भर्खरै :

कार्यकर्तालाई वैचारिक र व्यावहारिकरूपमा परिपक्व बनाउन वैचारिक प्रशिक्षण

काठमाडौँ, ४ पुस । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता स्तालिनको १४२ औँ र माओ त्सेतुङ्गको १२७ औँ जन्मदिवसको अवसरमा कार्यकर्ता प्रशिक्षण तथा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले कथित नेकपा शासक दलले आफ्ना कार्यकर्तालाई विचारबाट प्रशिक्षित नगर्दा दलाल पुँजीवादी बिचौलियाहरूको पार्टीमा हालिमुहाली भएको चर्चा गर्दै नेमकिपाले आफ्ना कार्यकर्ताहरूलाई वैचारिक र व्यावहारिकरूपमा परिपक्व बनाउन यस्ता प्रशिक्षणलाई महत्व दिइरहेको प्रस्ट पार्नुभयो ।
प्रशिक्षणले कार्यकर्ताहरू पुनर्ताजगी भई उच्च मनोबलका साथ अघि बढ्न उत्प्रेरित हुने बताउँदै उहाँले प्रशिक्षण नयाँ पुस्ता तयार गर्ने थलो भएको र यस्तो प्रशिक्षणमा पुरानो पुस्ताबाट नयाँ पुस्ताले प्रेरणा लिन सकिने बताउनुभयो ।
देशको राजनीतिक इतिहासमा नेमकिपा सबैलाई बाटो देखाउने प्रकाशस्तम्भ रहँदै आएको उदाहरण दिँदै उहाँले विगतमा संसद् पुनःस्थापनाको कल्पना हालका शासकहरूको दिमागको नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हालका शासकहरूले त त्यसबेला संसद् पुनःस्थापनालाई असम्भव भनेका थिए । तर, हाम्रो पार्टीले राजासँग भिड्ने विषय यही हो भन्ने अडान सुरूमै राखेको हो र पछि नेपाली काङ्ग्रेस सहमत भएपछि आन्दोलनले बृहत् रूप लिएको हो ।”
नेमकिपालाई सङ्कीर्ण भन्नेहरूलाई उहाँले प्रश्न गर्नुभयो – माओ र स्तालिनजस्ता व्यक्तित्वहरूका दिवस मनाउने हामी सङ्कीर्ण कि त्यस्ता व्यक्तित्वको नामोच्चरण गर्न डराउने शासकहरू सङ्कीर्ण ?
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले स्तालिनको व्यक्तित्वमाथि प्रकाश पार्दै शत्रुबाट सबभन्दा बढी विरोध खेपेका नेताहरूमध्ये स्तालिन हुनुहुन्थ्यो भन्दै स्तालिनको नेतृत्व नभएको भए दोस्रो विश्व युद्धमा हिटलरको हार नहुने विचार व्यक्त गर्नुभयो ।
आयोजक पार्टी जिल्ला समितिका अध्यक्ष नारायण महजर्नको सभापतित्वमा भएको कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कार्यकर्ताहरूले आफ्नो विचार अभिव्यक्ति भाषिक शुद्धताका साथ पस्कन सके अझ बढी प्रभावकारी हुने बताउँदै व्याकरणिक कारणले अभिव्यक्ति रोक्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जन, महेन्द्र बज्राचार्य, रमेश डंगोल, कृष्ण डंगोल, शान्त महर्जन, देवलक्ष्मी महर्जन, कवीन्द्र डंगोल, नरेश महर्जन, हरिकुमार महर्जन, अशोक महर्जन, सुरेन्द्र महर्जन र राजवीर डंगोललगायतले ‘श्रमिक’ र ‘मजदुर’मा प्रकाशित लेख–रचनाबारे आ–आफ्नो प्रस्तुतिहरू दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *