भर्खरै :

लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

भक्तपुर, २५ मङ्सिर । भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख जोशीले लैङ्गिक हिंसा दिनप्रतिदिन बढिरहेको बताउँदै लिङ्गको आधारमा दिइने शारीरिक तथा मानसिक हिंसाको विषयमा नयाँ पुस्तालाई सचेत पार्नुपर्ने बताउनुभयो ।
सामाजिक सञ्जालको दुरुपयोगले पनि हिंसाका घटनाहरू बढिरहेको तर्फ ध्यानाकृष्ट पार्दै उपप्रमुख जोशीले भक्तपुर नपाले न्यायिक समितिमार्फत पीडितहरूको पक्षमा कार्य गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जन्मदर्ता, विवाह दर्तालगायतका व्यक्तिगत घटना दर्ता समयमै वडामा गराउनुपर्ने आवश्यकताबोध गराउँदै समयमा दर्ता नहुँदा विवाहपश्चात् महिलाहरूले नागरिकता प्रमाणपत्र लिन गा¥हो भएको, विवाह दर्तालाई अंशसँग जोडेर मानसिक यातनाहरू दिइरहेको यथार्थबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा अधिवक्ता अनिता जधारीले अनलाइन कक्षा सञ्चालन भइरहँदा विद्यार्थीमा फेसबुक, युट्युव र टिकटकजस्ता सामाजिक सञ्जालको लट बसेको तर्फ सचेत हुनुपर्ने बताउँदै बच्चाहरूलाई आधुनिक सूचना प्रविधिको पहुँचमा राख्दा अभिभावकले समय–समयमा निगरानी राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य इन्द्रबहादुर प्याथले अष्ट्रेलिया, युरोप जाने लोभमा नयाँ पुस्ताका युवा–युवतीहरू अभिभावकको जानकारीविना वडा कार्यालयमा विवाह दर्ता गर्नेहरू बढिरहेको बताउनुभयो । कार्यक्रममा वडा कार्यालयका कर्मचारी मीरा बासुकलाले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *