रोहको समयमा ट्रुबेत्स्कोई ३५ वर्षका थिए भने भोल्कोन्स्की ३७ वर्षका थिए । सर्गेई पेट्रोभिच ट्रुबेट्स्कोईको जन्म सन् १७९० मा भोल्गा नदी किनारको रुसी सहर निझ्रुनी नोभोग्राडमा भएको थियो । उनको परिवार निझ्नी नोभोग्राड सहरको एक धनी र उच्च कुलीन परिवार थियो । उनका पुर्खाले सन् १६१२ मा मस्को सहरलाई पोलियाली सेनाको कब्जाबाट मुक्त गर्ने लडाइँको नेतृत्व गरेका थिए । त्यसकारण, ट्रुबेत्स्कोई परिवारको रुसी कुलीन वर्गमा ठूलो नाम थियो । घरमै प्रारम्भिक शिक्षा प्राप्त गरेका उनले १६ वर्षको उमेरमा मस्को विश्वविद्यालय भर्ना भएर कक्षा लिन थाले । सन् १८०८ मा १८ वर्षको उमेरमा उनले एक सामान्य सैनिकको रूपमा सेम्योनोभस्की गार्ड्स रेजिमेन्टबाट सैनिक सेवा सुरु गरे । नेपोलियनको फ्रान्सविरुद्धमा भएको हरेक जसो लडाइँमा उनी सहभागी भएका थिए । सन् १८१३ अक्टोबरमा भएको लेईपिजको लडाइँमा उनी गम्भीर घाइते भए ।

युद्धबाट फर्केपछि सर्गेई ट्रुबेट्स्कोई रुसमा तानाशाही व्यवस्था र भूदास व्यवस्था निर्मूल गर्ने उद्देश्यले निकिता मुराभयोभको नेतृत्वमा गठित ‘मुक्ति सङघ’ नामक गुप्त समाजका संस्थापक सदस्य बने । गुप्त समाजभित्र उनी निकिता मुराभयोभ जस्तै संवैधानिक राजतन्त्रका पक्षधर थिए । तर, गुप्त समाजमा गणतन्त्रवादीहरूको प्रभाव बढ्दै थियो । गुप्त समाजका गतिविधिहरूबारे सूचना चुहिन थालेपछि निकिता र ट्रुबेट्स्कोईले गुप्त समाज विघटन गरेर सन् १८२१ मा ‘उत्तरी समाज’ को नाममा नयाँ गुप्त समाज सुरु गरे । ‘उत्तरी समाज’ को सम्पर्क र गतिविधि मस्को तथा राजधानी सेन्ट पिटर्सवर्गमा केन्द्रित थियो । त्यसबेला ट्रुबेट्स्कोई गार्डस् सेनामा कर्णेलमा पदोन्नति भइसकेका थिए ।
विद्रोहको अघिल्लो दिन भएको गुप्त समाजको बैठकले सर्गेई ट्रुबेट्स्कोईलाई विद्रोहको नेता र अन्तरिमकालको सर्वोच्च शासक हुने निर्णय गरेको थियो । तर, अन्तिम समयमा विद्रोह असफल हुने सम्भावनाको डरले उनी विद्रोह स्थल सिनेट स्क्वायरमा गएनन् र त्यसबेला अस्ट्रेलियाली राजदूत रहेका आफ्ना जेठाजुको कोठामा लुक्न गए । विद्रोहको भोलिपल्ट उनलाई समातियो र अरू सबै क्रान्तिकारीहरूलाई जस्तै पिटर र पाउल किल्लामा बन्दी बनाइयो ।
सर्गेई भोल्कोन्स्की
प्रिन्स सर्गेई ग्रिरोरेभिच भोल्कोन्स्की विद्रोहको समयमा युक्रेनी क्षेत्रमा कार्यरत रुसी गार्डसेनाका मेजर जर्नेल थिए । विद्रोहीहरूमध्ये सबभन्दा ठूलो पदमा कार्यरत सैनिक अफिसर भोल्कोन्सकी नै थिए । उनी जारको यति नजिकको परिवारबाट आएका थिए कि जार निकोलसले अनुसन्धान अवधिभर उनको फाइलमा वास्तविक नाम पनि लेख्ने अनुमति नै दिएका थिएनन् ।
सर्गेई भोल्कोन्स्कीको जन्म सन् १७८८ मा सेन्ट पिटर्सवर्गमा भएको थियो । उनको पुर्खा १४ औँ शताब्दीमा मस्को सहरलाई मङ्गोलहरूको आधिपत्यबाट मुक्त गर्ने लडाइँको नेतृत्व गर्ने वीरहरू थिए । रुसी साम्राज्यको विस्तारसँगै भोल्कोन्स्की परिवार रुसको एउटा शक्तिशाली कुलीन परिवारको रूपमा विकास भयो । १८ औँ शताब्दीसम्ममा भोल्कोन्स्की परिवार जारको सबभन्दा नजिकको परिवार भइसकेको थियो । सर्गेई भोल्कोन्स्कीकी आमा जार अलेक्जेन्डर प्रथमका आमाकी सहयोगी थिइन्, उनी प्रायः राजमातासँगै राजदरबारमै बस्थिन् । त्यस्तै उनका काका जार अलेक्जेन्डरको सेनामा एक जनरल थिए भने जार निकोलस पहिलोको समय (१८२५–१८५५) मा राज्यका प्रमुख प्रशासक थिए ।

भोल्कोन्स्कीको प्रारम्भिक शिक्षा सेन्ट पिटर्सवर्गको फ्रान्सेली आप्रवासीहरूद्वारा स्थापित एक सम्भ्रान्त वर्गीय विद्यालयमा भएको थियो । सेन्ट पिटर्सवर्गको एक कुलीन वर्गीय सैनिक विद्यालयबाट उनले आफ्नो शिक्षा पूरा गरे र सन् १८०६ मा गार्ड रेजिमेन्टबाट सैनिक सेवा सुरु गरे । सन् १८०७ मा नेपोलियनको सेनासँग पूर्वी प्रसियाको ईलाउ सहरमा भएको लडाइँमा घाइते भएपछि उनी राजधानी सेन्ट पिटरर्सवर्ग तानिए र आमाको प्रभावका कारण जार अलेक्जेन्डरको समीपमा रहने युवा सहयोगीको टोलीमा भित्र्याइए । जारको सहयोगी टोलीमा रहँदा प्रायःजसो जारसँगै खाना खान्थे । भोल्कोन्स्की जारको शयनकक्षमा जाने अनुमति भएका सीमित सहयोगीमध्ये एक थिए ।
एक वर्षको राजधानी बसाइपछि भोल्कोन्स्की सन् १८०८ मा फेरि सैनिक सेवामा फर्के र पचासभन्दा बढी लडाइँमा सहभागी भएर १८१३ सम्ममा २४ वर्षकै उमेरमा मेजर जनरलमा पदोन्नति भए ।
सन् १८१२ मा युद्धको प्रभाव
सन् १८१२ मा नेपोलियनले रुसलाई झुकाएर आफ्नो पक्षमा ल्याउने उद्देश्यले रुसविरुद्ध आठ लाख सेनाको विशाल युद्ध अभियान सुरु गरे । रुसले नेपोलियनसँग सिधा युद्ध नगर्ने र रुसको भित्री मैदानसम्म तानेर थकाउने अनि पछि घेरा हालेर आक्रमण गर्ने नीति लियो । युद्धको क्रममा भोल्कोन्स्कीजस्ता युवा अफिसरहरूले सेनामा ल्याइएका रुसी भूदासहरूको वीरता देखे । यसको उल्टो रुसलाई शत्रुबाट बचाउने जिम्मा बोकेको कुलीन वर्गका परिवारहरू भने युद्धबाट डराएर नेपोलियनको सेना पुग्नु अगावै आफ्ना गाउँबाट भागिरहेका थिए । कुलीन वर्गभन्दा भूदासहरूमा देशभक्तिको भावना भएको उनीहरूले अनुभव गरे । अन्ततः तिनै भूदासहरूको वीरताले नेपोलियनको सेनालाई रुसबाट लखेट्दै फ्रान्स धपाउन रुसी सेना सफल भयो । यो अनुभवले रुसी सेनाका अफिसरहरूमा किसानहरूप्रति सम्मानभाव विकास भयो र रुसी भूदासहरूलाई देशभक्तिपूर्ण युद्धमा योगदान गरेबापत सम्पूर्ण बन्धनबाट मुक्त गरेर स्वतन्त्र नागरिक बनाइनुपर्छ भन्ने भावना सैनिक अफिसरहरूमा बलियो हुन थाल्यो ।
भोल्कोन्सकीको रेजिमेन्ट फ्रान्सेली सेनालाई लखेट्दै पेरिस पुग्यो । त्यहाँबाट उनी जार अलेक्जेन्डरसँगै शान्ति सम्मेलनमा भाग लिन भियाना पुगे । भियानाबाट फेरि उनी पेरिस फर्के । पेरिसमा उनी चतेउब्रियान्ड र बेन्जामिन कन्स्ट्यान्टजस्ता सुधारवादी विचारकहरूको समूहमा केही समय बिताए । पेरिसबाट उनी लन्डन गए जहाँ उनले राजा जर्ज तेस्रोको पागलपनबारे संसद्मा भएको छलफल आफ्नै आँखाले देखे । लन्डन बसाइपछि उनी संवैधानिक राजतन्त्रात्मक विचारप्रति आकर्षिक बने । लन्डनबाट उनी अमेरिका जान चाहन्थे । सामन्ती समाजमा हुर्केका रुसी युवाहरूको निम्ति अमेरिका ‘स्वतन्त्रता र प्रजातन्त्रको दियो’ थियो । तर, नेपोलियन एल्बा टापुको कैदबाट भागेको समाचारपछि उनी फेरि युद्धमा भाग लिन रुस फर्के ।
युरोपको छोटो भ्रमणले उनलाई रुसको पछ्यौटेपनबारे सोच्न बाध्य बनायो । युरोपमा जस्तो नागरिकको आधारभूत अधिकार र सामाजिक जीवन रुसमा थिएन । युरोपका उदारवादी सिद्धान्तहरू रुसले पनि पछ्याउनुपर्नेबारे उनी गम्न थाले ।
युद्धपछि केही वर्ष पश्चिम युरोपको उदार समाज हेरेर फर्केका रुसी सैनिक अफिसरहरूबीच मानवीय समानता, तानाशाही शासनको विरोध र भूदास मुक्ति छलफलको मुख्य विषयवस्तु बन्न थालेको थियो । तर, जार अलेक्जेन्डर युद्धबाट अन्तर्राष्ट्रिय प्रतिक्रियावादी गठबन्धनको नाईके बनेर फर्किएका थिए । विभिन्न देशका क्रान्तिकारी विद्रोहहरू दबाउन अलेक्जेन्डरले सेना पठाउन थाल्यो । यसबाट भोल्कोन्स्की जस्ता जारनजिक युवाहरू पनि जारको नेतृत्वमा रुसमा उदारवादी सुधार आउन नसक्ने कुरामा स्पष्ट भए र तानाशाही विरोधी गुप्त समाजसँग नजिकिन थाले ।
युद्धपछि मेजर जर्नेल भोल्कोन्स्कीलाई युक्रेनी क्षेत्रको एजोभ रेजिमेन्ट नेतृत्व गर्न खटाइएको थियो । पाभेल पेस्तेल र सर्गेई मुराभयोभसँगै उनी ‘दक्षिणी समाज’ को नेतृत्व समूहमा स्थापित भए । सन् १८२६ को गृष्ममा योजना गरिएको विद्रोहमा दक्षिणका धेरैभन्दा धैरै रेजिमेन्टहरू सहभागी गराउन उनी सकृय भएका थिए । तर, योजना अगावै भएको जारको मृत्यु र त्यसले निम्त्याएको उत्तरी विद्रोहपछि भोल्कोन्स्कीसा साथसाथै सबै डिसेम्बरवादी नेताहरू एकएक गर्दै पक्राउ परे ।
साइबेरियाली निर्वासनमा
ट्रुबेत्स्कोई र भोल्कोन्सकीलगायत ३१ जना ज्यानसजाय सुनाइएका क्रान्तिकारीहरूलाई १८२६ जुलाई १३ का दिन साइबेरियामा ‘सदाका लागि’ शारीरिक श्रमसहितको जेल र निर्वासन सजाय सुनाइएको थियो । उनीहरूका सम्पूर्ण राजनैतिक अधिकार, मान पदवी र सम्पत्तिको अधिकार खोसिएको थियो । दुवै प्रिन्सहरूलाई पहिलो समूहमै पश्चिम साइबेरियाको नेर्चिन्सक सहरको खानीमा काम गर्न पठाइयो । साईबेरिया पठाइँदा भोल्कोन्स्कीको छोरा भर्खर छ महिनाको थियो । भोल्कोन्स्कीकी १९ वर्षिया श्रीमती मारिया भोल्कोन्स्काया आफ्ना पतिलाई साथ दिन सँगै साइबेरिया जान चाहन्थिन् । तर, डिसेम्बरवादी महिलाहरूलाई आफ्ना छोराछोरी साथमा लाने अनुमति थिएन । केही महिनापछि नै मारिया भोल्कोन्स्काया वर्षदिन नपुगेको दूधेबालकलाई आफ्नी आमाको जिम्मा लगाएर साइबेरियाको यात्रामा निस्किन् । उनका साथमा सर्गेई ट्रुबेट्स्कोइकी श्रीमती एकातेरिना ट्रुबेत्स्काया पनि थिइन् । आफ्ना पतिको साथमा लागेका ती महिलाहरूको पनि मान पदवी, पुख्र्यौली सम्पत्तिको अधिकार र छोराछोरीसँग सँगै बस्ने अधिकार खोसिएको थियो । साइबेरियाको कठिन परिस्थितिमा पनि अधिकांश डिसेम्बरवादीहरूले उदारवादी सुधारको आवश्यकताबारे आफ्नो धारणामा परिवर्तन गरेनन् र गुप्तरूपमा चिठी तथा लेखहरूमा जारको स्वेच्छाचारी शासनविरुद्ध लेखिरहे ।
१० वर्षको कठोर जेल जीवनपछि भोल्कोन्स्की र ट्रुबेट्स्कोई परिवारलाई पश्चिम साइबेरियाको बैकाल ताल नजिकको इरकुट्स्क सहर वरपरका बस्तीहरूमा बसोबास गर्ने अनुमति दिइयो । त्यसबेला दुवै प्रिन्सहरूको घर साइबेरियाली बुद्धिजीविहरूको जमघट हुने केन्द्र बनेको थियो । डिसेम्बरवादी परिवारहरूको प्रयासमा साइबेरियामा विद्यालय र अस्पतालहरू बने । विदेशी भाषा र सङ्गीत सिकाउने कक्षाहरू चल्न थाले । शिक्षा र सूचनाबाट शदियौँसम्म टाढा राखिएको साइबेरियामा डिसेम्बरवादीहरूको मिहिनेतले नयाँ सांस्कृतिक उभार उठ्यो ।

सर्गेई भोल्कोन्स्की साइबेरियाली निर्वासन बसाइमा एक कुशल किसान बनेका थिए । युरोपेली सांस्कृतिक तामझामभन्दा रुसी किसानहरूको सरलता नै रुसलाई अगाडि बढाउने प्रेरणा हुनुपर्छ भन्ने उनको मत थियो । आफ्नो भागमा परेको जमिनमा उनी युरोपेली रुसबाट नयाँ–नयाँ बिउहरू मगाएर खेती गर्थे र स्थानीय किसानलाई पनि नयाँनयाँ कृषि प्रविधिहरूबारे जानकारी दिन्थे । उनको साईबेरियाली किसानहरूसँग नजिकको हिमचिम थियो । त्यसकारण, किसानहरू उनलाई ‘हाम्रा जर्नेल’ भन्थे भने बुद्धिजीविहरू ‘किसान जर्नेल’ भन्थे ।
सन् १८५५ मा जार निकोलसको मृत्युपछि नयाँ जार अलेक्जेन्डर दोस्रोले डिसेम्बरवादीहरूलाई आममाफीको घोषणा गरे । ३० वर्षको साइबेरियाली बसाइले शारीरिकरूपमा कमजोर भइसकेका सर्गेई भोल्कोन्स्की र सर्गेई ट्रुबेट्स्कोई दुवै युरोपेली रुस फर्के र नयाँ पुस्ताका सुधारवादी युवाहरूको निम्ति प्रेरणाको स्रोत बनेर बाँचे । सर्गेई ट्रुबेट्स्कोईको मृत्यु साइबेरियाबाट फर्केको चार वर्षपछि अर्थात् सन् १८६० मा भयो भने भोल्कोन्स्कीको मृत्यु त्यसको पाँच वर्षपछि अर्थात् सन् १८६५ मा भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *