भर्खरै :

महामारीमा कार्बन उत्सर्जन घट्यो, महामारी पछि बढ्ने खतरा

काठमाडौँ, २७ मङ्सिर । कोभिड–१९ को कारण गएको वर्ष सिङ्गो संसारको लागि नराम्रो रह्यो । कोभिड–१९ महामारीले सबै जसोमा अकल्पनीय दुष्प्रभाव पा¥यो । तर, सिक्काको अर्को पनि पाटो हुने गर्छ । कोभिड–१९ महामारीको कारण संसारभर धेरै थरी दुष्प्रभाव पारे पनि केही क्षेत्रमा भने सकारात्मक प्रभाव पनि पारेको छ ।
जलवायु परिवर्तनको कारण खतराको घण्टी बज्दै गर्दा कोभिड–१९ महामारीको समयमा संसारका विभिन्न क्षेत्रमा भएको लकडाउनको कारण सात प्रतिशतले कार्बन डीअक्साइड उत्सर्जन घटाएको छ । यति धेरै प्रतिशतले कार्बन डीअक्साइड उत्सर्जन घट्नु यो हालसम्मकै सबभन्दा धेरै हो ।
कार्बन उत्सर्जनको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका संसारभरका अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको साझा समूह द ग्लोबल कार्बन प्रोजेक्टले सन् २०२० मा वायुमण्डलमा ३४ अर्ब मेट्रिक टन कार्बन डीअक्साइड जम्मा गरेको हिसाब निकालेको छ । अघिल्लो वर्ष सन् २०१९ मा वायुमण्डलमा ३६ अर्ब ४० करोड मेट्रिक टन कार्बन डीअक्साइड जम्मा गरेको थियो । गत बिहीबार अर्थ सिस्टम साइन्स डाटा नामको जर्नलमा प्रकाशित गरेको अध्ययन प्रतिवेदनमा प्रोजेक्टले सो सूचना सार्वजनिक गरेको हो ।
वैज्ञानिकहरूले कार्बन उत्सर्जनमा कमी आउनुको मूल कारण मुख्यतः लकडाउनको समयमा मानिसहरू घरबाट बाहिर ननिस्कनु, कार र विमानबाट यात्रा कम हुनु आदि भएको बताए । उनीहरूले महामारीको समाप्तिसँगै उत्सर्जनको मात्रा अझ बढ्ने पूर्वानुमान गरे । सडक यातायातका साधनहरूले कुल कार्बन डीअक्साइडको पाँच खण्डको एक खण्ड ओगट्ने गरेको छ । मानिसले ताप–बन्दक ग्यास सबभन्दा बढी त्यस्तै सवारी साधनबाट गर्ने गरेको छ ।
“निःसन्देह लकडाउन जलवायु परिवर्तन सामनाको सबभन्दा प्रभावकारी बाटो होइन”, इस्ट एन्जिलिया विश्वविद्यालयका जलवायु वैज्ञानिक तथा प्रोजेक्टको अध्ययनका सहलेखक कोरिन्न लेक्युरेले भने ।
वैज्ञानिकहरूको त्यही समूहले केही महिनाअघि कोभिड–१९ सङ्क्रमणको आधारमा उत्सर्जन ४ देखि ७ प्रतिशतले घट्ने पूर्वानुमान गरेको थियो । कोरोना भाइरसको दोस्रो लहर र यात्रामा निषेधको अवस्थाले उत्सर्जनमा ७ प्रतिशतले कटौती भएको सहलेखकले भने ।
संरा अमेरिकामा १२ प्रतिशतले उत्सर्जन घटेको छ भने युरोपमा ११ प्रतिशतले उत्सर्जन घटेको छ । चीनमा भने १.७ प्रतिशतले उत्सर्जन कटौती भएको छ । चीनले सुरूमै लकडाउन गर्नु र त्यहाँ दोस्रो लहर नफैलिएको हुनाले चीनमा कम प्रतिशतमात्र उत्सर्जन कटौती भएको बताइएको छ । अन्य देशको तुलनामा चीनको उत्सर्जन उद्योगमा आधारित रहेको र उद्योगमा आधारित उत्सर्जन यातायात क्षेत्रबाट हुने उत्सर्जनजस्तो घातक नभएको बताइएको छ ।
ऊर्जा प्रयोग, औद्योगिक उत्पादन र दैनिक गतिशीलताको मापनको प्रतिवेदनको आधारमा सो नतिजा निकालिएको हो ।
सन् २०२० मा कार्बन उत्सर्जन घटेर पनि प्रत्येक सेकेन्डमा हावामा औसत १ हजार ७५ टन कार्बन डीअक्साइड जम्मा भइरहेको छ ।
सन् २०१९ को सोही प्रतिवेदनअनुसार सन् २०१८ देखि २०१९ सम्ममा मानवरचित ताप बन्धक ग्यास ०.१ प्रतिशतले वृद्धि भएको थियो । एक वा दुई दशकअघि त्यस्तो ग्याँसको वार्षिक वृद्धि ३ प्रतिशतको वरपर पुगेको अवस्थामा सन् २०१८–०१९ मा त्यत्ति वृद्धि हुनु निकै कम मानिएको छ । महामारीपछि उत्सर्जन घट्ने अपेक्षा गरे पनि वैज्ञानिकहरूले सन् २०१९ सबभन्दा बढी कार्बन प्रदूषणको वर्ष हुन सक्नेमा चिन्तित छन् ।
स्टान्डफोर्ड उड्स वातावरण प्रतिष्ठानका निर्देशक क्रिस फिल्डले महामारीपछि कार्बन उत्सर्जनमा वृद्धि हुनसक्नेमा चिन्ता व्यक्त गर्दै भने, “तर म आशावादी छु किनभने विगतबाट हामीले केही पाठ सिकेका छौँ । त्यसै आधारमा हामीले उत्सर्जनमा केही कटौती अवश्य गर्न सक्छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *