भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’बारे अन्तरक्रिया

भक्तपुर, ४ पुस । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अन्तरक्रिया कार्यक्रम शुक्रबार अनलाइन माध्यममा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले ‘श्रमिक’ साप्ताहिक आस्थाको पत्रकारिता गर्ने पत्रिका भएको चर्चा गर्दै ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले विश्वका मजदुर आन्दोलन र किसान सङ्घर्षबारे नेपाली जनतालाई निरन्तर जानकारी गराइरहेको छ भन्नुभयो ।
उहाँले नेता र कार्यकर्ता हो त्याग तपस्याले मात्र जनताको सेवा र देशको हितमा काम गर्न सकिने औँल्याउँदै जनताले चाहेको परिवर्तन एकैबाजी नआउने र त्यसको लागि जनताको सङ्गठित सङ्घर्ष जरुरी हुने प्रस्ट पार्नुभयो ।
सिद्धान्त त्याग गर्नेहरूको नियति हिमालमा चिप्लेटी खेल्नेहरूको जस्तै हुने बताउँदै उहाँले पुँजीवादी सिद्धान्त र राजनीतिमा लागेका पूर्वएमाले र माओवादीहरूको पतन कहाँसम्म पुग्ने हो अहिले नै भन्न सकिँदैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सार्वजनिक विद्यालय बिग्रनुको दोष शिक्षकहरूमाथि मात्र थोपेर शिक्षा मन्त्रालय, विभाग र शिक्षा कार्यालयका जिम्मेदार मन्त्री र अधिकारीहरू दोषमुक्त हुन नसक्ने औँल्याउँदै शिक्षा अधिकारीहरूले विद्यालय अनुगमन र विकासमा ध्यान नदिएको र कर्मचारीहरू अनियमितता र भ्रष्टाचारमा लागेकाले विद्यालयको स्तर खसिएको बताउनुभयो ।
उहाँले संविधानमा मौलिक हकको रूपमा रहेको निःशुल्क र अनिवार्य शिक्षाको बन्दोबस्तलाई लागू गर्न आनाकानी गरी सरकारले सार्वजनिक विद्यालयहरू ध्वस्त पार्न लागेको आशङ्का व्यक्त गर्नुभयो ।
अन्तरक्रियामा नेक्राशिसङ्घका केन्द्रीय सदस्य अम्बिका न्याईच्याईले शिक्षकजस्ता बौद्धिक पेशामा आबद्ध व्यक्तिहरूमा पनि अध्ययनशीलताको कमी चिन्ताको विषय भएको र अध्ययनबाटै शिक्षकहरू सफल हुनसक्छन् भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शिक्षकहरू पुष्पलाल सुजखु, विष्णुप्रसाद दुमरु, कृष्णगोविन्द दुवाल, शिवराम बोहजू, विश्वराम प्रजापति, सुशिला दुवाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *