भर्खरै :

चारमध्ये एउटा स्वास्थ्य केन्द्रमा पानीको पुग्दो आपूर्ति छैन

काठमाडौँ, २९ मङ्सिर । संसारका हरेक चार वटा स्वास्थ्य चौकी र केन्द्र (अस्पताल समेत) मध्ये एउटामा प्रशस्त पानीको व्यवस्था नहुँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।
स्वास्थ्य चौकीमा यस्ता आधार आवश्यकताको अभावले बिरामी र स्वास्थ्यकर्मी दुवैमा सङ्क्रमणको जोखिम रहेको संरा सङ्घीय अन्तर्राष्ट्रिय बालबालिका आपत्कालीन कोष (युनिसेफ) सँग मिलेर विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको वक्तव्यमा भनिएको छ । संसारका १६५ देशहरूमा गरिएको अध्ययनको आधारमा सो निचोड निकालिएको हो ।
“पानी र सरसफाइको अभाव भएको स्वास्थ्य चौकी वा केन्द्रमा नर्स र चिकित्सकहरूलाई पठाउनु भनेको व्यक्तिगत सुरक्षा पोशाक नलगाई काममा पठाउनु जत्तिकै जोखिमपूर्ण हुन्छ”, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घेब्रिसिएसले भने ।
“कोभिड–१९ को प्रतिरोधको लागि यी आधारभूत आवश्यकता हुन् । तर, विशेषतः न्यून विकसित देशहरूमा यस्ता समस्याको समाधान हुन सकेको छैन”, उनले भने ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार संसारको कुल जनसङ्ख्यामा स्वास्थ्यकर्मीहरूको सङ्ख्या ३ प्रतिशतभन्दा न्यून भए पनि कोभिड–१९ सङ्क्रमितमध्ये स्वास्थ्यकर्मीहरू १४ प्रतिशत छन् ।
“सफा पानी, सफा शौचालय र साबुन पनि नभएको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी वा अन्य मानिसलाई पठाउनु भनेको उनीहरूको जीवनमा ठूलो जोखिम हो”, युनिसेफका प्रमुख हेनरिता फोरले भनिन् ।
सो प्रतिवेदनमा संसारका तीनमध्ये एउटा स्वास्थ्य चौकी वा संस्थामा हातको सरसफाइ सुनिश्चित नभएको र दसमध्ये एउटामा सरसफाइको सुविधा नभएको उल्लेख छ ।
संसारका कम विकसित ४७ वटा देशमा अवस्था अझ भयावह भएको तथ्याङ्कले देखाएको छ । ती देशका आधाजसो स्वास्थ्य चौकी वा केन्द्रमा खानेपानीको समेत उचित बन्दोबस्त छैन । एक चौथाइमा सरसफाइको लागि पानीको बन्दोबस्त छैन भने पाँचमध्ये तीन स्वास्थ्य चौकी वा केन्द्रमा आधारभूत सरसफाइको सुविधासमेत नभएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले ती देशको स्वास्थ्य केन्द्रहरूमा आधारभूत पानीको सेवा पूर्ति गर्न प्रतिबासिन्दा एक डलर लाग्ने र हरेक वर्ष त्यसको मर्मतसम्भार गर्न २० सेन्ट लाग्ने हिसाब निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *