घरेलु तथा साना उद्योग प्रवद्र्धनमा जोड दिनुपर्ने
- असार ६, २०८३
गत शनिबार आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा संसारका नेताहरूले पृथ्वीवासीले आज सामना गरिरहेको यो तड्कारो समस्याबारे गम्भीर चिन्ता व्यक्त गरे । पृथ्वी मानिसको मात्र ग्रह होइन असङ्ख्य प्राणी, बोटबिरूवा र कीटपतङ्गको पनि साझा घर हो । जसरी कुनै पनि औजारमा सानोभन्दा सानो पेच–किलाको आफ्नै महत्व र भूमिका हुने गर्छ, त्यसरी नै पृथ्वीका हरेक साना–ठूला प्राणी र बोटबिरूवाको पनि आफ्नै महत्व र भूमिका हुन्छ । पृथ्वी सबैको साझा घर भएकोले कसैले पनि कसैलाई न्यूनाङ्कन गरी चेपुवामा पार्न पाइँदैन । तर, पृथ्वीका असङ्ख्य बासिन्दामध्ये मानिसले भने आफ्नो हित र सुविधाको निम्ति अन्य बासिन्दालाई चेपुवामा पार्ने अपराध गरिरहेको छ । मानिस आफूलाई विवेकवान र सर्वश्रेष्ठ प्राणी दाबी गर्दै पृथ्वीको बहुलतालाई आफ्नो लागि मात्र प्रयोग गर्न खोजिरहेको छ ।
विशेषतः पुँजीवादी व्यवस्थामा नाफाको लागि हुने अनैतिक प्रतिस्पर्धाको कारण मानिसले पृथ्वीका अन्य बासिन्दामाथि हद नाघेर अत्याचार गरिरहेको छ । आर्थिक विकास, विज्ञान–प्रविधि, सहरीकरण, जीवनमा सहजताको नाममा मानिसले आफ्नो साझा घरबारे बेवास्ता गर्दै मनपरी र अतिवादी व्यवहार गरिरहेको छ । फलतः आज पृथ्वीको खराब स्वास्थ्यका कारण अन्य प्राणी त प्रभावित भएका छन् नै सर्वश्रेष्ठ मानिएको मानिससमेत पृथ्वीमा पछिल्ला दशकमा देखिएका परिवर्तनबाट प्रभावित बन्दै गएका छन् । पर्या–पर्यावरणमा आएको परिवर्तन, कार्बन उत्सर्जनको कारण पृथ्वीको तापमान वृद्धि, प्रदूषण, प्राकृतिक स्रोत साधनको अति दोहनले आज मानिसलाई पनि सङ्कटमा पार्दै लगेको छ ।
गत वर्षबाट संसारका मानिसले कोभिड–१९ महामारीको सामना गरिरहेका छन् । यो महामारीको आयु कति लामो हुने हो, कसैलाई थाहा छैन । तर, वैज्ञानिकहरू संसारमा यस्ता अरू महामारी फैलिने दिन अब धेरै टाढा नभएको बताइरहेका छन् । उनीहरू संसारमा भइरहेको जलवायु परिवर्तन नै यसको मूल कारण भएको बताइरहेका छन् । विशेषतः आर्थिक प्रतिस्पर्धामा लागेका विकसित भनिएका देशहरूबाट भइरहेको कार्बन उत्सर्जनले पृथ्वीको मूल गुणमा नै अनेक थरी परिवर्तन निम्त्याइरहेको छ । कति देशहरू कुन बेला आफ्नो अस्तित्व नै समाप्त हुने हो भन्ने चिन्तामा छन् । कति देशहरू आज अस्वाभाविक मौसम परिवर्तनको कारण पिरोलिएका छन् । कति देशहरूले आज डढेलो र भूक्षय–बाढीजस्ता विपत्तिको निर्ममता सामना गरिरहेका छन् ।
मानिस र पृथ्वीका अरू सबै बासिन्दाले सामना गरिरहेका यो समस्याको मूल जड भनेको आर्थिक प्रतिस्पर्धाको नाममा भइरहेको उत्तरदायित्वविहीन उत्पादन नै हो । प्राकृतिक स्रोत–साधनको अति दोहन र वायुमण्डलमा खराबी गर्ने ग्यासहरूको अति उत्सर्जन नै हो । तर, संरा अमेरिकाजस्ता केही देशका शासकहरू भने अझै यो साझा समस्याप्रति उत्तरदायित्व बहन गर्न तयार छैनन् । अनुदार शासकहरू जलवायु परिवर्तनको गम्भीर विषयलाई झूटा प्रचारबाजी मात्र भनिरहेका छन् । विकसित भनिएका ठूला अर्थतन्त्रले पृथ्वीको स्वास्थ्यमा पारिरहेको दुष्प्रभावको दुष्परिणाम भने नेपालजस्तो सानो अर्थतन्त्रका जनतालाई पनि भोग्न बाध्य बनाइएको छ । निःसन्देह जलवायु परिवर्तन रोकथामको निम्ति संसारमा धेरै थरी प्रयास र अभियान सञ्चालनमा छन् । तीमध्ये कतिपय अभियन्ताहरूले अझै पनि जलवायु परिवर्तनलाई अर्थ–राजनीतिबाट अलग राख्ने गल्ती गरिरहेका छन् । जबकि यो मुद्दाको मूल जड नै पुँजीवादी अर्थ–राजनीति हो । नाफामुखी आर्थिक व्यवस्था जिउँदो रहेसम्म जलवायु परिवर्तनको पूर्ण रोकथाम सम्भव हुने देखिँदैन । न्यायपूर्ण राजनीतिक व्यवस्थाले मात्र पृथ्वीवासीको यो साझा समस्याको न्यायपूर्ण समाधान निकाल्न सक्छ । तर, त्यसको निम्ति सबभन्दा पहिलो प्रस्थानबिन्दु भनेको जलवायु परिवर्तन वास्तवमा सत्य र गम्भीर विषय हो भनी स्वीकार्नु हो ।
Leave a Reply