भर्खरै :

नेकपालाई कसरी बुझ्ने ?

केही स्तम्भकारहरू सत्तारूढ दल नेकपाभित्रको विवाद र सरकारका गतिविधिलाई औँल्याएर कम्युनिस्ट आन्दोलन र विचारधारामाथि नै हिलोछ्याप्ने काम गरिरहेका छन् । कम्युनिस्ट आन्दोलनका नेताहरूका रचनालाई ‘प्रचारबाजी’ भनेर तीन हात पर हुत्याउने उनीहरूले स्वभावतः कम्युनिस्टविरोधी लेखकहरूकै पुस्तक र सिद्धान्त पढेर यस्ता मूल्याङ्कन गरेको देखापर्छ । त्यही भएर उनीहरूले एउटा राजनीतिक दल ‘कम्युनिस्ट पार्टी’ बन्न त्यसमा हुनुपर्ने आधारभूत चरित्रबारे खासै ध्यान दिएको देखिँदैन । नामैले कुनै पनि पार्टी ‘कम्युनिस्ट’ वा ‘गैरकम्युनिस्ट’ हुन वा मान्न सकिंदैन । संसारमा सबभन्दा पहिले मजदुर वर्गको राज्य सत्ता स्थापना गरेका पेरिसका कम्युनार्डहरू कुनै ‘कम्युनिस्ट’ नाम गरेका पार्टीका सदस्य थिएनन् । त्यस्तै रूसमा अक्टोबर समाजवादी क्रान्ति गर्ने लेनिनको पार्टीमा पनि ‘कम्युनिस्ट’ शब्द थिएन । क्युवामा क्यास्ट्रोले सन् १९५९ मा हवानामा विजयको झन्डा गाड्दै गर्दा उनको पार्टीको नाममा ‘कम्युनिस्ट’ शब्द थिएन । तर, नाममा ‘कम्युनिस्ट’ शब्द भएका कति पार्टीहरूले समाजवादी आन्दोलनलाई नै कमजोर बनाएका प्रशस्त उदाहरण छन् । संसारको कम्युनिस्ट आन्दोलनलाई वर्गसमन्वयवादको दिशामा धकेल्ने सोभियत कम्युनिस्ट पार्टी आफै यसको उदाहरण हो ।
विद्वान स्तम्भकारहरूले ‘कम्युनिस्ट’ शब्द भएकै आधारमा नेकपालाई कम्युनिस्ट ठानेर कम्युनिस्ट आन्दोलन र विचारधारामाथि हमला गरिरहेका छन् । तर, उनीहरूले यस्ता विश्लेषण गर्नुअघि नेकपा ‘कम्युनिस्ट पार्टी’ नै हो वा होइन भन्ने कुराको लेखाजोखा गर्न आवश्यक थियो । जुन पार्टी कम्युनिस्ट होइन, त्यसैलाई कम्युनिस्ट भनी कम्युनिस्ट आन्दोलन र सिद्धान्तमाथि हमला गर्नु पूर्वाग्रहमात्र हुनेछ । कम्युनिस्ट विचारधाराको व्याख्याको निम्ति विश्व कम्युनिस्ट आन्दोलनलाई सैद्धान्तिक र राजनीतिक उचाइ र गति दिने नेताहरूका विचार र कृतिलाई आधार मानिनुपर्छ । नेकपा आफैले आफ्नो मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद मानेको हुनाले निःसन्देह माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका कृतिकै आधारमा उसको मूल्याङ्कन र लेखाजोखा हुनुपर्छ । माक्र्सवाद–लेनिनवादका प्रवद्र्धक ती नेताहरूले पुँजीवादको बनिबनाउ संरचनाभित्र गएर कहिले पनि सर्वहारा वर्गको समाजवाद स्थापना हुनसक्ने लेख्नुभएको छैन । बरू कम्युनिस्ट आन्दोलनभित्र मौलाएका त्यस्ता गैरकम्युनिस्ट विचारधारासँगै अथक सङ्घर्ष भएको छ । कम्युनिस्ट पार्टीले ‘राज्यसत्ताको कब्जा’ होइन, ‘पुँजीवादी राज्यसत्ताको ध्वंस’ गरेर त्यसैको खरानीमा समाजवादी समाज स्थापना गर्छ भन्ने कुरा लेखेको छ । नेकपा पुँजीवादी बनिबनाउ संरचनाभित्र गएर राजनीतिक शक्ति हात पारेको पार्टी हो । उसले त्यो संरचनालाई ध्वंस गरी नवीन समाज बनाएको होइन अथवा बनाउन खोजेको होइन । त्यसकारण नेकपाकै व्यवहार र सरकारका गतिविधिको आधारमा कम्युनिस्ट पार्टीको खेदो खन्नु अल्पदृष्टिको परिणाममात्र हुनेछ ।
अर्कोतिर विद्वान स्तम्भकारहरू विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनले आजीवन सैद्धान्तिक सङ्घर्ष गरेका माक्र्सवाद–लेनिनवादविरोधी लेखक र नेताहरूका भनाइ र विचारको आधारमा नेकपाको लेखाजोखा गर्ने गल्ती पनि गरिरहेका छन् । स्तम्भकार महोदयहरूले त्यस्ता लेखक र नेताहरूले माक्र्सदेखि माओसम्मका नेताहरूमाथि लगाउने गरेका आरोप र गालीलाई नै नेकपाको सन्दर्भमा प्रयोग गरिरहेका छन् । यो सही तरिका अवश्य होइन । जोसँग क्रान्तिकारी नेतृत्वले लगातार सङ्घर्ष ग¥यो, उनीहरूकै भनाइलाई सापत लिएर तिनै क्रान्तिकारी नेताहरूमाथि आक्षेप लगाउने अनि त्यही आधारमा कम्युनिस्ट आन्दोलनको बदनाम गर्नु बौद्धिकता होइन, बौद्धिक क्षयीकरण हो । स्तालिनलाई ट्रोत्स्कीको आँखाबाट बुझ्न खोज्ने स्तम्भकारहरूलाई कम्युनिस्ट आन्दोलनको विश्लेषण गर्ने कुनै नैतिक अधिकार छैन । बरू, ट्रोत्स्कीसँग तत्कालीन सोभियत नेताहरूले गरेको सैद्धान्तिक सङ्घर्षबारे बिनापूर्वाग्रह अध्ययन गर्नु उचित हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *