भर्खरै :

भक्तपुर नगरपालिकाको ७१ औँ स्थापना दिवस

भक्तपुर, २ पुस । भक्तपुर नगरपालिकाको ७१ औँ स्थापना दिवस बिहीबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले स्थापना दिवसको सफलताको कामना गर्दै सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुर नपाले गरेको कामलाई चालू राख्नुपर्ने बताउनुभयो ।
उहाँले जनताको निःस्वार्थ सेवामा जनप्रतिनिधि र कर्मचारीहरू समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले सत्तामा गएका दलभित्रको झगडा सैद्धान्तिक नभई भागबन्डाको विवाद भएको र यसबाट सरकारको कामकारबाही प्रभावित भइरहेको यथार्थ उल्लेख गर्दै भ्रष्टाचार, अनियमितता र भागबन्डा २०४६ सालपछिका सरकारहरूले रोक्न नसकेको बताउनुभयो ।
भक्तपुर साना औद्योगिक क्षेत्रभित्रका ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ्ग, प्लास्टिक, रङरोगन उद्योगहरू हटाउनुपर्ने आवाज कुनै उद्योगीको व्यक्तिगत विरोध नभई स्थानीय जनताको स्वास्थ्यसँग सम्बन्धित भएको हुँदा सो उद्योग क्षेत्रलाई स्थानान्तरण गर्नुपर्ने र भक्तपुर औद्योगिक क्षेत्रका उद्योगहरूलाई भक्तपुरको परम्परागत सीपको हस्तकलामा आधारित साना उद्योग क्षेत्रको रूपमा कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कोभिडका कारण लामो समयदेखि विद्यालयहरू बन्द रहँदा विद्यार्थीहरू पढाइबाट वञ्चित भइरहेको चर्चा गर्दै सांसद सुवालले विद्यालय कक्षा सञ्चालनबारे शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयको भनाइमा विरोधाभास देखिएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका छन् भन्नुभयो ।
भक्तपुर नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि गरेका प्रयासहरू उल्लेखनीय भएको बताउँदै सांसद सुवालले इमानदार र नैतिकवान दक्ष जनशक्ति उत्पादन गर्न भक्तपुर नगरपालिकाले विभिन्न कलेजहरू सञ्चालनमा ल्याएको बताउनुभयो ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ को नारालाई सार्थक बनाउन स्थानीय जनताकै सहयोगमा यहाँका सम्पदाहरू उठाउन भक्तपुर नगरपालिका प्रयत्नशील रहेको बताउँदै राज्यको अधिकांश बजेट स्थानीय तहलाई पठाउनुपर्ने र आवश्यकताको आधारमा योजना छनोट गर्ने अधिकार स्थानीय तहलाई हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “का. रोहितले कल्पना गर्नुभएको ‘१०० वर्षपछिको भक्तपुर’ नै भक्तपुर नगरपालिकाको सपना हो । हामी त्यसैलाई मार्गदर्शनको रूपमा लिँदै काम गर्दै छौं । सांस्कृतिक प्रशिक्षण, सम्पदाहरूको संरक्षण, सांस्कृतिक गतिविधिहरू र मौलिकता संरक्षण यसैको सिलसिला हो ।”
उहाँले हरेक कामको लागि जनप्रतिनिधिहरू सिंहदरबार धाउनुपर्ने प्रवृत्तिले सङ्घीयताको उपहास गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले स्थानीय जनताको मागअनुसार भक्तपुर साना औद्योगिक क्षेत्रका धुवाँ र धुलो प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरणको लागि उद्योगमन्त्री, उद्योग राज्यमन्त्री, उद्योग क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीसमक्ष पटकपटक अनुरोध गर्दै आइरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सत्तारूढ दलको आपसी झगडाका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेको र देशको विकासलाई अपव्याख्या गर्दै जनतालाई झुक्याउने कामहरू भइरहेको बताउनुभयो । कोभिड–१९ का कारण भक्तपुरको शैक्षिक स्थिति भयावह बन्दै गइरहेको छ भन्दै सांसद गोसाईँले भक्तपुर नपाले शिक्षाको क्षेत्रमा नयाँ नयाँ अभ्यासहरू गर्दै विद्यालय स्तरोन्नतिमा ध्यान दिनुपर्ने, भक्तपुरमा नमुना शिशुस्याहार सञ्चालन गर्नुपर्ने र भक्तपुरका सामुदायिक र निजी विद्यालयहरूमा सामाजिक शिक्षाका प्रयोगशालाहरू बनाउँदै अगाडि बढ्नुपर्ने सुझावहरू दिनुुभयो ।
कुनै पनि समयमा आउने विपद् र सङ्कटमा जनप्रतिनिधि र कर्मचारीहरू समर्पित भएर जनताको सेवामा लाग्नुपर्ने बताउँदै सांसद गोसाईँले शिक्षा, स्वास्थ्य, विकास निर्माणका साथसाथै कोभिड–१९ नियन्त्रण र रोकथाममा भक्तपुर नपाबाट सबै स्थानीय तहहरूको लागि प्रेरणादायी कार्यहरू भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको हरेक काममा नगरवासी जनताको रचनात्मक साथ र सहयोग रहँदै आएको बताउनुभयो । उहाँले भक्तपुरको गौरव जोगाइराख्न सधैँ क्रियाशील भई अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भक्तपुर नपालाई कला र संस्कृतिको उत्कृष्ट सहर बनाउन नगरपालिकाले खेलिरहेको भूमिका उल्लेखनीय भएको बताउनुभयो । जनताको सबभन्दा नजिकको सरकार स्थानीय तह भएको बताउँदै प्रजिअ भट्टराईले भक्तपुर औद्योगिक क्षेत्रभित्रका उद्योगहरूबाट जनता पीडित भएको र जनताको समस्या समाधानको लागि आफू तत्पर रहेको बताउनुभयो । इतिहासविद् प्रा.डा. श्री पुरूषोत्तमलोचन श्रेष्ठले भक्तपुरको ऐतिहासिक पृष्ठभूमिबारे प्रस्ट पार्दै भक्तपुर नपाले स्थानीय जनताको सहभागितामा जनताको मन जितेर यहाँका विकास निर्माणलगायतका कार्यहरू गर्दै आइरहेको बताउनुभयो । उहाँले ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण भएका सम्पदा र ठाउँहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिँदै इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषय अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरी भक्तपुर नपाले निकै सराहनीय कार्य गरिरहेको बताउनुभयो । भक्तपुर नगरपालिका नेपाल कर्मचारी एसोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाका कर्मचारीहरूले पोशाक भत्ता र खाजा खर्चको रकम कोभिड–१९ नियन्त्रणको लागि सहयोग प्रदान गरेको बताउँदै भक्तपुर औद्योगिक क्षेत्रभित्रका उद्योगहरूको प्रदूषणका कारण विभिन्न सरकारी कार्यालय, कर्मचारी, अस्पताल, विद्यालयहरू पीडित बनिरहेको र त्यस्ता उद्योग बन्द गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले स्थानीय तहका कर्मचारीहरूको वृत्तिविकास र स्तरवृद्धि हुन नसक्दा कर्मचारीहरूमा नैराश्यता पैदा भइरहेको बताउँदै देश सङ्घीय व्यवस्थामा भए पनि स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवादज्ञापन गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाको स्थापना दिवसको अवसरमा छिपुङ ताइची खेल प्रदर्शन गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सांसद सुवालले खेलका प्रशिक्षक दीपक श्रेष्ठलाई टाइची सुट पनि हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *